तनहुँ । १४० मेगावाट क्षमताको तनहुँ हाइड्रोपावर लिमिटेडले तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरेको छ । हाइड्रोले मेलम्ची खानेपानी आयोजनाको सुरुङ र कुलेखानी तेस्रो तथा तामाकोसी आयोजनामा निर्माणको काम गर्ने कम्पनीहरु छानिएका छन् ।
आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वर्क्स) निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको छ । यो कम्पनी अहिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको कम्पनी हो । कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता हुनेछ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ ।
यो कम्पनी कुलेखानी तेस्रो र तामाकोसी जलविद्युत आयोजनाको सिभिल निर्माण गरेको कम्पनी हो । यो कम्पनी माथिल्लो मर्स्याङ्दी-ए जलविद्युत आयोजनाको प्रवर्द्धक पनि हो । यो कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर तथा रु ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिबृद्धि करबाहेक)मा खरिद सम्झौता हुने छ । तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ ।
दुवै कम्पनीले ८ साउनमा पत्र बुझिसकेका छन् । पत्र बुझेको २८ दिनभित्र कम्पनीहरुले कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउनु पर्ने तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध-सञ्चालक प्रदिप कुमार थिकेले बताए । ‘खरिद सम्झौता भएको दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ,’उनले भने । तनहुँ हाइड्रोपावर लिमिटेडले १९ माघ २०७३मा पहिलो र दोस्रो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका कम्पनीहरुलाई बोलपत्र प्रस्ताव पेश गर्न आहृान गरेको थियो ।
पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आहृान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद-बिक्री सम्झौता सम्पन्न भइसकेको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ ।
यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक -ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’