पर्वत, ११ कार्तिक । महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
गाउँपालिकाभित्रका वडाहरूमा बाँदरले कृषकको बाली खाइदिने तथा नष्ट गर्ने समस्याबाट पीडित भएपछि अभियान सञ्चालन भएको थियो । बाँदर नियन्त्रण अभियान सफल भएपछि कृषक तथा सर्वसाधारण खुसी भएका छन् । गाउँपालिकाका एक हजार सात सय ८२ मध्ये एक हजार घरधुरीका बासिन्दा बाँदरबाट पीडित भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए ।
अभियान सञ्चालन भएपछि कृषकहरूलाई ठूलो राहत मिलेको महाशीलाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । अघिल्लो वर्षसम्म बाँदर आतंकको गुनासो गर्दै आउने कृषकहरू पनि अहिले खुसीका साथ अन्य सेवाका लागि वडा र गाउँपालिकामा धाउने गरेको उनले बताए । ‘पहिला–पहिला गाउँपालिका र वडाहरूमा केही काम लिएर कृषकहरू आउँदा पनि पहिलो गुनासो बाँदर आतंककै हुन्थ्यो,’ उनले भने, ‘अहिले भने अभियानप्रति सन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।
महाशीला गाउँपालिकाले बाँदर समात्नका लागि भारतबाट पाँचजनाको टोली ल्याएको छ । एउटा बाँदर समातेको दुई हजार रुपैयाँ दिने गरी सम्झौता गरेको कार्यकारी अधिकृत किसन क्षेत्रीले बताए ।
तीन सय बाँदर खोरमा
गाउँपालिकाले ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन’ शीर्षकमा चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेरै अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले वन्यजन्तुविज्ञसँग समन्वय गरी बाँदरलाई नियन्त्रण गर्दै आएको छ । अहिले बाँदर नियन्त्रण गरी राख्नका लागि निर्माण गरिएको खोरमा करिब तीन सय बाँदर संकलन गरिएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताए ।
बजेट बनाउनुअघि वडामा भएका छलफल कार्यक्रममा कृषकहरूले बाँदरबाट पीडित भएको गुनासो गर्दै बाँदर नियन्त्रण अभियान सञ्चालन गर्न माग गरेपछि गाउँपालिकाले अभियान सञ्चालन गरेको थियो । ‘सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लागि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेस गरेका थिए,’ अध्यक्ष पौडेलले भने, ‘गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्ताव शतप्रतिशतले पारित गरी सो अभियान अघि बढेको हो ।’ अभियानले सार्थकता पाएको पौडेलले बताए ।
नियन्त्रित बाँदर निकुञ्ज पठाउने
गाउँपालिकाले नियन्त्रणमा लिएर खोरमा राखिएका बाँदरलाई निकुञ्जमा पठाउने तयारी गरेको छ । खोरमा राखेका बाँदरलाई धेरै अन्न खुवाउनुपर्ने अवस्था आएपछि गाउँपालिकालाई समस्या परेको छ । गाउँपालिकाले विनियोजित बजेटबाट बाँदरका लागि अन्न खरिद गरेर खुवाउने गरेको छ । अध्यक्ष पौडेलले ६ सय बाँदर नियन्त्रणमा लिएपछि निकुञ्जमा पु(याउने बताए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा