पोखरा विश्वविद्यालयमा स्ववियु चुनावः मतदान जारी, २१३० मा १००० भोट खस्यो, पानीले डिस्टर्व

पोखरा विश्वविद्यालयमा स्ववियु चुनावः मतदान जारी, २१३० मा १००० भोट खस्यो, पानीले डिस्टर्व

std

गण्डक न्युज, पोखरा २१ चैत / पोखरा विश्वविद्यालय स्थापना भएको २१ वर्ष पछि पहिलोपटक स्वतन्त्र विद्यार्थी युनियनको चुनाव उल्लासमय वातावरणमा भईरहेको छ । तर, पोखरामा अचानक परेको पानीले केहि डिस्टर्व गरेको छ ।

पानीका कारण मतदान स्थल बाहिर क्याम्पस प्रांगणबाट ईञ्जिनियरिङ र विजनेस डेभलपमेन्ट बिल्डिङमा सारिएको त्यहाँ रहेका हाम्रा संवाददाता रियाज तिमिल्सिनाले जानकारी दिएका छन् । पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पस लेखनाथ, पोखरामा स्ववियु चुनावको मतदान बिहानैदेखि जारी छ ।

क्याम्पसमा विज्ञान र प्रविधि, स्वास्थ्य विज्ञान, व्यवस्थापन र मानविकी गरी ४ संकायका स्नातक र स्नातकोत्तर अध्ययन गर्ने २ हजार १ सय ३० विद्यार्थी चुनावमा सहभागी हुँदैछन् । अहिले पौने ३ बजेसम्म १ हजार भोट खसिसक्यो ।

बिहान ७ बजेदेखि सुरु मतदानको समय ५ बजेसम्म तोकिएको छ । त्यसबेलासम्म लाइनमा रहने सबै विद्यार्थीले मत खसाल्न पाइने निर्वाचन समिति सदस्य हेमचन्द्र चौलागाईंले गण्डक न्युजलाई बताए ।

 विश्वविद्यालयमा प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्ष र ८ सदस्य चयन हुनेछन् भने समानुपातिकतबाट ८ जना गरी १९ पदका लागि निर्वाचन हुनेछ । विश्वविद्यालयले विश्वविद्यालयका पाठयक्रम विकास केन्द्र निर्देशक राजेश ठकुराठीको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन समिति बनाएको हो ।

आगामी ९ बैशाखमा माउ पार्टी एमाले र माओवादी एक बन्ने उद्घोष गरिरहेका बेला स्ववियु चुनाव अलगअलग संगठनकै हैसियतमा प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि, पोखराका पिएन बाहेकका चार क्याम्पसमा भएको स्ववियु निर्वाचनमा पनि अनेरास्ववियु र क्रान्तिकारी एक थिएनन् । अनेरास्ववियुकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नै उपस्थित भएर मिलाउन खोज्दा पनि पियुमा मिलाउन सकेनन् ।

स्ववियु अध्यक्षमा क्रान्तिकारीको तर्फबाट सुदन पन्त, अनेरास्ववियुबाट सुनिल तिमिल्सिना र नेविसंघबाट डिफान भुजेलसहित अन्य संगठनले पनि उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारको नामावली प्रकाशन, नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशनको अन्तिम दिन क्यामसले १६ चैतलाई तोकेको थियो । उक्त दिनसम्म दुई वाम विद्यार्थी संगठनका उम्मेदवारले नाम फिर्ता लिएका छैनन् । क्याम्पसमा मतदान २१ चैतको बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यतालिका छ ।

अनेरास्ववियुबाट सभापतिमा सुनिल तिमिल्सिना, सचिव सुरज परियार र कोषाध्यक्ष प्रकृति दवाडी छन् । अनेरास्ववियु क्रान्तिकारीको प्यानलबाट सभापतिमा सुदन पन्त, सचिव विनायक तिमिल्सिना र कोषाध्यक्षमा सामना सुवेदी छन् । नेविसंघबाट डिफान भुजेलको नेतृत्वको प्यानलले उम्मेदवारी दिएको छ । सचिवमा नारायण सापकोटा र कोषाध्यक्ष विनिता लामिछाने छन् ।

समाजवादी फोरमका तर्फबाट राजेश यादवको नेतृत्वमा सचिव रमेश शाह र कोषाध्यक्ष मन्दाकिनी महतो छन् । राष्ट्रिय जनमोर्चा समर्थक अखिल छैटौंले सचिवमा हेमन्त रानामगरलाई उम्मेदवार बनाएको छ भने अरु पदमा उम्मेदवार उठाएको छैन ।

सुवासप्रसाद पौडेल स्वतन्त्र रुपमा सभापति उठेका छन् । यस्तै सभापतिमा स्वतन्त्र उम्मेदवारी दिनेमा कुसुमशिला भट्ट र विमान प्रधान पनि छन् । भट्ट अनेरास्ववियु र प्रधान नेविसंघकमा बागी हुन् । सचिवमा स्वतन्त्र उम्मेदवारी दिने विनोद भण्डारी पनि अनेरास्ववियु क्रान्तिकारीका वागी उम्मेदवार हुन् ।

अनेरास्ववियु र समाजवादी फोरमबीच समानुपातिक सहसचिव, १ प्रत्यक्ष र १ समानुपातिक सदस्य समाजवादी विद्यार्थी फोरमलाइ दिनेगरी सहमति भएको थियो । विद्यार्थी संगठनहरु स्ववियुको संस्थापक बन्ने होडमा लागेका छन् ।

यसअघि देशैभरका विश्वविद्यालयमा चैत १६ मा निर्वाचन गर्ने भनिए पनि नेत्रविक्रम चन्द समूहनिकट विद्यार्थी संगठनको आग्रहमा प्रमुख तीन विद्यार्थी संगठनको सहमतिमा चैत २१ र्पुयाइएको हो ।

तस्विरः विश्वदर्शन पराजुलीको फेसबुकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ