ग्रामिण पर्यटन: पर्यटक नअस्ताउने अस्ताम

ग्रामिण पर्यटन: पर्यटक नअस्ताउने अस्ताम

home

धितालको अस्ताममा रहेको परम्परागत घर । जुन घरमा अहिले मानिस बस्दैनन्

  • रञ्जन अधिकारी, माधव भुषाल, प्रकाश अधिकारी, सुमन गुरुङ 

धिताल अस्ताम स्थित अन्नपूर्ण इको भिलेजले ग्रामिण पर्यटन प्रवद्र्धन गरेर पोखरा आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । आवश्यक पूर्वाधार तयार गरी १० वर्षदेखि निरन्तर पर्यटकको स्वागतमा लागिपरेको छ ।

पोखरा रहेको पश्चिम क्षेत्रमा अन्नपूर्ण, मनासलु र धौलागिरी क्षेत्र पर्यटकीय गन्तव्य हो । ट्रेकिङ र हाइकिङ गन्तव्य नै ग्रामिण पर्यटनको आधार हो । यहाँ वार्षिक ४ लाखको हाराहारीमा पर्यटक आउने नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलिया बताउँछन् । ‘करिब डेढ लाख पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा ट्रेकिङका लागि आउँछन् । सँगै उत्तिकै संख्यामा नेपाली पनि जान्छन् । पोखरामा फेवाताल हेर्न मात्र पर्यटक आउँदैनन्, अधिकांश गाउँ नै उक्लिन्छन् ।’ थपलियाले भने ।

धम्पुस र नौडाँडाको बीच डाँडा, हेमजा फेदीबाट पाँच किलोमिटर टाढा यो अस्ताम गाउँमा पर्यटक लोभ्याउने पूर्वाधार तयार भने भएको छ । दश वर्ष अघि देखि नै अन्नपूर्ण इको भिलेज सञ्चालनमा छ ।

अस्ताम स्थित अन्नपूर्ण इको भिलेज

सञ्चालक वेदनिधि अधिकारी भन्छन्ः ‘हाम्रो सेवा विशुद्ध अर्गानिक छ । पानी समेत हामी मिनिरल वाटर प्रयोग गर्दैनौं । यहाँ आएका पर्यटक सन्तुष्ट भएर फर्किन्छन् । योग ध्यान सेवा समेत छ ।’

नेपालमा गाउँ पर्यटनको प्रवद्र्धन तथा विकासको कारण आन्तरिक पर्यटक संख्यामा वृद्धि भएको छ । अस्ताम पुगेका पर्यटक समेत यहाँबाट देखिने मनोरम दृश्य र गाउँघरमा मिलेको आतिथ्यताबाट सन्तुष्ट छन् । पर्यटकको संख्या पनि सिजनमा बाक्लै देखिन्छ ।

ग्रामिण पर्यटनको बलियो रुप घरबास पर्यटन (होम स्टे) हो । हालसम्म नेपालमा ६ सय बढी गाउँमा पर्यटनको विकास अर्थात् होम स्टे सुरु भएको छ । जसअनुसार गाउँघरमा रहेका स्रोतसाधनलाई उपयोग गरी पाहुनाहरूलाई स्वागत गरिन्छ ।

ग्रामिण पर्यटनको महत्व

नेपालको पर्यटन विशेषतः पर्वतीय पर्यटन र ग्रामिण पर्यटन नै हो । गाउँ नै गाउँले भरिएको नेपालमा ग्रामिण पर्यटनको ठूलो अवसर छ । देशको पर्यटन विकासमा ग्रामिण पर्यटनको अपरिहार्यता बढ्दो छ ।

ग्रामिण पर्यटनमा पर्यटकीय गतिविधि, आकर्षण र व्यवसायिकरण ग्रामिण क्षेत्रमा केन्द्रित हुन्छ । पर्यटनमा गन्तव्य आफैमा ग्रामिण परिवेशमा हुन्छ । व्यवसायिक संलग्नतामा ग्रामिण क्षेत्रका व्यक्ति बढी हुन्छन् र ग्रामिण पर्यटनबाट उठ्ने लाभको धेरै अंश सोहि क्षेत्रमा बढी जान्छ ।

ग्रामिण पर्यटनको विकासले पर्यापर्यटन विस्तार, सीप विकास र व्यवसायिकरण, कृषिमा विविधिकरण र व्यवसायिकरण, जीविकोपार्जनका वैकल्पीक श्रोतहरुको पहिचान र कार्यान्वयन, रोजगारी तथा प्राकृतिक स्रोतसाधनको संरक्षणमा ठूलो टेवा पुग्छ । गाउँघरमै लगानी र पूँजीबृद्धिको वातावरण बढ्ने हुँदा बढ्दो शहरीकरणको चाप पनि घट्छ ।

कास्कीको धिताल, अस्तामको एक गाउँ

नेपालमा ग्रामिण पर्यटन

नेपालमा गाउँ पर्यटनको अवधारणा ग्रामीण पर्यटनका अभियन्ता डा. सुरेन्द्रभक्त प्रधानाङ्गले सन् १९८० मा अघि सारेका थिए । उनी काठमाडौं रिसर्च सेन्टरको नेतृत्वकर्ता समेत हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् १९९५ मा पहिलो पल्ट गाउँ पर्यटन अवधारणालाई पर्यटन नीतिमा समावेश गरेको थियो । तत्पश्चात् नवौँ पञ्चवर्षीय योजनामा नमुना पर्यटकीय गाउँ निर्माण गर्ने योजना तर्जुमा गरेको थियो ।

नेपालमा होमस्टेको संस्थागत विकास भने पर्यटन वर्ष सन् २०११ देखि सुरु भएको हो । ग्रामिण पर्यटनको अवधारण नेपालमा मात्रै हैन शक्तिशाली देशहरुमा समेत अवलम्वन गरिएको छ ।

समस्या र चुनौति

ग्रामीण पर्यटनका विभिन्न सम्भावना भएर पनि त्यसको उचित व्यवस्थापन र प्रयोगमा उल्लेख्य प्रगति नहुनुले यस क्षेत्रमा विविध समस्या तथा थप चुनौति छ । ग्रामिण भेगबाट मानिसहरु शहरतिर झर्न थालेका छन् । वैदेशिक रोजगार, सुखसयलको खोजीका कारण गाउँ क्रमशः रित्तिदैं छन् गए भने ग्रामिण पर्यटनमा ठाडो असर पर्छ ।

अस्ताम स्थित यो घरमा वृद्ध दम्पति छन् । युवा कोहि देखिएनन्

ग्रामिण पर्यटनका लागि सरकारले नै स्पष्ट नीति निर्माण गर्न सकेको छैन । नेपालका ग्रामिण भेगमा बाटोघाटोको अभाव छ । सरकारले प्रभावकारी सुरक्षा व्यवस्था गरी दीर्घकालीन गुरुयोजनासहित अघि बढेमा ग्रामिण पर्यटनबाटै मुलुकको समृद्धि हुन्छ ।

[नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको डिजिटल जर्नालिज्म ट्रेनिङ वर्कशपमा तयार सामाग्री]
सहजकर्ताः उज्ज्वल आचार्य, विकास कार्की, रजनीश भण्डारी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ