बालिका हत्या प्रकरणः ‘१४ वर्षीय अभियुक्तका घर, परिवार छैनन्, मापसे गरेछन्’ भन्छन् स्थानीय

बालिका हत्या प्रकरणः ‘१४ वर्षीय अभियुक्तका घर, परिवार छैनन्, मापसे गरेछन्’ भन्छन् स्थानीय

Pun

यही गाडी अगाडि बच्चा छोपेर लुकाइएको थियो ।

गण्डक न्युज पोखरा, १२ चैत । पोखरामा सोमबार बिहानै ५ वर्षीया बालिकाको हत्या भएको कुरा सामाजिक सञ्जाल मार्फत बाहिरियो ।

दुई वर्ष अघि नेहा (योरुना) हत्या, बेगनास तालमा खिममाया पुनको शव भेटिएको प्रकरणले पोखरा तातेको थियो । सोहि प्रकृतिको घटना अनि देशैभर बलात्कार जस्तो जघन्य अपराधमा वृद्धि भईरहँदा धेरैले बलात्कार पछि हत्या भएको हुन सक्ने अनुमान गरे । तर प्रारम्भिक अनुसन्धानमा त्यस्तो नदेखिएको प्रहरीले स्पष्ट पारेको छ । बालिकाको पोस्टमार्टम हुन बाँकी नै छ ।

यही गाडी अगाडि बच्चा छोपेर लुकाइएको थियो ।

पोखराको नयाँबजारमा ५ बर्षिया बालिका बिहानी रोक्का मगरको आईतबार राति १४ वर्षीय पुन थरका एक बालकले हत्या गरे । खेलौनाकै विषयमा विवाद भएको ढुंगाले टाउकोमा हान्दा रगत बगेकाले बोराले घाँटी च्यापेर मारेको बयान अभियुक्तले दिएका छन् ।

प्रहरी नियन्त्रणमा पुगेपछि अभियुक्त बालक आत्तिएको प्रहरी स्रोतले जनाएको छ । सोमबार बिहान गण्डकन्युजको टीम जिल्ला प्रहरी कार्यालय कास्की पुगेर घटनाबारे जानकारी लिँदा प्रहरी प्रमुख एसपी अशोक सिंहले बलात्कार भएको केहि कुनै प्रमाण फेला नपरेको बताए । उनले बालकले बयानका क्रममा पनि खेलौनाकै विषयमा विवाद हुँदा ढुंगा प्रहार गरेपछि मृत्यु भएको जनाए ।

प्रहरी स्रोतका अनुसार अभियुक्तले दिएको बयान यस्तो छ:

‘म त्यही गाडी धुने काम गर्छु । म १४ वर्षको भएँ । मेरो घर छैन । बुबा आमा पनि छैन । मेरो रिमोट गाडी थियो । खेल्दा उसले बिगारेर नदिएपछि मैले ढुंगाले हानेको हो । ढुंगाले हानेपछि टाउकोबाट रगत आयो र रुन कराउन लाग्यो । उसको ममीले मलाई मार्छ भनेर बोराले घाँटी कसेर मारेँ । अनि आएर ग्यारेजको गाडी मुनी आएर सुतेँ । मलाई उनीहरुले फेला पार्यो ।’

मृतक बालिकाको घरमा पुगेर बालिकाकी आमा भेटेपछि अभियुुक्त पुन काम गर्ने ग्यारेजमा पुग्दा अभियुक्त काम गर्ने निट एण्ड क्लिन सर्भिस प्वाईन्टमा बाहिर गेट बन्द थियो । भित्र पस्दा संचालक टेक बहादुर गुरुङकी आमा, एक छिमेकी, गाडी धुने काम गर्ने दुई महिला र सञ्चालक गुरुङकी मंगोलियन पत्नी मात्र थिए । सञ्चालक गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको उनकी पत्नीले बताईन् ।

आठ वर्ष अघि नेपाल आएकी गुरुङकी पत्नी एरेका बल्ल बल्ल नेपाली बोल्न सक्ने रहेछन् । छिमेकी, उनकी आमा र एरेकाले अभियुक्त पुनबारे जानकारी गराए । एरेकाले भनिन्ः

‘त्यो केटा एक महिना एक हप्ता पनि भएको थिएन यहाँ काम गरेको । सधैं गाडी धुन आउने ट्याक्सी ड्राइभरले एउटा दुःख पाएको फुच्चे छ । काम पनि राम्रो गर्छ । ६ दिन मैले नै मेरो घरमा राखेँ अब काममा लगाउनुपर्यो भनेपछि काममा राखेको हो । दुःख पायो भनेर काममा राखेको । अर्को टेक मगर भन्ने पनि छ । त्यो पनि ३ महिना जति भयो । २ जना सँगै काम गर्थे । यहीं कोठामा सुत्थे । टिभी राखिदिएको छु । यति राम्रो सुत्ने ठाउँ छ । माया गरेर राखेको हो । हिजो दुई जना मिलेर रक्सी खाएछन् । अनि यस्तो भयो । कपडाहरु यही हो सबै बाहिर निकालिदिएँ ।’

ग्यारेजमै रहेकी एक छिमेकीले आफ्नो छोरा पनि केटाहरु सुत्ने कोठामै टिभी हेरिरहँदा पुन चाहिँ खाना नै नखाई बाहिर निस्केको । टेक चाहिँ टिभी हेर्दै भात खाईरहेको जानकारी दिईन् । ‘साईकल पनि छैन । त्यो केटा पनि छैन । दुई जना रक्सी खाए । त्यो चाहिँ चाँडै भात पनि नखाई हिँड्यो । पछि बच्चा हरायो भन्ने भयो । सबैले खोज्न थाले । टेके पनि सँगै खोज्न थाल्यो । यस्तो गरेछ ।’

अभियुक्तलाई चिनेजानेका जति सोझो र हाँसिरहने स्वभावको रहेको बताउँछन् । ‘सानो थियो, कोहिसँग बोल्थेन । राम्रो गोरो थियो । अनाथ भन्थे सबैले । उसले आफ्नो डायरी लेख्ने गरेको थियो रे । आफूले थाहा पाएदेखि भोगेको कुरा सबै लेखेको भन्ने सुनेको थिएँ । स्याङ्जामा अंकल अण्टीकहाँ बस्दा हेला गरेर पोखरा आएको भन्थे ।’ – नजिकै बस्ने किसान कार्कीले सुनाए ।’

प्रहरीले उनले लेखेको डायरी र बच्चा मारेपछि रगत लागेको कपडा समेत बरामद गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार डायरीमा मायाका कुराहरु समेत छन् ।

अघिल्लो समाचार:

५ बर्षिया बालिका हत्या प्रकरणः के भन्छिन् आमा बिना ?

बालिकाकी आमा बिना ओछ्यानमा लडिरहेकी थिईन् । उनी बोल्ने अवस्थामा थिईनन् । एकछिनपछि घटनाको बारेमा छिमेकीहरुले भन्न सुरु गरेपछि उनी केहि सम्हालिन् र घटनाबारे यसरी बेलिबिस्तार लाईन् । :-

“मेरो श्रीमान आर्मी हुनुहुन्छ । नवलपरासीमा हुनुहुन्छ । एउटा छोरा र छोरी मात्रै हो । छोरा शरद ९ वर्षको भयो । छोरी बिहानी ५ पुरा भएकी थिईन् । म पोखरा २ वर्ष अघि आएको हो । पहिले अमरसिंहमा बस्थेँ । त्यहाँ पनि ६ महिनाजति खाजा घर चलाएँ । स्कुल नजिक भएकाले बाबु नानीलाई त्यहीँ पढाएँ । यता नयाँबजार आएको १ वर्ष बढी भयो ।

हिजो (आईतबार) बेलुकी पनि बाहिर पेटीतिर खेलिरहेकी थिईन् । मकहाँ महिनाबारी खाना खानेहरु छन् । म खाना बनाउँदै थिएँ । ७ बजेतिरबाट नानी देखिएन, अबेरसम्म नआएपछि उसको दाइले त्यो केटा र नानी खेलिरहेको भन्यो ।

त्यो केटा काम गर्ने ठाउँमै सुत्थ्यो । (अभियुक्त ठीक अगाडिको निट एण्ड क्लिन सर्भिस प्वाईन्टमा गाडी धुने काम गर्दै आएका थिए) त्यहाँ पुग्दा त्यो केटा रहेनछ । त्यसपछि सबै ठाउँमा खोज्न थाल्यौं । सधैं कोठामै सुत्थ्यो, रहेनछ । पुलिसलाई खबर गरिसकेका थियौं । २० मिनेट जतिमा पुलिस आयो । केटालाई उसकै काम गर्ने ठाउँमा राखिएको गाडी मुनि भेटियो । उसले मैले मारेँ भन्यो । म नानीलाई हेर्न पनि पाईनँ । पुलिसले नै सबै लग्यो । नानीबाबुका बुबा आउँदै हुनुहुन्छ ।

खेलौना नदिएर भनेको छ अरे । खेलौनाकै कारण त्यत्रो ठूलो मान्छेले बच्चा मार्छ ? अनाथ भनेको छ । १४ वर्ष नै भयो भन्ने के छ ? ठूलो पनि हुन सक्छ उमेरमा । त्यसरी मारेर, कसरी लुकाउने भनेर जानेको मान्छे बालक हुन्छ ? एकदमै गहिरो गरि छानविन हुनुपर्छ । मेरी छोरी मार्नेलाई कडा कारबाही हुनुपर्छ ।”

यति भनेपछि मृतककी आमा बिना बोल्न सकिनन् । उनले पानी समेत खाएकी छैनन् ।

सम्बन्धित समाचार

पोखरामा ५ वर्षीया बालिका ‘बिहानी’ को हत्या

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds