पुर्ख्यौली पेशामा रमाउँदै ८१ वर्षीय बृद्ध

पुर्ख्यौली पेशामा रमाउँदै ८१ वर्षीय बृद्ध

narbahadur jpg1

अश्विन दानी, गोरखा । बिहान उठ्ने बित्तिकै आरनको छेउमा बसेर आज के बनाउने ? भन्ने सोचबाट शहिदलखन गाउँपालिका १ बक्राङका नरबहादुर विश्वकर्माको दिनचार्य सुरु हुन्छ ।

उनी बिहान आरनमा बसेपछि साँझ नहुँदासम्म आरानकै काममा रमाउने गर्छन् । काम गर्न सक्ने उमेरका भएदेखि आरानको काम गर्न थालेका उनी अहिले ८१ बर्षमा लागे ।  दुःख गर्न सकेसम्म त्यतीकै बस्न हुँदैन भन्ने सोच बोकेका उनी बुढेसकालमा पनि फलाम पिटेर त्यसलाई बिभिन्न आकारको औजारहरु बनाउँछन् ।

‘हात गोडा चल्दासम्म दुखै गरेर खानु पर्छ’ आरानमा आगो फुक्दै उनले भने ‘म अहिले भारी बोक्न सक्दिन । दिनभरी आरानकै काम गर्छु खासै गाहे लाग्दैन् ।’ उनले थपे –‘चिनेजानेको मान्छेहरु पनि आउँछन् । उनीहरुसँग बात मार्दै काम गर्दा दिन बितेको पत्तो हुँदैन । अनि, घर खर्च पनि जुट्छ ।’

बक्राङको दलित बस्तीमा घर भएका विश्वकर्माको परिबारमा छोरा, बुहारी र नाति सहित चार जना छन् । उनी फलामबाट कुटो, कोदालो, खुर्पा जस्ता बिभिन्न औजारहरु बनाएर बेच्ने गर्छन् । आफुसँग सिप भए जुनसुकै समयमा पनि पैसा कमाउन सकिने उनी बताउँछन् ।

‘पहिले त गाउँलेहरुले सबैसाल बाली दिने गर्थेँ’ निधारको पसिना पुछ्दै विश्वकर्माले भने ‘गाउँमा अरुले पनि आरान राखेपछि कसैले पैसा दिन थाले । अहिले गाउँका लगभग २५ घरधुरीले मात्रै बाली दिन्छन् ।’ मलाई राम्ररी हिसाव गर्न आउँदैन, उनले थपे ‘आजभोली बाली उठाउँदा बर्षभरी लगाएको काम हेरेर कसैले दुई÷तीन पाथी धान र मकै दिन्छन् भने कसैले अलि बढि नै !’ पैसा दिनेले काम अनुसार डेढ सयदेखि माथि नै दिने गरेको उनको भनाई छ ।

खरले छाएको सानो झुप्रो मुनी रहेको विश्वकर्माको आरानमा प्रयोग हुने सबै औजारहरु सबै पुरानै छन् । उनी बुढो शरीरले घन उचाल्दै फलामलाई कुटेर बिभिन्न औजार बनाउँछन् ।

‘यो आरान सारै पुरानो भयो’ बोलीरहेको कोइलामा फलाम तताउँदै उनले भने ‘नयाँ आरन बनाउने रहर छ तर पुग्नी पैसा छैन । अहिले त बजारमै कोइला पनि किन्न पाइन्छ भन्ने सुनेको थिएँ हो र ?’ आफ्नो छोरा नातिले आरानको काम गर्न छाडेकाले भन्दै पुर्खेयौली पेसा लोप हुनसक्ने भन्दै उनले चिन्ता ब्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ