पोखरा- गण्डकी प्रदेशले आफ्नो प्रदेशअन्तर्गतको मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न तीन जिल्लाका तीन अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’का रूपमा विकसित गर्ने भएको छ।
स्वास्थ्य संस्थामा दमौली अस्पताल, तनहुँ, प्राथमिक स्वास्थ्य केन्द्र, वालिङ स्याङ्जा र तिलार स्वास्थ्य केन्द्र, डिमुवा, पर्वत रहेका छन्। ती स्वास्थ्य संस्थालाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा हरेक अस्पताललाई ५०/५० लाख रुपैयाँका दरले १ करोड ५० लाख रुपैयाँ रकम विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले जानकारी दिए।
अस्पतालले अत्याधुनिक एम्बुलेन्स पनि सञ्चालन गर्नेछन्। सूचना अधिकृत शर्माका अनुसार सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न एम्बुलेन्सभित्र अनिवार्य एमबिबिएस उत्तीर्ण चिकित्सक, नर्स तथा एक जना स्वास्थ्यर्मी औषधि तथा आवश्यक उपकरणसमेतकाे व्यवस्था गरिनेछ। ती एम्बुलेन्समा ‘जिपिएस’ प्रविधि जडान हुने उनले बताए।
विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार नेपालमा सडक दुर्घटनामा परी अकालमा मृत्यु हुनेमध्ये आधाभन्दा बढी सङ्ख्या घटनास्थलबाट उपचार गर्न स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमा नै मृत्यु हुने गर्दछ। नेपालमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ।
अस्पताललाई हाइवे ट्रमा अस्पताल सञ्चालन गर्न मन्त्रालयले प्रस्ताव आह्वानसमेत गरिसेकेको छ। ‘गण्डकी प्रदेशलाई सडक दुर्घटनाबाट मृत्युविहीन बनाउने अभियानअन्तर्गत पहिलो चरणमा तीन जिल्ला अस्पताललाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न लागिएको हो’, सूचना अधिकृत शर्माले भने।
उसो त गण्डकी प्रदेश पूर्णखोप प्रदेशका रूपमा घोषणा भइसकेको छ।
विशेषगरी यस प्रदेशमा वर्षेनी कतिजना सडक दुर्घटनामा परी मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क कुनै निकायसित छैन। यसैगरी सामाजिक विकास मन्त्रालयको आर्थिक एवम् प्राविधिक सहयोगमा धौलागिरि अञ्चल अस्पताल बागलुङमा अक्सिजन प्लान्ट स्थापना भएको छ।
विसं २०१६ मा स्थापना भएको सो अस्पताल ५० श्ययाको रहेको छ। सामाजिक विकास मन्त्रालयको ७० लाख रुपैयाँको अनुदानमा अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको सूचना अधिकृत शर्माले बताए। सो अस्पतालमा गत वर्ष ३० हजार बिरामीले सेवा लिएका थिए। गत वर्ष अस्पतालमा बालमृत्यु तथा मातृमृत्यु शून्य भएको थियो। रासस
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ