बैंकले आफू खुसी ब्याजदर बढाउँदा उत्पादनमूलक क्षेत्र तहस नहस: पोखराका उद्योगी/व्यवसायी

बैंकले आफू खुसी ब्याजदर बढाउँदा उत्पादनमूलक क्षेत्र तहस नहस: पोखराका उद्योगी/व्यवसायी

20180304_150717

पोखरा, २० फागुन । बैंक तथा वित्तिय संस्थाहरुले आफू खुसी ब्याजदर बढाउँदा उत्पादनमूलक क्षेत्र तहस नहस भएकोमा उद्योगी/व्यवसायीहरु एकमत भएका छन् । उनीहरुले ब्याजदर घटाउँदै बैंक तथा वित्तिय संस्थाहरुलाई नाफामुखी भन्दा पनि उत्पादनमूलक क्षेत्रमा लगानीको लागि आग्रह गरेका छन् ।

उद्योगी/व्यवसायीहरुे बैंकहरुको ब्याजदर बृद्धिबाट उद्योग व्यवसायमा परेको नकरात्मक प्रभावबारे आइतबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थिए ।

‘सात प्रतिशतमा लिएको ऋण १४ प्रतिशत पुग्दा बैंकहरुलाई कति नाफा भयो होला ?’,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भने,‘यस्तो अवस्थामा कसरी ब्यापार/व्यवसाय संभव छ ?’

थोरै निक्षेपमा ब्याज बढाउँदा हुने नाफा ठूलो निक्षेपमा बढाएको ब्याजसँग तुलना हुन नसक्ने बताउँदै बैंक तथा वित्तिय संस्थाहरुको नियतमै खोट रहेको जिकिर गरे । बैंकहरुले एकतर्फी रुपले ब्याज बढाउँदा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अनुगमन र कारवाही गर्नु पर्नेमा उनको जोड थियो । पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तिय क्षेत्रले एकाएक ब्याजदर बढाएकोबारे सोमबार प्रदेश नम्बर ४ का मुख्यमन्त्री र अर्थमन्त्री तथा फागुन २४ गते प्रधानमन्त्री एवं अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी पनि दिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाले बैंकहरुसँग आर्थिक कारोवार गर्नेहरु बैंकर्स हुनै नसक्ने तर्क गर्दै त्यस्ता व्यक्तिलाई कि त व्यवसाय कि बैंकिङ क्षेत्रमा मात्र काम गर्न आग्रह गरे। पाँच वर्ष अगाडि लिएको निक्षेपमा ब्याज नबढाउने तर त्यही बेला लिएको कर्जामा चाहिँ ब्याज बढाउनु तर्क संगत नभएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले समस्याको स्थायी समाधानको लागि नयाँ सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा तर्क गरे । संघका कार्यसमिति सदस्य प्रेम भुजेलले ब्याजदर बढाएको विषयलाई राष्ट्रियरुपले उठाउनु पर्नेमा जोड दिए । कार्यसमिति सदस्य नारायण पौडेलले बैंकहरुले गर्ने आफुखुसी निर्णयले बजारमा मूल्यबृद्धि भएको बताए ।

गण्डकी धौलागिर पेट्रोलियम डिलर्स व्यवसायी संघका राजन गोंगजुले बैंकहरुको अस्वस्थ प्रतिष्पर्धाले बजारमा अस्थिरता उत्पन्न भएकोले नियन्त्रणको लागि नेपाल राष्ट्र बैंकले पहल गर्नुपर्ने तर्क गरे। संघकी कार्यसमिति सदस्य गीता तिवारीले बैंकले चर्को ब्याज लिँदा छापा नमार्ने तर व्यवसायीलाई अनेक प्रकारले दुःख दिने परिपाटीको अन्त्य हुनुपर्ने माग गरिन् ।

कार्यसमिति सदस्य प्रकाशदेव पालिखेले बचतमा बढी ब्याज दिएर सरकारले उद्यमशीलतालाई मार्न खोजेको आरोप लगाए । अर्का कार्यसमिति सदस्य किसान सुनारले अनुत्पादक क्षेत्रको लगानीमा बढी ब्याज र उत्पादनमूलक क्षेत्रलाई कम ब्याज तोकिनु पर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ