दशैंमा पोखरालाई ५० करोडको मासु, भारतबाट खसी, चीनबाट च्याङ्ग्रा

दशैंमा पोखरालाई ५० करोडको मासु, भारतबाट खसी, चीनबाट च्याङ्ग्रा

g2

पोखरा । पोखरामा यसबर्षको दशैंलाई मासुको जोहो ब्यापारिले गरिसकेका छन् । दशैंमा विशेषगरि खसिबोका र भेडाच्याङग्रा बढी काटिन्छन् । यसबर्षको दशैंलाई पोखरामा मात्रै १० हजार हाराहारीमा भेडाच्याङग्रा र ८ हजारजति खसीबोका ल्याउने तयारी छ । चीन, मुस्ताङ, मुगु र डोल्पादेखि १९ हजारजति च्याङग्रा ब्यापारीले पोखरा ल्याएका छन् । च्याङग्रा ब्यापारी रमेश खड्कीका अनुसार पोखरा झरेका अधिकांश च्याङग्रा काठमाण्डौं लैजाने तयारी छ । ‘खासातिरबाट यसपालि च्याङग्रा आएको छैन । काठमाण्डौंका अधिकांश ब्यापारी पनि यतै छन्, उनले भने–मुस्ताङको च्याङग्राको माग अहिले निकै बढेको छ । धेरैजसो च्याङग्रा काठमाण्डौं जान्छ ।’

१० हजारजति च्याङग्रा काठमाण्डौं लैजाने उनको भनाई छ । यसबाहेक नारायणगढ, बुटवल लगायतका शहरमा पनि निर्यात हुन्छन् । अहिले च्याङग्राको मूल्य २८ देखि ३२ हजार रुपैयाँसम्म पर्छ । दशैंमा अत्यधिक खोजि हुने हिमाली क्षेत्रका च्याङग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँछन् । ‘अचेल दशैंमा च्याङग्रा किन्ने संस्कार बढी छ । बर्षभरिमा एकपटक मात्रै आउने भएकोले पनि मान्छेहरु हुरुक्कै हुन्छन्, खड्कीले भने–हिमाली जडिबुटी खाएर हुर्केका भेडाच्याङग्रा स्वादिलो र स्वास्थ्यलाई पनि फाईदाजनक हुन्छ । एकपटक दुखै गरेर भएपनि च्याङग्रा किनौं भन्ने मान्छेहरु छन् ।’

पोखरामा दशैंभरि मात्रै २७ करोड रुपैयाँ हाराहारीमा च्याङग्राको मासु विक्रि हुन्छ भने १६ करोड जति खसिबोकाको मासु विक्रि हुन्छ । यसबाहेक कुखुरा पनि झण्डै साढे ७ करोडको कारोबार हुन्छ । दशैंभरीमा ५० करोड रुपैयाँको खसीबोका, च्याङग्रा र कुखुराको मासु खपत हुने अनुमान गरिएको छ । खसीको तयारी मासु प्रतिकिलो ९ सय ८० रुपैयाँ पर्छ भने कुखुराको ३ सय रुपैयाँ प्रतिकिलो पर्छ । दशैंमा खसी च्याङग्रा बढी विक्रि भएपनि कुखुरा खानेहरु नघट्ने पोल्ट्री ब्यवसायी मञ्च कास्कीका अध्यक्ष निर्मल खत्रीले बताए ।

‘पहिले ब्रोइलर भनेपछि नाक थुन्ने चलन थियो । अहिले नभै नहुने भैसक्यो । केटाकेटीको रोजाईमा बढी पर्छ, उनले भने–दशैंमा खसी बोका किनेका घरमा पनि दिनहुँ ब्रोइलरको मासु खपत हुन्छ । तर अरु समयमा भन्दा बिक्रि चाहीँ केही कम हुन्छ ।’ उनका अनुसार दशैंमा १ लाख ८० कुखुरा विक्रि हुने अनुमान छ । यसबाहेक राँगा भैसी, बँगुर लगायत अन्य जीवजन्तुका मासु पनि विक्रि हुन्छन् । यसको ठ्याक्कै तथ्यांक पाउन मुश्किल छ ।

बार्षिक डेढ अर्व भन्दा बढीको खसीबोका र च्याङग्रा विक्रि हुने पोखरामा ४ अर्वजति कुखुराको मासु विक्रि हुन्छ । बर्षमा झण्डै १ लाख हाराहारी खसीबोका र २५ हजार जति भेडा च्याङग्रा बेचिन्छन् भने ६६ लाख कुखुरा विक्रि हुन्छ । पोखरामा खपत हुनेमध्ये १५ प्रतिशत जति खसीबोका भारतबाट आयात हुने पोखरा खसीबोका ब्यवसायी समितिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । यसअघि ३० प्रतिशत जति खसीबोका भारतबाट आयात हुन्थ्यो । भन्सार मुल्य र खसीबोकाकै मुल्य पनि बढ्न थालेपछि अहिले नेपाली उत्पादनमा बढी जोड दिएको उनले बताए ।

‘भारतबाट आउने खसीबोकाको मुल्य नै बढी भैसक्यो । त्यसमाथी भन्सार पनि ५ सय रुपैयाँ बढ्यो, उनले भने–नेपाली उत्पादनलाई प्राथमिकता दिऔं भनेर आयात घटाएका छौं । अहिले अधिकाशंले नेपालकै खसीबोका किन्न पाउँछन् ।’ तर भारतीय खसीबोकाको आयात ठप्पै हुने अवस्था भने छैन । ‘पोखरा आसपासबाट खसीबोका खासै आउँदैनन् । कास्की, पर्वत, स्याङजा तिरका किसानले खसीबोका पाल्न छोडिसके, ब्यापारीहरु भन्छन्–भारतको माल नझारे सुखै छैन । तर जतिसक्दो कम गर्ने प्रयास भैरहेको छ ।’ दिनहूँको बसाईसराई र मासु खाने संस्कारका कारण खपत पनि बढ्दै गैरहेको उनीहरुको अनुभव छ । पोखरामा भारत सहित पश्चिम नेपालका दाङ, सुर्खेत, गुलरिया, बर्दिया, धनगडी, नेपालगञ्ज लगाएतका जिल्लाबाट खसीबोका आयात भैरहेको छ ।

छनौटमा ध्यान दिनुस्

चाडबाडको मौका छोपेर ब्यवसायीहरुले रोगी पशुबस्तु पनि विक्रि गर्न सक्छन् । उपभोक्ताले खरिद गर्दा स्वास्थ्य जाँच गरिएका खसीबोका र भेडाच्याङग्रा मात्रै छान्नुपर्छ । आँखा चम्किलो भएको र टाठो चौपाया मात्रै खरिद गर्न पशु चिकित्सकहरुको सुझाव छ । नाक र मुखबाट सिगान र ¥याल बगेको, पातलो दिसा गरी शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमणबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, लरखराउने, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा वा रातो आँखा, छिनछिनमै दिसा गर्ने, खुट्टाले भुईं कोट्टयाउने, घरिघरि आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षण भएका खसीबोका तथा च्याङग्राहरु खरिद गर्न नहुने पशु प्राविधिक सुरेशकुमार श्रेष्ठले बताए ।

‘कसैले सस्तो पनि दिन खोज्छन् । त्यस्ता पशुहरुमा बढी ध्यान दिनुपर्छ । जोखेर लिदाँ ठगिनबाट जोगिन सकिन्छ, उनले भने–नाका नाकामा चिकित्सकहरुले जाँचेर प्रमाणपत्र सहित पठाएका छन् । सबैकुरा हेरेर मात्रै खरिद गर्नुपर्छ ।’ नयाँ संरचनाका कारण पोखरामा अनुगमनमा अलि समस्या देखिएको उनले बताए । यसअघि जिल्ला पशु सेवा कार्यालयले अनुगमन र आवश्यक उपचार गर्दै आएकोमा यसपालि कर्मचारी अभाव र कार्यालय समेत परिवर्तन भएकोले समस्या देखिएको छ ।

प्रकाश ढकाल/डिएनए नेपाल

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds