तनहुँ । तनहुँको डुम्रे बजारमा सीसीटीभी क्यामेराबाट निगरानी थालिएको छ । पृथ्वी राजमार्गमा पर्ने लमजुङ, मनाङ र गोरखाका अधिकांश भागको प्रवेशबिन्दु बजारको सुरक्षा बढाउनका लागि भन्दै तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार एकाईले सीसीटीभी जडान गरेको हो ।
क्यामेराको उद्घाटन गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले डुम्रे बजार मात्र नभएर समग्र राजमार्ग र आसपासका क्षेत्रको सुरक्षाका लागि सीसीटीभीले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाको प्रवेशबिन्दूका अलावा मनाङ, लमजुङ, गोरखा र पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने केन्द्र भएका कारण डुम्रेमा रहेका क्यामेराले समग्र सुरक्षा निगरानीका लागि सघाउने उनले बताए ।
प्रहरी उपरीक्षक विनोद शिलवालले क्यामेरा जडानपछि प्रहरीलाई सुुरक्षा व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सीसीटीभीको स्थापनाका लागि बजार एकाईप्रति आभार प्रकट गर्दै सुरक्षा व्यवस्थापनमा यसको उपयोग गरिने बताए ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले व्यवसायिक सुरक्षाको कर्तव्य सम्झेर बजारका व्यवसायीले सीसीटीभी स्थापना गरेको भन्दै प्रशंसा गरे । उनले क्यामेराको निगरानी नहुँदा विगतमा ठूला घटना हुँदा समस्या परेकामा अब हट्ने अपेक्षा गरे ।

तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले दमौलीमा आफ्नो नेतृत्वमा बजार एकाईले सीसीटीभी स्थापना गरिएको स्मरण गर्दै त्यसयता ठूला घटना दुर्घटनामा प्रहरीलाई अनुसन्धानमा मद्दत पुगेको बताए । उनले सीसीटीभीको सुरक्षा र सञ्चालनमा व्यवसायीको साथ निरन्तर आवश्यक पर्ने बताए ।
बजार एकाईका सभापति नेकमहमद मियाँले सवारी साधन र यात्रुको धेरै चहलपहल हुने भएकाले डुम्रे बजारमा सुरक्षा र निगरानीका लागि क्यामेरा जडान गरिएको बताए ।
बजारमा १५ वटा क्यामेरा जडान गरिएको छ । क्यामेराको नियन्त्रण कक्ष प्रहरी चौकी डुम्रेमा राखिएको छ । क्यामेरा जडान भए पनि ब्याकअप भने नभएका कारण विद्युत जाँदा रेकर्ड गर्न नसकिने देखिएको छ ।
एकाईका सचिव राम जोशीले थप श्रोत खोजेर विद्युत जाँदा पनि रेकर्ड हुने व्यवस्था मिलाउने बताए । एकाईले बन्दीपुर गाउँपालिकासहित व्यवसायीबाट संकलित चन्दा गरी ७ लाख २३ हजार रुपैयाँमा क्यामेरा स्थापना गरिएको बताएको छ ।
सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
भानु जयन्तीका अवसरमा कार्यक्रम
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा