पोखरा । दिनहूँ छाडा चौपाया बढ्न थालेपछि यसको ब्यवस्थापन पोखरा महानगरपालिकाका लागि टाउको दुखाई बन्न थालेको छ । अनियन्त्रित रुपमा चौपाया सडकमा छोड्ने प्रचलनले ब्यवस्थापन नै चुनौतिपूर्ण बन्दै गएको हो । पटक पटक ब्यवस्थापनका योजना आएपनि पूर्ण कार्यान्वयन हुन नसक्दा अहिले पोखराका सबैजसो चोक र सडकहरुमा छाडा चौपायाको त्रास छ ।
महानगरपालिका आँफैलाई काम गर्न समस्या भएपछि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी छ । ब्यक्ति विशेष वा संघसंस्था र सहकारीलाई ब्यवस्थापनको जिम्मा दिने गरि कार्यविधि तयार भैरहेको महानगरले जनाएको छ ।
यसका लागि पोखरा १७ मा ठाउँको ब्यवस्थापन गर्न कार्यपालिका बैठकबाटै एउटा विशेष समिति गठन भएको छ । १७ नम्बर वडाका वडाध्यक्ष तीर्थ अधिकारीको नेतृत्वमा व्यवस्थापन गर्ने उपयुक्त ठाँउको अध्ययन टोली गठन गरिएको हो । टोलीले महानगरपालिका क्षेत्रभित्र उपयुक्त स्थान पहिचान गर्न स्थलगत अध्ययन गरिरहेको छ । वडाध्यक्ष अधिकारीका अनुसार पोखरा महानगरपालिका १७ महतगौंडा, वडा नम्बर १५ मा, वडा नम्बर ३२ र वडा नम्बर २५ हेमजामाा जग्गा हेरिएको छ ।
‘सबैभन्दा राम्रो ठाउँ हेमजामा भेटिएको छ, वडाध्यक्ष अधिकारी भन्छन्–फाईनल भने भएको छैन । अझै केही चरणमा अध्ययन र छलफल गरेपछि टुंगो लाग्छ ।’ उनका अनुसार हेमजामा झण्डै १ सय ५० रोपनी क्षेत्रफलको सेती नदी किनारको मानवबस्ती नभएको जग्गा उपयुक्त देखिएको छ ।
उनले हेमजाका वडाध्यक्षसँग समेत आवश्यक छलफल भएको भन्दै त्यहाँ भए महानगरपालिकाले कार्यविधि बनाई अगाडि बढ्न सक्ने बताए ।
‘केही सहकारीहरुले चासो दिएका छन् । ठाउँ टुंगिएपछि ईच्छुकहरुको प्रश्तावना मागेर अगाडी बढ्छौं, मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना भन्छन्–महानगर कार्यविधिको तयारीमा जुटेको छ । यसलाई दीर्घकालीन रुपमा नै ब्यवस्थापन गर्ने हो ।’ नगर क्षेत्रभित्र छोडिएका छाडा चौपायाले बजारका मुख्य सडक अस्तव्यस्त बन्दै गएको छ । सडकमै पशुहरु बस्दा दुर्घटनाको जोखिम उत्तिकै छ । पोखरामा झण्डै २ हजारको संख्यामा छाडा चौपाया रहेको अनुमान गरिएको छ ।
स्याङजा र तनहुँको शुक्ला गण्डकी नगरपालिकाबाट खेदिएका चौपाया समेत पोखरा आउने गरेका महानगरपालिका बताउँछ । महानगरपालिकाले मृत चौपाया, दोपाया व्यवस्थापनको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट विनियोजन गरेपनि कार्यविधिसहितको व्यवस्थापन नहुदाँ वर्षेनी समस्या विकराल बन्दै गएको हो ।
गत वर्ष महानगरपालिकाले पोखरा २० थानापति दुग्ध उत्पादक सहकारीसँग सम्झौता गरेर ब्यवस्थापनको जिम्मा दिएको थियो । तर दीर्घकालीन ब्यवस्थापन हुन सकेन । सम्झौता अनुसार महानगरपालिकाले सहकारीलाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । सडक निर्माण लगायत अन्य पुर्वधारको लागि महानगरपालिकाले ६० लाख भन्दा बढी खर्च गरिसकेको जनाएको छ । तर स्थानीयको निरन्तर विरोध पछि त्यस ठाउँमा पनि चौपाया पठाउन छोडिएको छ ।
सम्बन्धित खबर
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
स्याङ्जा महोत्सवमा मम्मी डान्सदेखि लोक भजन चुड्का प्रतियोगिता
आठौं बिरुवा अध्यक्ष कप आजबाट सुरु
मादी गाउँपालिकामा सोँथर बेँसी टारी बजार मेला सुरु, गोरु जुधाइँ प्रतियोगितामा पदमबहादुरको गोरु प्रथम
कोटिहोम आयोजनामा अवरोध नगर्न पोखरा महानगरलाई उच्च अदालतको आदेश
नियन्त्रित लागूऔषधसहित शिवजी पक्राउ
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति