प्रदेश ४ को नाम राख्न समिति गठन, ८० प्रतिशत बढी ‘गण्डक’ पक्षमा (अनौपचारिक सर्वेक्षण)

प्रदेश ४ को नाम राख्न समिति गठन, ८० प्रतिशत बढी ‘गण्डक’ पक्षमा (अनौपचारिक सर्वेक्षण)

Pradesh gandak

गण्डक न्युज पोखरा, १३ चैत । प्रदेश नम्बर ४ को नामाकरणका लागि संसदबाटै समिति गठन भएको छ । प्रदेशको नामाकरण र राजधानी तोक्न नयाँ समिति गठन भएको छ भने यसअघिका ४ वटै समितिमा सदस्य थप गरिएको छ । प्रदेश ४ को नाम गण्डक, तमुवान–मगरात, गण्डकी, गोरखा, अन्नपूर्ण बढी चर्चामा छ ।

प्रदेश राजधानी तथा नामाकरण विशेष समितिमा धनन्जय दवाडी, मीनप्रसाद गुरुङ, विन्दुकुमार थापा, भगवतप्रकाश मल्ल, दीपक कोइराला, चन्द्रबहादु बुढा, कृष्ण थापा र हरिशरण आचार्य सदस्य छन् । उनीहरुले प्रदेशको राजधानी तोक्न तथा नामाकरण गर्न भौगोलिक अवस्थिती, जनचाहना, पहूँचको सुलभता, भौतिक संरचना लगायतका विषयमा जनताको पृष्ठपोषण लिएर संसदमा सुझाव पेश गर्नेछन् ।

यसअघि गठन भएको विधायन समितिमा ३, सार्वजनिक लेखा समितिमा ३, प्रदेश मामिला समितिमा ५ र अर्थ तथा विकास समितिमा पनि ३ सदस्य थपिएका हुन् । विधायन समितिमा धनञ्जय दवाडी, सावित्रा राना र मनबहादुर गुरुङ थपिएका छन् । यसअघि मोहनप्रसाद रेग्मी, विष्णुप्रसाद लामिछाने, आशा कोइराला, टेकबहादुर घर्तीमगर, धनमाया पोख्रेल लामा, ललितकला गुरुङ, कृष्णचन्द्र नेपाली र चन्द्रबहादुर बुढा सदस्य थिए ।

सार्वजनिक लेखा समितिमा राजीव पहारी, प्रभा कोइराला र महेन्द्रबहादुर थकाली थपिएका छन् । समितिमा ओमकला गौतम, विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ, रामबहादुर गुरुङ, पियारी थापा, गायत्री गुरुङ, दिलमाया रोका, प्रकाशचन्द्र दवाडी यसअघि नै सदस्य भैसकेका थिए ।

प्रदेश मामिला समितिमा चिन्ता बहादुर घले, मनकुमारी गुरुङ, कोपिला बोहरा, मञ्जु अधिकारी, दीपक थापा, मित्रकुमारी गुरुङ सुवेदी पूरानै सदस्य हुन् भने जुनादेवी नेपाली, ईन्द्रधारा बिष्ट, रोशन गाहा थापा, लक्ष्मी सुनार र मिना गुरुङ अहिले थपिए ।

अर्थ तथा विकास समितिमा दीपक कोइराला, विनोद केसी, दोवाटे विश्वकर्मा, सरिता गुरुङ, भगवतप्रकाश मल्ल, कृष्ण थापा, जनकलाल श्रेष्ठ र हरिशरण आचार्य सदस्य थिए भने हाल ईन्द्रलाल सापकोटा, मीनप्रसाद गुरुङ र पुष्पा केसी भण्डारी थपिएका हुन् । थपिएका सबै सदस्य एमालेतर्फका सांसद छन् ।

फागुन २७ र चैत ६ गतेको बैठकले संसदका चारवटै समिति गठन गरेको थियो । तर सदस्य संख्या बढाउनुपर्ने माग गर्दै एमालेले सदस्यको नाम दिएको थिएन । आन्तरिक सहमति भएपछि पूरानै अवस्थामा सदस्यको नाम पठाएको एमाले संसदीय समितिले जनाएको छ । एमालेले नियमावली परिवर्तन गरी प्रत्येक समितिमा १३ सदस्य बनाउनुपर्ने माग गरेको थियो । नियमावलीमा ११ जना मात्रै सदस्य रहने ब्यवस्था छ ।

प्रदेश ४ को नाम सप्तगण्डकीको सेरोफेरो भएकोले ‘गण्डक प्रदेश’ !

अहिले दर्जनौंका पोस्टहरुमा प्रदेशका नामबारेको चासो देख्न सकिन्छ । प्रदेशबासीका मनोभावना के छन् भन्ने बुझ्न विभिन्न व्यक्ति तथा पेजबाट नमुना सर्वेक्षण नै भएको छ ।

प्रदेश ४ को नाम के राख्ने भन्ने बहस यतिखेर जोडतोडले चलेको छ । विशेषत: सामाजिक सञ्जालमा सर्वसाधारणले आ–आफ्नो राय व्यक्त गरिरहेका छन् । विभिन्न नाममध्ये गण्डक, गोरखा र तमुवानमा बढी चर्चामा छन् । संस्कृति, रीतिरिवाज, रहनसहन र परम्पराको आधारमा गण्डक प्रदेश राख्नुपर्ने एकथरीको तर्क छ ।

पोखराका अग्रज पत्रकार कुशुमकेशव पराजुली लेख्छन्ः ‘निस​न्देह​ हामी ‘ग​ण्ड​क प्र​देश​’मा छौ । अहिलेका स​र​कार​का घ​ट​कह​रुले आफ्नो आधार​ ईलाका ब​नाउदा होस​ या साङ्ग​ठ​निक नामाकर​ण​ ग​र्दा ग​ण्ड​क प्र​देश भ​नेर नै नामाकर​ण​ ग​रेका थिए ।’

सामाजिक सञ्जालमा पोखराका युवा रुपेश पाण्डे लेख्छन्, ‘गण्डक क्षेत्रको लोकसंस्कृति, यहाँको सुन्दरताले यस क्षेत्रलाई चिनाएको छ । त्यसैले यो प्रदेशको नाम ‘गण्डक’ हुनुपर्छ ।’

पर्वत सदरमुकाम कुश्माकी विद्यार्थी रश्मी लामिछाने भने दुई अञ्चल जोडिएकाले ‘गण्डकी–धौलागिरी प्रदेश’ नामाकरण गर्न उचित हुने तर्क गर्छिन् । सामाजिक सञ्जालमा उनी भन्छिन्, ‘प्रदेशको नाम सर्वस्वीकार्य हुनुपर्छ । यहाँको भूगोलमा भएको नदी र हिमाल मिलाएर गण्डकी–धौलागिरि प्रदेश नाम राख्दा कसैको विमति हुन्छ जस्तो लाग्दैन ।’

गोरखाका युवा व्यवसायी सुरज श्रेष्ठ फरक विचार राख्छन् । प्रदेश ४ को नाम गोरखा प्रदेश राख्नुपर्ने उनको राय छ । नेपाल एकीकरणको उद्गम थलो र वीर नेपालीलाई चिनाउने पदावली भएकोले गोरखा प्रदेश नै उपयुक्त हुने विचार उनले राखेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ युएईमा आवद्ध देरराज गुरुङ पहिचानको सम्बोधन हुने गरी नामाकरण गर्नुपर्ने सुझाउँछन् । गण्डक नै राख्दा पनि गुरुङ वा मगर भाषामा गरिनुपर्ने उनको तर्क छ । ‘पहिचानलाई कुनै न कुनै हिसाबले सम्बोधन गर्न सकिन्छ,’ उनी लेख्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds