पोखरा महानगरभित्रका साना गल्लीमा मात्रै होइन मुख्य सडकमै बग्रेल्ती छाडा चौपाया देखिन्छन् । विभिन्न समयमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा त्यसबारे बहस र चर्चा भइरहन्छ ।
महानगर भनिरहन्छ, ‘काम हुँदैछ । योजना र कानुन बनिसकेको छ । अब छाडा पशु चौपाया व्यवस्थापन हुन्छन् ।’ तर समस्या उस्तै छ । न छाडा चौपाया व्यवस्थित हुन सके न महानगरले कुनै निश्चित ठाउँ नै तोक्यो । महानगरले छाडा पशु चौपाया व्यवस्थापन गर्न लाखौं लगानी गरिसकेको छ । समाधान दैनिकका लागि विकास रोका मगरले न्युज लेखेका छन् ।
‘महानगरले पशु चौपाया व्यवस्थापन गर्न पोखरा २०, भलाममा रहेको स्थानापति दुग्ध सहकारी संस्थासँग सम्झौता गर्दा सबैभन्दा बढी खर्च भएको देखिन्छ,’ महानगरका एक कर्मचारी भन्छन्, ‘त्यतिबेला महानगरले सहकारीको मर्मतसम्भार गर्ने मात्रै होइन त्यहाँसम्म पुग्न बाटो पनि बनाइदिएको थियो ।’ सहकारीसँग भएको सम्झौता अनुसार त्यहाँ ५ सयवटा छाडा चौपाया राख्ने सहमति भए पनि ३ सय ५० वटा गाई पनि राखिएको थियो ।
गत साउन महिनामा महानगरले छाडा चौपाया व्यवस्थापन गर्न भलामको सहकारीलाई जिम्मा दिएको थियो । यसका लागि सहकारीलाई मासिक ५० हजार दिने सहमति भए अनुसार १ वर्षका लागि ६ लाख रुपैयाँ बुझाएको थियो । सहकारीसम्म पुग्न महानगरले नै २७ लाख रुपैयाँ बाटो मर्मत गर्न खर्च गरेको थियो ।
‘सहकारी वरिपरि चौपाया व्यवस्थापन गर्न महानगरले ९ लाख रुपैयाँको मात्रै तारबारमा खर्च गरेको थियो,’ ती कर्मचारीले भने । तर, स्थानीयकै विरोधका कारण महानगरको उक्त योजना असफल भयो ।
मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना सकेसम्म व्यवस्थापन गर्न लागिपरेको बताउँछन् । ‘दिनहुँ सडकमा छाडा चौपाया आउँछन् । घाइते भए या बिरामी भए भने महानगरमा फोन गरेर उपचार गर भन्छन् । यसले पनि व्यवस्थापनमा समस्या भइहरहेको छ,’ उनले भने ।
गत फागुनमा सडकका छाडा चौपायालाई समाउन महानगरले पशु ट्यागिङ योजना ल्याएको थियो । उक्त योजना अनुसार पशुहरुलाई ट्यागिङ गरी पशुधानीसम्म पुग्नु थियो । तर त्यो पनि प्रभावकारी हुन सकेको छैन ।
एक महिनाअघि मात्रै महानगरले सडकका छाडा पशु चौपाया व्यवस्थापन गर्न पोखरा १७ मा रहेको कोलुमन्ती पश्चिम फुस्रे खोलाको उत्तरपट्टि क्षेत्रलाई ‘उपयुक्त स्थान’ चुनेको थियो । त्यहाँको खाली जग्गालाई छाडा चौपाया व्यवस्थापन गर्ने थलोका रुपमा हेरिएको थियो । तर हाल आएर उक्त ठाउँ पनि ‘अनुपयुक्त क्षेत्र’ ठानिएको छ ।
‘फुस्रे खोला किनार क्षेत्र पशुहरुका लागि अनुपयुक्त भएको पशु विज्ञले भनेपछि पछि महानगरले योजना परिवर्तन गर्नुपरेको छ,’ पोखरा–१७ का वडाध्यक्ष तथा छाडा पशु चौपाया व्यवस्थापन समितिका संयोजक तीर्थराज अधिकारीले भने । महानगरले पशु व्यवस्थापन गर्न पोखरा २५ हेमजालाई चुनेको उनले जानकारी दिए ।
महानगरले हेमजाको रुद्र महादेव गुठी संस्थासँग सहकार्य गरेर सडकका छाडा पशु चौपाया व्यवस्थापन गर्न लागेको संयोजक अधिकारी बताउँछन् । ‘संस्था र त्यहाँका वडाध्यक्षसँग पनि कुरा भइसकेको छ । १-२ दिनमा फेरि छलफल गरेर सम्झौता गर्छौंै,’ उनले भने । संस्थामा रहेको जग्गा आफूहरुले हेरिसकेको र केही दिनमै विषय टुंगो लाग्ने उनले सुनाए ।
संस्थानसँग पशु व्यवस्थानबारे सम्झौता भइसकेपछि खर्चको सर्भे गर्ने त्यसैबाट खर्च गर्ने संयोजक अधिकारीले जानकारी दिए । ‘पशु चौपायालाई राख्ने, छेकबार गर्ने लगायत खर्च हुन्छ,’ उनले भने, ‘यसपालि त्यति ठूलो खर्च हुने देखिँदैन ।’ संस्थाले पशु चौपायाको जिम्मा लिइसकेपछि सम्झौता अनुसार काम प्रक्रिया अघि बढ्ने उनले बताए ।
सम्बन्धित खबर
सरकारी तथा गैरसरकारी कार्यालयका कागजात कीर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
काठमाडौँबाट माइक्रो बस चोरी गरेको आरोपमा स्याङ्जाका युवक पक्राउ
शनिबार पोखरा रंगशालामा निःशुल्क आँखा शिविर हुँदै
अनेरास्ववियु स्थापना दिवसको अवसरमा वक्तृत्वकला, मोनिका प्रथम
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
रोजगारमैत्री प्रदेश निर्माणका लागि गण्डकी र बागमतीबीच अनुभव आदानप्रदान
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु