गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ शुक्रबार तनहुँ देवघाट गाउँपालिकाको छरछरेमा भएको सांस्कृतिक उत्सवसहितको पर्यटन मेला उद्घाटन गर्न पुगेका थिए । पोखराबाट पत्रकार अमृत सुवेदी पनि सँगै थिए । पिकनिकमा मन्त्री ! भन्दै सामाजिक सञ्जालमा विरोध पनि भइरहेका छन् । तर भित्री कथा यस्तो छ । समाधान दैनिकमा प्रकाशित सुवेदीको डायरी पढ्न यहाँ क्लिक गर्नुहोस् : रिपाेर्टर डायरीः मन्त्रीको अघिपछि कार्यकर्ताको लाजमर्दाे चाकडी
केही अंश:
मेला उद्घाटनसँगै निर्माणाधीन शालिग्राम करिडोर निरीक्षण गर्ने मन्त्री गुरुङको कार्यक्रम थियो । उनी त्यहाँ पनि गए । छरछरे झरनामा क्यानोनिङको परीक्षण गराउन मन्त्री गुरुङ आफैले गाइड लिएर गएका थिए । स्थानीयको उत्साह भर्दै क्यानोनिङको सफल परीक्षण भयो । स्थानीय उत्साहित भए । औपचारिक कार्यक्रम सुरु भयो । कार्यक्रमभर मन्त्रीको गुणगान पनि भइरह्यो । मन्त्रीज्यू यस्तो, उस्तो भन्ने प्रशंसाका शब्दहरु खनिइरहे ।
कार्यक्रममा मन्त्री गुरुङले यस्तो भद्दा कुराको सिको नगर्न मुख नै फोरे । ‘के ठिक हो भन्ने नबुझी, नखोजी हामीले नचाहिने संस्कारको विकास गरिरहेका छौं । यसलाई त्याग्नुपर्छ,’ मन्त्री गुरुङले कड्केर भने । त्योभन्दा पनि रोचक अर्को दृश्य शनिबार दिउँसो देखियो । मन्त्री गुरुङ बिहान देवघाटधाम घुम्ने र त्यहीँको आश्रममा बटुकहरुसँगै खाना खाने योजनामा थिए । तर, त्यो योजना अघिल्लो दिन नै तुहियो । बिहान देवघाटधाम घुम्ने, छलफल गर्ने तर खाना चाहिँ पिकनिकमा खाने गरी स्थानीय नेता कार्यकर्ताले कार्यक्रम तालिका बनाए । स्थानीय समूहले गरेको पिकनिकमा जाँदा सबैसँग भेटघाट पनि हुने, मन्त्री आए भन्ने पनि पर्ने भनेर गुरुङले समय मिलाए ।
देवघाट घुम्दै त्यहाँको विकास समितिसँग छलफल गरी मन्त्रीसहितको टोली पिकनिकस्थलतिर हानियो । पिकनिकस्थलमा माला, खादा लिएर मन्त्रीको स्वागतमा स्थानीय तम्तयार थिए । मन्त्री पुग्नेबित्तिकै सुरु भयो औपचारिक पिकनिक उद्घाटन कार्यक्रम । माला, खादा, आसन ग्रहणको लर्को, स्वागत, तालीको आह्वानको भुत्ते शैलीसँगै भाषणको शृंखला सुरु भयो ।
प्रमुख अतिथिको बोल्ने पालो भएपछि मन्त्री गुरुङले माइक समाते र कड्किए । मन्त्रीले भने, ‘पिकनिक भनिएको छ । फेरि यहाँ पनि औपचारिक कार्यक्रम । सबैलाई आसन ग्रहण गराउनै पर्ने, खादामाला ओढाउनै पर्ने, अतिथि र प्रमुख अतिथि बनाउनै पर्ने, जतिसक्दो लामो बोल्नै पर्ने, अगाडि २ जना हुँदैन भाषण गर्नै पर्ने यो तरिका त्याग्नुपर्छ । नेता र मन्त्री आएपछि आर्थिक सहयोग माग्नै पर्ने र जतिसक्दो धेरै आर्थिक सहयोग गर्छु भनेर बोलिदिओस् भन्ठान्ने । अनि नेतादेखि मन्त्रीसम्मले म यो गर्छु, त्यो गर्छु भन्नुपर्ने र पछि आर्थिक सहयोग नमिलेपछि फेरि आलोचना गर्ने, गाली गर्ने । यस्तो संस्कारकै कारण नेपालमा राजनीतिक दल र नेताको बद्नाम भइराखेको छ । पिकनिकमा यस्तो लम्बेतान कार्यक्रम किन गर्नुपर्यो रु खाने कुरा खाएपछि पिकनिक उद्घाटन भइहाल्यो नि ।’
मन्त्री कड्किएपछि आयोजकको अनुहारको रङ अँध्यारो बन्यो । नेपाली राजनीतिक संस्कार बिग्रनुमा राजनीतिक दल र तीनका नेताको मात्रै होइन कार्यकर्ता र जनताको पनि हात रहेको मन्त्री गुरुङको भनाइ थियो । त्यही पिकनिकमा मन्त्री भाषण नगर्ने पक्षमा थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो