गण्डक न्युज पोखरा, ९ फागुन / पूर्व कर्मचारी सेवा परिषद्, कास्कीको अध्यक्षमा कृष्णकान्त सिग्देल चयन भएका छन् । परिषद्, कास्कीको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले सिग्देलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
परिषद्को उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी, सचिवमा अनन्तराज लम्साल, कोषाध्यक्षमा भेकबहादुर थापा चयन भएका छन् । यस्तै, सदस्यहरुमा जगन्नाथ कोईराला, गुरुप्रसाद बास्तोला, रामचन्द्र आचार्य, धर्मदत्त बराल, सीता बराल, प्रेमकुमारी कडेल र कुन्ती परियार रहेका छन् ।
यसअघि, साधारणसभाको उद्घाटन गर्दै परिषद्का केन्द्रिय अध्यक्ष माधवप्रसाद घिमिरेले जीवनको उर्जावान् समय राष्ट्रसेवामा समर्पण गरेका कर्मचारीहरुलाई सीप र अनुभवका आधारमा राज्यले उचित स्थानमा समेट्नुपर्ने बताए । उनले अब रिटायर्ड भईहालेँ भनेर आफ्ना अनुभवलाई यसै खेर जान नदिन आग्रह गर्दै सक्रिय रुपमा लागेमा यति चाँडै बुढो नहुने बताए । आफू ७३ वर्षको उमेरमा समेत अझै उर्जामय सोचका साथ अघि बढेको उनको भनाई थियो ।
केन्द्रिय महासचिव रामबाबु नेपालले लामो समय मुलुकका लागि समर्पण गरेका यो समूहलाई राष्ट्रको नीति निर्माण तथा विकासका सवालमा भाग लिनबाट वञ्चित गर्न नहुने बताए । परिषद् कास्कीका अध्यक्ष पीताम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा परिषद् कास्कीका प्रमुख सल्लाहकार कृष्णप्रसाद भण्डारी, परिषद् स्याङ्जाका अध्यक्ष शेखर प्रधान, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ कास्की सभापति डिल्लीराम बास्तोला, नेपाल पूर्व प्रहरी संगठन कास्की अध्यक्ष एकनारायण ढकाल लगायतले बोलेका थिए ।
साधारणसभाको बन्दसत्रमा सचिव विष्णुप्रसाद भण्डारीले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष भेकबहादुर प्रधानले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष केशवप्रसाद ढकालले स्वागत गरेका थिए ।
सोहि कार्यक्रममा, परिषद्लाई विशेष सेवा प्रदान गरेको भन्दै पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद घिमिरे सहित दण्डपाणी शर्मालाई सम्मान गरिएको थियो । यस्तै, एसईई परीक्षामा पूर्व कर्मचारीका छोराछोरीमध्ये सर्वाधिक अंक ल्याउने दीपेश पौडेलका साथै ज्येष्ठ सदस्यहरु घननाथ घिमिरे, माया गुरुङलाई सम्मान गरिएको थियो । वरिष्ठ चिकित्सक कालु शर्माले स्वास्थ्यसम्बन्धी जानकारीमुलक टिप्स दिएका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु