पोखरामा कृष्ण सेन ‘इच्छुक’को सम्झना

पोखरामा कृष्ण सेन ‘इच्छुक’को सम्झना

20180527_123930

पोखरा । कास्कीका संचारकर्मीहरुले पत्रकार तथा सहित्यकार कृष्ण सेन इच्छुकलाई सम्झना गरेका छन् । २०५९ जेठ १३ गते प्रहरी हिरासतमा हत्या गरिएका पत्रकार, साहित्यकार ‘इच्छुक’को १६ औँ स्मृतिमा पत्रकारले पत्रकारितामा अझै सुरक्षा चुनौतीहरु विद्यमान रहेको बताए । सेनका हत्याराहरुलाई कानूनी कारवाही गरेमा मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने भनाई सहभागिले औँल्याए ।

नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले कम्युनिस्ट आदर्श र परिवर्तनका लागि बलिदान गर्नेहरुलाई कदर गरिने बताए । हालै बनेको नेकपाले परिवर्तन र समाजवादको नेतृत्व गर्ने उनको भनाइ छ । नेता गुरुङले भने, ‘हाम्रा लागि यो अवसर र चुनौती दुवै हो । सहिदका आदर्श विचलित हुन दिन्नौं ।’

लेखक सुरेश रानाभाटले इच्छुकको जीवन र उनले अंगीकार गरेको दर्शनमा एकरुपता भएको उल्लेख गरे । इच्छुकको विषयमा विश्वविद्यालयमा शोधपत्र लेखेका रानाभाटले इच्छुक खरो, स्पष्ट र प्रतिवद्ध स्वभाव स्वाभिमानी पत्रकार÷लेखकका लागि अनुकरणीय रहेको उल्लेख गरे । उनले भने, ‘इच्छुक हाम्रा लागि अनुकरणीय छन् ।’ क्रान्तिको अगुवाइ गर्नेहरु नै सक्तामा रहेकाले उनको हत्यामा संलग्नलाई दण्डित गर्न सरकारलाई रानाभाटले आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल र सचिव रामप्रसाद तिमिल्सिनाले पनि बोलेका थिए । साहित्यकार फडिन्द्र अधिकञ्चनले इच्छुकका सपना साकार गर्न नेतृत्वलाई कवितामार्फत् खबरदारी गरे ।

स्मृति दिवस संयोजन समितिका संयोजक सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार कृष्ण दवाडीले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ