नेकपा गण्डकीको पहिलो बैठक सम्पन्न (यस्तो छ निर्णय)

नेकपा गण्डकीको पहिलो बैठक सम्पन्न (यस्तो छ निर्णय)

nekapa

पोखरा ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला र स्थानीय तहको संयन्त्र कस्तो हुने विषयलाई टुंग्याएको छ । बुधबार नेकपा गण्डकीको पहिलो बैठक बसी यसबारे टुंगो लगाएको बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । अब जिल्ला, महानगरपालिका, नगरपालिका र गाउँपालिकामा १० सदस्यीय पार्टी संयन्त्र गठन भएको छ ।
जिल्ला तहमा हुने संयन्त्रमा पूर्व एमाले र पूर्व माओवादी केन्द्रका पाँच–पाँच जना रहनेछन् । त्यसका लागि पनि अहिले पार्टीको नेतृत्वमा रहेकाहरु पर्ने निर्णय भएको छ । ‘जिल्ला, महानगर, नगर र गाउँपालिकामा तत्काललाई नियमित पार्टीको काम सञ्चालन तथा संयोजन गर्न संयन्त्र गठन गर्ने निर्णय गरियो’ सचिब गोबिन्द नेपालीले भने ‘जिल्ला संयन्त्रमा तत्कालीन नेकपा एमालेबाट हाल रहेका जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव छन् हुनेछन् । त्यस्तै तत्कालीन माओवादी केन्द्रबाट इन्चार्ज, सहइन्चार्ज र संयोजक सहित ५ जना गरी १० सदस्यीय संयन्त्र बन्नेछ ।’
महानगरमा भने जिल्ला तहमा भएको भागबण्डाकै आधारमा १० सदस्यीय संयन्त्र बन्नेछ । नगरपालिकामा ८ र गाउँपालिकामा ६ सदस्यीय संयन्त्र गठन गरिएका छन् । उक्त संयत्रन्त्रहरुले पार्टीको विधान, नियमावली र पार्टीको थप निर्देशनलाई आधार मानी महानगर, नगर र गाउँपालिकाको पार्टी एकीकरणका लागि प्रदेश कमिटीलाई सुझाव पेश गर्नेछ ।
उक्त कार्यक्रममा नेकपाका गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले केन्द्रका केही नेताहरुको अभिब्यक्तिले समग्र पार्टीको प्रतिष्ठामा नै असर पुगेको धारणा राखे । माधव कुमार नेपालको अभिब्यक्तिलाई लक्षित गर्दै गुरुङले भने ‘बरिष्ठ नेताको अभिब्यक्तिले पार्टीको प्रतिष्ठामा गम्भीर असर परेको छ,’ उनले भने ‘उहाँले पहिलेको एमालेको विधान हेरेर बोल्नुभएको छ । नेकपाको नयाँ विधान हेरेर परिमार्जित हुनुपर्छ । अहिले जे भइरहेको छ नयाँ विधान अनुरुप नै भएको छ ।’
नेकपाका गण्डकी सहइन्चार्ज तथा केन्द्रीय सदस्य खगराज अधिकारीले नेकपाको एकिकरणले केन्द्र देखि प्रदेश, जिल्ला, महानगर, नगर र गाउँस्तरमै पुग्ने बताए । उनले पार्टी एकिकरणको प्रक्रिया टुंगिने प्रक्रियामा रहेको समेत बताए ।
असोज २७ गते भित्रै जिल्ला संयन्त्रको बैठक बसिसक्ने अध्यक्ष हितराज पाण्डेले बताए ।
तल्ला कमिटीका लागि आवश्यक प्रश्ताव यसअघिकै कार्यदलले पठाईसकेको छ । अहिले गठन भएको संयन्त्रले नै काम अघि बढाउने अध्यक्ष पाण्डेको भनाई छ । ‘पार्टी एकीकरणको लागि भन्दा पनि काम नै अगाडी बढाउनका लागि संयन्त्र गठन गरिएको हो’ उनले भने ‘यही संयन्त्र अनुसार तल्ला तहमा अब काम सुरु हुन्छ कमिटी गठन चाहीँ कार्यदलले यसअघि नै पठाएको सुझावका आधारमा केन्द्रिय कमिटीले गर्नेछ ।’
त्यस्तै नेकपाको प्रदेश कमिटिले असोज १९ गते शुक्रबार गण्डकी प्रदेश भित्रका नेकपाका केन्द्रीय सदस्यहरुको भेला आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ