सहिद हरिप्रसाद गुरुङको सम्झना

सहिद हरिप्रसाद गुरुङको सम्झना

hari psd gurung samjhana (1)

रञ्जन अधिकारी पोखरा, १२ बैशाख । सहिद हरिप्रसाद गुरुङको १०२ औं जन्मजयन्तीमा पोखरामा उनको सम्झना गरिएको छ। सहिद हरिप्रसाद गुरुङ स्मृति प्रतिष्ठानले सिम्पानी स्थित हरिचोकमा आयोजना गरेको कार्यक्रममा काँग्रेस नेता, कार्यकर्ता र शुभेच्छुकहरूले उनकोे शालिकमा माल्यार्पण गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरूले लोकतान्त्रिक आन्दोलनमा गुरुङले पु¥याएको योगदानको चर्चा गर्दै उनलाई राष्ट्रिय सहिदको मान्यता प्राप्तिपछि राज्यले सहिदलाई दिनुपर्ने सेवा सुविधा दिनुपर्ने बताए । वक्ताहरुले राज्यले सहिदलाई सम्मान गर्न नसकेको गुनासो गरेका थिए ।

२०१८ सालमा पञ्चायती शासन विरुद्वको आन्दोलनका क्रममा भरतपुरमा उनको जिउँदै गाडेर हत्या गरिएको थियो। राजा महेन्द्रले ०१७ सालमा ‘कू’ गर्दै नेपाली कांग्रेसको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लादेपछि त्यसको विरोधमा भरतपुरमा सशस्त्र आन्दोलन चर्कियो । काँग्रेसका प्रमुख नेताहरु कोहि जेल परे भने कोहि भारतमा निर्वासित थिए । नेताहरुको रिहाई र राजाको कु को विरुद्ध भरतपुरमा विशाल प्रदर्शन भएको थियो । काठमाण्डौबाट समेत सेना पुगेर अत्यधिक दमन भएको थियो भने आन्दोलनकारी कति मारिए, बेपत्ता पारिए लेखाजोखा नै थिएन । त्यसैबेला आन्दोलनको अग्रमोर्चामा उभिने हरिप्रसाद गुरुङले मृत्यु वरण गरे । उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत वर्ष मात्र सहिदको मान्यता प्रदान गरेको हो ।

प्रमुख अतिथि नेपाली कांग्रेसका नेता, पूर्व सभामुख तारानाथ रानाभाटले सहिद गुरुङले नेपाली राजनीतिमा दिएको योगदानको सरकारले कदर गर्नुपर्ने बताए । रानाभाटले देशमा दण्डहिनता बढेको बताए । उनले भष्ट्राचार, बलात्कारी खुलेआम हिँडिरहेको भन्दै राष्ट्रिय एकता भंग गर्न देशी तथा विदेशी तत्वहरु सक्रिया रहेकाले यसतर्फ सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य विन्दादेवि रानाले अर्थमन्त्रीको श्वेतपत्रले जनतालाई निराशा बनाउने कार्य गरेको बताए । उनले श्वेतपत्रले मुलुकको वास्ताविक वस्तुस्थितीलाई छलेको आरोप लगाउँदै सरकार निर्माण भएको ती महिना बित्दा समेत कुनै सुशासनको आभाष पाउन नसकेको जिकिर गरिन् । सांसद रानाले सहिदहरुले देखाएको बाटोलाई पार्टी र राज्यले अवलम्बन गर्न जोड दिईन् ।

कार्यक्रममा कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सहिदहरु कुनै पार्टी विशेष नहुने भन्दै देशका लागि योगदान दिने सहिदलाई राज्यले सम्मान गर्न सक्नुपर्ने बताए । उनले सहिदका मार्गनिर्देशन अवलम्बन गर्न नसके संघियता, लोकतन्त्र कमजोर हुने दाबी गरे । पूर्व सांसद शारदा पौडेलले सहिदको रगतलाई सम्मान गर्नुपर्ने बताईन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले लामो संघर्षपछि गुरुङलाई राज्यबाट सहिद मान्यता प्राप्त गर्न सफल भएको भन्दै उनको योगदानलाई भुल्न नहुने बताए । सो अवसरमा काँग्रेस नेताहरु शोभियतबहादुर अधिकारी, राजबहादुर गुरुङ, सरस्वति गुरुङ, हेमराज पौडेल, रामचन्द्र त्रिपाठी, पोषनाथ शर्मा, सिकन्दर गुरुङ भोजे, मनबहादुर बिक, विजय चञ्चला रेग्मी, गोविन्द लामिछाने, टंकनाथ नापित, खिम कुमारी गुरुङ, रामबहादुर गुरुङ, रामजी कोइराला, विजय गुरुङ, टंक पौडेल लगायतले बोलेका थिए ।

सहिद हरिप्रसाद गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष रुद्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टीकाबहादुर गुरुङले स्वागत र आशबहादुर गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ