पोखरा, ३० फागुन । पोखराको बीच भाग भएर बहने फिर्के खोलाको सिमाना छुट्याउन रेखाङ्कन कार्य शुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले वडा नम्बर १८ सराङ्कोटको फेदी अँधेरीकुनाबाट शुरु भई प्रस्याङ, मालेपाटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्के खोलाको सिमाना नापेर छुट्याउँदै रेखाङ्कन गर्ने कार्य बुधबार बिहानबाट शुरु भएको हो ।
महानगरको मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाउन रेखाङ्कन थालिएको महानगरले जनाएको छ । खोला संरक्षण तथा फुटट्रयाक बनाउने उद्देश्यका साथ महानगरपालिका यसरी अघि बढेको हो । फिर्के खोला किनारमा ५ मिटरको मापदण्ड तोकेर कुनैपनि संरचना बनाउन निषेध गरिएको छ ।
एक हप्ताभित्र सक्ने लक्ष्य राखेर फिर्के खोलाको रेखाङ्कन शुरु गरिएको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । फेवातालमा मिसिने फिर्केको अन्तिम विन्दुबाट रेखाङ्कन शुरु गरिएको र यो फिर्केको मुहान सराङ्कोटको फेदीसम्मै गरिने उनले बताए ।
महानगर प्रमुख जिसीले फिर्केको जमिन नमिच्नेलाई धन्यवादसहित बधाइ र नमिच्नेलाई बिदाइ गरिने चेतावनी दिए । फिर्केको कहाँ ? कसले ? र कति ? जमिन मिचेको पत्ता लगाएर रेखाङ्कन गर्ने भन्दै उनले भने, ‘फिर्के खोलाको क्षेत्रफल कति हो ? त्यसमा लागू गरिएको ५ मिटरको मापदण्ड पालना छ कि छैन ? मिचेको हो भने कसले कति मिचेको हो ? भन्ने पत्ता लगाएर नमिचेकालाई धन्यवादसहित बधाइ र मिचेकालाई विदाइ गरिन्छ ।’
महानगर प्रमुख जिसीले रेखाङ्कन सकिएलगत्तै अल्टिमेटमसहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने र त्यसपछि पनि नहटाए महानगरपालिका आफैले डोजर लगाउने बताए । त्यसरी डोजर लगाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिलाई नै तिराउने उनले बताए ।
पहिलो चरणमा फिर्केको रेखाङ्कन सक्ने र त्यसपछि सेती नदीको पनि सिमाना रेखाङ्कन र अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाइने प्रमुख जिसीले जानकारी दिए ।

यस्तै, पोखराको बिच भएर बग्ने अर्को बुलौदी खोलाको पनि रेखाङ्कन गर्ने पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ । फिर्के र बुलौदी खोला अहिले ४ देखि ३४ मिटर सम्म फराकिलो रहेका छन् । खोलाको किनारबाट दुबै तर्फ ५-५ मिटर मापदण्ड लाग्न महानगरपालिकाले जनाएको छ । यी खोलामाथि कतिपय स्थानमा अतिक्रमण गरेर घर, समाज भवन, लायन्स क्लब, विद्यालय समेत बनेका छन् ।
जनप्रतिनिधि पाएपछि महानगरपालिकाले केहि पनि गरेन भनिरहँदा अहिले महानगर अघि बढ्दा सबै नागरिकको सकारात्मक सहयोगको अपेक्षा उसले गरेको छ ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?