कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक आडमा अवैध काम गर्नेहरूलाई निगरानीमा राख्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा निर्मित व्यायामशालाको उद्घाटन गर्दै उनले अवैध काम गर्नेलाई नछोड्न प्रहरीलाई आग्रह गरेका हुन् । उनले राजनीतिक संरक्षित गुन्डाहरूलाई तह लगाउने प्रहरीको काममा प्रदेश सरकारको साथ रहने बताए । ‘राजनीतिक सुरक्षा कवचमा अवैध धन्दा गर्नेलाई प्रहरीले हात हालोस्,’ उनले भने, ‘यस्ताले नै प्रहरीको बदनाम गर्ने हुन्, यिनीहरूलाई ठीक पार्ने काममा प्रदेश सरकारको पूर्ण सहयोग रहन्छ ।’
मुख्यमन्त्री गुरुङले राजनीतिबाट संरक्षित वा दलनिकट मानिसविरुद्ध आउने उजुरी दर्ता गर्न नमानेका गुनासा आउने गरेको र यसको अन्त्य गर्न निर्देशन पनि दिए । कोही व्यक्ति उजुरी गर्न आए त्यसको पृष्ठभूमि हेर्ने नभई उजुरी दर्ता गरेर अनुसन्धानमा लाग्न उनले सुझाब दिए । उजुरी दर्ता नगर्दा प्रहरीको गरिमामा आँच आउनेतर्फ उनले सचेत गराए । नागरिकले आफ्नो मान्छे ठाममा नभएको, नेता नभएको, हाकिम नभएको या हाम्रो कुरा कसले सुन्ने भन्ने गुनासो गर्ने गरेको उनले कार्यक्रममा बताए । उनले भने, ‘उजुरी दर्ता गरेर काम गरिहालौँ, नेता र राजनीति हेरेर उजुरी दर्ता नै नगर्ने प्रवृत्तिको अन्त्य गरौँ, सत्ताधारीविरुद्ध कारबाही नै हुन्न भन्ने मान्यता बस्नु गलत हुनेछ ।’
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बहुदलीय व्यवस्थामा विधिको दुरुपयोग गरेर नेपाल प्रहरीलाई सबैभन्दा धेरै राजनीतीकरण गरिएको स्मरण गरे । अमूक पार्टी मात्र नभई अमूक नेताको नै सुरक्षा निकाय हो कि जस्तो भान हुनेगरी विगतमा काम भएको उनको भनाइ छ । उनले भने, ‘गृहमन्त्रीको गुनगान गाउने, भक्तिभाव प्रकट गर्ने हिजोको अवस्था अब रहन हुन्न,’ विगतमा प्रहरी नेतृत्व चुन्ने वेला भएको चलखेलतर्फ संकेत गर्दै अव विधि र प्रक्रियाबाट अगाडि बढ्ने, सत्ता वा शक्तिको नभई जनताको प्रहरी बन्नुपर्ने उनको भनाइ छ ।
सम्बन्धित खबर
पहिलो पाइला स्याङ्जाको न्यानो माया अभियान, पोशाक तथा शैक्षिक सामाग्री वितरण
गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवग्रह मन्दिर व्यवस्थापन समिति गठन, अध्यक्षमा पोख्रेल
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
गोरखामा रुखबाट लडेर १ जनाको मृत्यु
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु