पोखरा मल्टिमोडलमा एशियाड रजत विजेता गौतमलाई सम्मान तथा दर खाने दिन बृद्धाश्रममा सहयोग

पोखरा मल्टिमोडलमा एशियाड रजत विजेता गौतमलाई सम्मान तथा दर खाने दिन बृद्धाश्रममा सहयोग

PMC samman (2)

पोखरा, २६ भदौ पोखरा सिर्जनाचोक स्थित पोखरा मल्टिमोडल क्याम्पसले हालै एशियाडमा रजत पदक जित्न सफल आफ्ना पूर्व विद्यार्थी विजय गौतमलाई बधाई तथा सम्मानका साथै बृद्धाश्रममा सहयोग प्रदान गरेको छ ।

ईण्डोनेसियाको जाकार्तामा भएको प्याराग्लाइडिङ खेल अन्तर्गत मेन क्रस कन्ट्री स्पर्धामा नेपाली टोलीका महत्वपूर्ण सदस्य गौतमको प्रदर्शनले क्याम्पसको गरिमा बढेको महसुस गर्दै सम्मानपत्र र दोसल्लाले सोमबार एक कार्यक्रमबीच सम्मान गरेको हो ।

क्याम्पसका अध्यक्ष लिलाधर बरालले नेपाली टोलीको उच्च प्रदर्शनले २० वर्षदेखि खडेरी लागेको पदक हात पारेको भन्दै यसले मुलुककै शिर उँचो भएको बताए । नेपालले एशियाली खेलकुदमा रजत पदक २० वर्षपछि प्राप्त गरेको हो भने समूह खेलमा यो नै पहिलो पदक पनि हो ।

क्याम्पस प्रबन्ध सञ्चालक राजकुमार गिरीले विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल बनेको उदाहरण प्रस्तुत गर्दै पूर्व विद्यार्थी गौतम सहितको टीमले आफू, परिवार, क्याम्पस, पोखरासँगै देशकै नाम राखेको उल्लेख गरे ।

क्याम्पस प्रमुख कृष्ण बहादुर केसीले प्याराग्लाइडिङले पदक जितेपछि मात्र यो पनि खेल हो भन्ने चिनिएको उल्लेख गर्दै गौतमको खेलप्रदर्शनसँगै प्राप्त उपलब्धिले क्याम्पसले गर्व महुसस गरेको बताए ।

सम्मानित व्यक्तित्व गौतमले सबैको साथ सहयोगले नै आज यो उपलब्धि हाँसिल भएको जनाउँदै क्याम्पस जीवनको स्मरण गरे । दिवा कार्यक्रम संयोजक बाबुराम लामिछाने लगायतले सो अवसरमा बोलेका थिए ।

यसैबीच, पोखरा मल्टिमोडल क्याम्पसले हरितालिका तीजको अवसरमा दर खाने दिन पारी बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई फलफूल वितरण र नगद हस्तान्तरण गरेको छ । पोखरा १८ स्थित बाच्छावुडुवामा रहेको वास्त्यायन बृद्घाश्रममा विद्यार्थीसहित पुगेर क्याम्पस प्रशासनले त्यहाँका ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरेको हो ।

यस्तै, आश्रम निर्माणार्थ नगद १५ हजार व्यवस्थापन समितिलाई हस्तान्तरण समेत गरियो । वृद्धाश्रमका युवराज वाग्ले र उद्धबहादुर कार्कीलाई क्याम्पस अध्यक्ष लिलाधर बराल, प्रबन्ध सञ्चालक राजकुमार गिरी, क्याम्पस प्रमुख कृष्ण बहादुर के.सी, संयोजक बाबुराम लामिछाने, विद्यार्थीहरुले फलफुल तथा नगद हस्तान्तरण गरे ।

पछिल्लो समय क्याम्पसले नियमित रुपमा विद्यार्थीहरुका लागि नेतृत्व तथा व्यक्तित्व विकास अभिमुखीकरणका साथै सामाजिक कार्यहरुमा संलग्न गराउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds