पोखरा । प्रदेश ६ ले सर्वसम्मत रुपमा आफ्नो प्रदेशको नाम कर्णाली प्रदेश नामाकरण गरिसक्यो । अन्य प्रदेश भने छलफलमै छ । यतिबेला प्रदेश ४ को नाम के राख्ने भन्ने बहस सुरु भएको छ । प्रदेश सरकारले यसबारे सुझाव दिन दलीय समिति नै बनाएपछि बहसले तीव्रता पाएको छ ।
एकातिर हिमालदेखि पहाड र तराईसम्म फैलिएको प्रदेशको नामाकरण कुनै जाति, ठाउँ विशेषका आधारमा गर्दा अरुलाई अन्याय हुने आवाज पनि उठिरहेको छ भने जातीय बाहुल्यता र महत्वको हिसाबले प्रदेशको नाम राख्नुपर्ने माग पनि त्यतिकै सशक्त छ ।
गण्डकी राख्दा धौलागिरी नसमेटिने, तमुवान मगरात जातिय आधारमा हुन नहुने, अन्नपूर्ण, माछापुच्छ्रे राख्दा गाउँपालिका बनिसकेको जस्ता तर्क सामाजिक सञ्जालमा देख्न पाईन्छ । सुरुदेखि नै गण्डक प्रदेशको चर्चा चलिरहेका बेला यस प्रदेशमा जनमत ठूलो बन्दै गएको विभिन्न अनौपचारिक र नमुना सर्वेक्षणले समेत देखाईसकेको छ ।
प्रदेश सरकारले पनि राजधानी र नामाकरण विशेष समिति नै गठन गरेको छ । पाँच पार्टीका ५ सदस्य रहने गरी सोमबार प्रदेश सरकारले गठन गरेको समितिले प्रदेशको नामाकरण सम्बन्धी काम थालेको छ । प्रदेश राजधानी तथा नामाकरण विशेष समितिमा धनन्जय दवाडी, मीनप्रसाद गुरुङ, विन्दुकुमार थापा, भगवतप्रकाश मल्ल, दीपक कोइराला, चन्द्रबहादुर बुढा, कृष्ण थापा र हरिशरण आचार्य सदस्य छन् । समितिमा सावित्री रानामगर, सरिता गुरुङ र मधुमाया अधिकारी थपिएका छन् ।
समितिमा सदस्य चयन भएपछि सांसद दीपक कोइरालाले एउटा स्टाटस लेखे: ‘चार नम्बर प्रदेश को नामांकन र राजधानी तोक्न को लागि प्रदेश सभाले बिशेश समिती (म समेत) निर्माण गरेको छ । सुझाव को लागि हार्दिक अपिल गर्दछु।’
आज ठ्याक्कै एक हप्तासम्ममा २४७ कमेन्ट आएको छ । जसमध्ये १०३ कमेन्ट गण्डक प्रदेश नाम लिइएको छ । सांसद कोइरालाले कुनै अप्सन नदिई खुल्ला रुपमा राखेको यो जिज्ञासामा अधिकांशले गण्डक प्रदेश नै हुनुपर्ने सुझाव दिएका हुन् । हेर्नुहोस्:
https://www.facebook.com/deepakkoiralar/posts/1988964781132672
समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाको अध्यक्षतामा ठीक एक हप्ता अघि मंगलबार पहिलो बैठक बसेको थियो । बैठकले राजधानी र नामाकरण सम्बन्धी कार्यविधि बनाएर त्यसैका आधारमा सुझाव संकलन गरी प्रदेशको नामाकरण सम्बन्धी धारणा बनाउने निर्णय गरेको छ । समितिले ३० दिनभित्र प्रदेश सरकार समक्ष प्रदेश राजधानी र नामाकरणबारे संसदमा पेश गर्नु पर्नेछ ।
१६ गतेको संसद बैठकमा कार्यविधि पेश गरिने समिति सदस्य दीपक कोइरालाले जानकारी दिए । ‘अहिले हामीले कार्यविधि तयार गर्दैछौं । १६ गते कार्यविधि पेश हुन्छ,’ कोइरालाले भने, ‘कार्यविधिलाई नै टेकेर कसरी सुझाव संकलन गर्ने, विज्ञसहितको टोली कसरी बनाउने भन्ने तय हुन्छ । ‘
जिल्ला, निर्वाचन क्षेत्र वा स्थानीय तहसम्ममा गएर सुझाव संकलन गर्ने कि विज्ञ समूह बनाएर गर्ने भन्ने विषयमा छलफल भइरहेको कोइरालाले जानकारी दिए ।

समितिले धारणा बनाउनु अगाडि नै जनस्तर तथा विभिन्न संस्थागत रुपमा नामका विषयमा चर्को बहस सुरु भएको छ । गण्डक, तमुवान मगरात, गण्डकी, अन्नपूर्ण, गोरखाजस्ता नाम राख्न व्यक्तिगत तथा विभिन्न संस्थागत रुपमा माग हुन थालेको छ । व्यास, फेवा, रुपा, मुक्तिनाथ लगायतका नाम राख्नुपर्ने आवाज आइरहेको छ ।
प्रदेशमा व्यापक समर्थन सामाजिक सञ्जालमा देखिन्छ । हिन्दी नाम भनिएपनि गण्डक शब्द नेपाली राजनीतिमा व्यापक नाम हो । सप्तगण्डकी सेरोफेरो रहेकाले यस प्रदेश गण्डक क्षेत्र हो । गण्डक प्रदेश बनाउन नेकपा एमालेलाई दबाब पनि छ । जनमत पनि गण्डकमै रहेको विभिन्न सर्वेक्षणमा देखाईसकेको छ ।
यही प्रदेशमा अन्नपूर्ण हिमाल क्षेत्र रहेकाले प्रदेशको नाम अन्नपूर्ण राख्न पनि आवाज पनि उठिरहेको छ भने गोरखाको ऐतिहासिक महत्वलाई ख्याल गर्दै प्रदेशलाई एकताको सूत्रमा बाध्न पनि प्रदेशको नाम गोरखा राख्नु पर्ने आवाज उठिरहेको छ ।
नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले प्रदेशको नामाकरण गर्दा जातीय गन्ध आउन नहुने बताउँछन् ।
सम्बन्धित समाचार
प्रदेश ४ को नाम राख्न समिति गठन, ८० प्रतिशत बढी ‘गण्डक’ पक्षमा (अनौपचारिक सर्वेक्षण)
प्रदेश ४ को नाम गण्डक, तमुवान–मगरात, गण्डकी, गोरखा, अन्नपूर्ण बढी चर्चामा छ ।

प्रदेश ४ को नाम सप्तगण्डकीको सेरोफेरो भएकोले ‘गण्डक प्रदेश’ !
अहिले दर्जनौंका पोस्टहरुमा प्रदेशका नामबारेको चासो देख्न सकिन्छ । प्रदेशबासीका मनोभावना के छन् भन्ने बुझ्न विभिन्न व्यक्ति तथा पेजबाट नमुना सर्वेक्षण नै भएको छ ।
प्रदेश ४ को नाम के राख्ने भन्ने बहस यतिखेर जोडतोडले चलेको छ । विशेषत: सामाजिक सञ्जालमा सर्वसाधारणले आ–आफ्नो राय व्यक्त गरिरहेका छन् । विभिन्न नाममध्ये गण्डक, गोरखा र तमुवानमा बढी चर्चामा छन् । संस्कृति, रीतिरिवाज, रहनसहन र परम्पराको आधारमा गण्डक प्रदेश राख्नुपर्ने एकथरीको तर्क छ ।
पोखराका अग्रज पत्रकार कुशुमकेशव पराजुली लेख्छन्ः ‘निसन्देह हामी ‘गण्डक प्रदेश’मा छौ । अहिलेका सरकारका घटकहरुले आफ्नो आधार ईलाका बनाउदा होस या साङ्गठनिक नामाकरण गर्दा गण्डक प्रदेश भनेर नै नामाकरण गरेका थिए ।’

सामाजिक सञ्जालमा पोखराका युवा रुपेश पाण्डे लेख्छन्, ‘गण्डक क्षेत्रको लोकसंस्कृति, यहाँको सुन्दरताले यस क्षेत्रलाई चिनाएको छ । त्यसैले यो प्रदेशको नाम ‘गण्डक’ हुनुपर्छ ।’
पर्वत सदरमुकाम कुश्माकी विद्यार्थी रश्मी लामिछाने भने दुई अञ्चल जोडिएकाले ‘गण्डकी–धौलागिरी प्रदेश’ नामाकरण गर्न उचित हुने तर्क गर्छिन् । सामाजिक सञ्जालमा उनी भन्छिन्, ‘प्रदेशको नाम सर्वस्वीकार्य हुनुपर्छ । यहाँको भूगोलमा भएको नदी र हिमाल मिलाएर गण्डकी–धौलागिरि प्रदेश नाम राख्दा कसैको विमति हुन्छ जस्तो लाग्दैन ।’
गोरखाका युवा व्यवसायी सुरज श्रेष्ठ फरक विचार राख्छन् । प्रदेश ४ को नाम गोरखा प्रदेश राख्नुपर्ने उनको राय छ । नेपाल एकीकरणको उद्गम थलो र वीर नेपालीलाई चिनाउने पदावली भएकोले गोरखा प्रदेश नै उपयुक्त हुने विचार उनले राखेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ युएईमा आवद्ध देरराज गुरुङ पहिचानको सम्बोधन हुने गरी नामाकरण गर्नुपर्ने सुझाउँछन् । गण्डक नै राख्दा पनि गुरुङ वा मगर भाषामा गरिनुपर्ने उनको तर्क छ । ‘पहिचानलाई कुनै न कुनै हिसाबले सम्बोधन गर्न सकिन्छ,’ उनी लेख्छन् ।

सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’