ट्रिपर ठक्करबाट अकालमै ज्यान गुमाएकी बन्दनाको यसरी शवयात्रा सहित गरियो अन्त्येष्टि

ट्रिपर ठक्करबाट अकालमै ज्यान गुमाएकी बन्दनाको यसरी शवयात्रा सहित गरियो अन्त्येष्टि

Bandana (1)

गण्डक न्युज पोखरा, १० फागुन / ट्रिपरको ठक्करबाट मृत्यु भएकी बन्दना पौडेलको आज शवयात्रा सहित अन्त्येष्टि गरिएको छ । बन्दनाको पार्थिव शरीरमा नेवि संघ केन्द्रिय सदस्य भानु ढकाल सहितका विद्यार्थी नेताहरुले नेवि संघको झण्डा ओढाएर स-सम्मान अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट विहान १० बजे शवयात्रा गरी रामघाटमा लगेर अन्त्यष्टी गरिएको केन्द्रिय सदस्य ढकालले जानकारी दिए । शवयात्रामा विद्यार्थी, आफन्त लगायत सहभागी थिए ।

पोखरा चाउथेमा सोमबार बेलुकी स्कुटरमा सवार स्याङ्जा आँधीखोला गाँउपालिका वडा नं. ५ जुग्लेकी पौडेललाई ट्रिपरले ठक्कर दिएर मारेको थियो । पौडेल जनप्रिय माविमा कक्षा १२ मा अध्ययरत छात्रा थिईन्।

नेविसंघ जनप्रिय माविकी सदस्य समेत रहेकी पौडेलको मृत्युपछि दुर्घटनाबारे छानविनको माग गर्दै बुधबार बिहानै देखि आन्दोलित विद्यार्थी सहमतिपछि शान्त बने ।

आन्दोलनरत नेपाल विद्यार्थी संघ, पीडित परिवार, नारायणी यातायात व्यवसायी संघ र प्रशासनवीच बुधबार भएको वार्तामा सहमति जुटेको हो। बुधबार साँझ भएको सहमतिपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको थियो ।

उनका अनुसार चालकलाई कडा कारबाही गर्ने, पीडित पक्षलाई उचित राहात उपलब्ध गराउने र आगामी दिनमा घटना दोहोरिन नदिन अभियानमुखी अभिमुखिकरण कार्यक्रम गर्ने सहमति भएको छ ।

उनी गण्डकी मेडिकल कलेज पोखराकी कर्मचारी समेत हुन् । उनको मृत्युको विरोधमा विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा नाराबाजी सहित प्रदर्शन गरेका थिए । बुधबार बिहानैदेखि जनप्रिय स्कुल सिमलचौरमा नाराबाजी सहित प्रदर्शन गरे । उनीहरुले हत्यारालाई फाँसी दे, विद्यार्थी मार्न पाईँदैन, विद्यार्थी एकता जिन्दाबाद जस्ता नारा लगाएका थिए ।

सोमबार बेलुकी पौने ८ बजेतिर ना ६ ख ९००६ नम्बरको ट्रिपरले पौडेल सवार ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । पोखरामा नेविसंघका विद्यार्थीको लगातार दुर्घटनामा ज्यान गएको छ ।

यसअघि, माघ २२ गते स्याङ्जा आँधीखोलाकै नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई झगडापछि बसले किचेको थियो । त्यसबेला विद्यार्थीको आन्दोलनले पोखरामा अवस्था सामान्य गर्न प्रहरीलाई हम्मे हम्मे पारेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ