गोरखा / मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ ।
कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा रोक्न खोज्दा हातको आैँलामा लागेर पूरै हात सुन्निएको उनका अभिभावकले बताए । हातै नचल्ने अवस्था भएपछि कार्कीलाई काठमाडौं कलंकीस्थित सहिद मेमोरियल अस्पताल भर्ना गरेर अप्रेसन गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार केही दिन ढिलाइ गरेको भए कार्कीको हात नै काट्नुपर्ने अवस्था आउने थियो ।
काकासँग बस्दै आएका कार्की हजुरआमा बिरामी भएपछि स्कुल नगई घरमै बसेका थिए । १८ माघमा स्कुल गएका उनलाई शिक्षकले कुटपिट गरेको विद्यार्थी र अभिभावकले बताएका छन् । ‘साथीहरूले आमा बिरामी भएर नआएको हो, नकुट्नुस्भन्दा आमा बिरामी भनेर स्कुल नआउन पाइन्छ भन्दै कुट्नुभयो,’ पीडित कार्कीले भने । काका सूर्यबहादुरले सुपारे विद्यालय आउन नपाएको भन्दै उनका साथीहरूलाई स्कुलमा चिठी पठाए पनि शिक्षक तिमल्सिनाले कुटपिट गरेको बताए ।
कार्कीको उपचारमा संलग्न सहिद मेमोरियल अस्पतालका निर्देशक तथा अर्थोपेडिक्स सर्जन डा. दीपकल श्रेष्ठले हात निकै सुन्निएको अवस्थामा उनी उपचारका लागि भर्ना भएको बताए । ‘सुन्निएको बढ्दै जाँदा रगत सर्कुलेसन हुँदैन, केही ढिला भएको भए हातै काट्नुपथ्र्यो,’ डा. श्रेष्ठले भने, ‘पिप जमिसकेको थियो, पहिले बच्चाको हात जोगाउनुपर्छ भनेर अप्रेसन गरेंँ । अहिलेसम्म एक रुपैयाँ पनि लिएको छैन ।’ ठोक्किएर वा कुटपिटबाट मात्र यस्तो अवस्था आउने उनले बताए ।
विद्यार्थी कार्कीका आफन्तले कुटपिट गर्ने शिक्षक तिमल्सिनालाई कारबाही गर्न माग गर्दै महानगरीय प्रहरी वृत्त कालीमाटीमा निवेदन दिएका थिए । कालीमाटीले गोरखा प्रहरीलाई कारबाहीका लागि जानकारी गराएको छ । आरुघाट गाउँपालिका मान्बुका प्रहरी हवल्दार टोपबहादुर थापाले शिक्षकले कुटपिट गरेको बताउँदै विद्यालय खर्च बेहोर्न सहमत भएको बताए । उनका अनुसार शिक्षकले विद्यार्थीको पाता (ढाड) मा हान्दा हातले रोक्न खोजेको र त्यही बेला औँलामा लागेर समस्या भएको भन्ने बुझिएको जानकारी दिए । शिक्षक काठमाडौं गएको र फर्केपछि छानबिन हुने उनले बताए ।
विद्यालयका प्रधानाध्यापक काजीराम कार्कीले आफ्नो विद्यालयलाई बदनाम गराउन खोजिएको दाबी गरे । शिक्षकले ढाडमा कुटेको र हातमा समस्या देखिएको आरोप लगाएपछि घटना शंकास्पद भएको उनको भनाइ छ । १९ माघको घटना २३ गते मात्र जानकारी भएको कार्कीले बताए । विद्यार्थीले शिक्षकले कुटेर समस्या भएको भन्दै कहीँ पनि उजुरी नगरेको उनको दाबी छ ।
उपचारका लागि काठमाडौं पुगेपछि धम्काउने शैलीमा खर्च बेहोर्न र शिक्षक निकाल्न फोन आउने गरेको बताए । ‘विद्यार्थी हाम्रो हो, बाबुले उपचार नगरे हामीले गर्छौं, तर, तुरुन्त एक लाख चाहियो भन्दै धम्काउनु भएन, सुपारे भाइले सरले मलाई ढाडमा कुटेको भनेका छन्,’ प्रधानाध्यापक कार्कीले भने ।
सम्बन्धित खबर
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
गोरखाको बारपाकमा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण
गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?