रञ्जन अधिकारी पोखरा, १५ चैत / साउदी उडेको यही चैत ३ गते बल्ल वर्ष दिन पुग्यो । स्याङ्जा चिलाउनेबास, उखुबारीका दीपेन्द्रराज पौडेल त्यहाँ थला परेकै ३ महिना भईसक्यो । २७ वर्षीय पौडेलले ६ महिनामात्रै राम्ररी काम गरे । सकिनसकी दुई महिना गरे त्यसपछि सकेनन् । ढाँडमा समस्या आएपछि कोठामै थलिएर बसेका छन् । २ लाख रुपैंया नभएर फर्कन सकेनन् ।
बिहे गरेको चार वर्ष मात्रै भयो । घरको आर्थिक अवस्था कमजोर रहेकाले महिनाको ८०० रियल (२१ हजार ६ सय) मात्रै तलबमा अरबको तातो हावामा पसिना चुहाउन उनी राजी भए । यसमा पनि बस्नमात्र सुविधा थियो । खान आफै जोहो गर्नुपथ्र्यो । काठमाण्डौको ए एस इन्टरनेशनल प्रालि म्यानपावरमा एक लाख २० हजार तिरेर साउदी उडे ।
‘म्यानपावरले मलाई पठाएको हेल्परमा हो । तर फलामका भारी काम उठाउने काममा लगायो । हामी काम गर्न नसक्ने भन्दा कम्पनीले कुरै सुनेनन् । काम गर्न बाध्य बनाए ।’ फेसबुकमार्फत हामीसँगको सम्पर्कमा आएका दीपेन्द्रले सन्देश पठाएका छन्– ‘८ घण्टा ड्युटी भनेर पठाएको १० घण्टा गर्न बाध्य बनाईयो । ८० किलोसम्मको फलाम उठाउनुपर्ने काम थियो । त्यसैका कारण हड्डी खिएछ । एकदिन उठ्नै सकिन, बसेको बस्यै भएँ ।’
म्यानपावरले अरेबियन स्पायर भन्ने कम्पनीमा पठाएकोमा कम्पनी उही भएपनि काम फरक गर्न लगाएको उनले दुःखेसो पोखे । म्यानपावरमा १ लाख २० हजार तिरेर आएपनि जम्मा १० हजारको फर्जी बिल दिएको भन्दै उनले म्यानपावरले अहिले वास्ता नगरेको गुनासो गरे ।

‘२ वर्षे करार, ८ घण्टा काम, खाना ३५० साउदी रियल, बस्ने सुविधा छ भनेर पठाएका हुन् ।’ – पोखरेलले भने– ‘बीमा र उपचार कम्पनीद्वारा भनिएको थियो । तर कम्पनीले उपचार गरिदिएन । फर्किदाँको हवाई टिकट कम्पनीले नै भन्ने सम्झौता थियो तर करार अवधि समाप्तभएपछि मात्र भनेकाले त्यो भएन । त्यसैले रोकिएर बसेको छु ।’ म्यानपावरका पिआर अफिसर नारायण भट्टराईको भिजिटिङ कार्डमा रहेको नम्बरमा सम्पर्क गर्न खोज्दा मोबाईल स्विच्ड अफ थियो ।
करार अवधि समाप्त नभएकाले जाने भए १० हजारबाट घटाएर ६ हजार रियल मागेको भन्दै उनले कम्पनीले पनि नछाडेको र फर्कने पैसा पनि नभएकाले कोठामै थलिएर बस्नुपरेको बताए । ‘पैसा एक रुपैंया छैन । ८ महिनामा ९० हजार जति कमाएको पनि उपचारमै सकियो । साउदी जस्तो देशमा आएका साथीहरुसँग पनि सँग हुन्छ र ? उनीहरु ईण्डियन हो । अहिलेसम्म पालेका छन् ।’ पौडेलले भने ।
उनले आफू नेपाल आउन चाहेको तर पैसा नभएकाले सहयोगको याचना गरेका छन् । घरमा पौडेलकी श्रीमती आमा बुबा रहेका छन् । सहयोगका लागि ९८२४१६७६७२ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सकिनेछ ।

सम्बन्धित खबर
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ