कास्कीमा को ? विद्या, वामदेव कि अरु ? चर्चामा यी छन्

कास्कीमा को ? विद्या, वामदेव कि अरु ? चर्चामा यी छन्

Rabindra uttaradhikari

पोखरा । निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै कास्की जिल्लामा निर्वाचनको माहोल सुरु भएको छ । युवा नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त कास्की निर्वाचन क्षेत्र नम्बर २ मा रवीन्द्रको उत्तराधिकारी को बन्ला भन्ने कौतुहलता देशैभर छ ।

निर्वाचनमा उम्मेद्वार बन्न चाहानेहरुले मुख नखोले पनि भित्र भित्रै लबिङ सुरु गरेका छन् । यद्यपि रवीन्द्र अधिकारीको निधनपछि रिक्त भएको स्थानमा रवीन्द्रकै पत्नी विद्या भट्टराईको सबै भन्दा धेरै चर्चा छ । यद्यपि उनले कुनै प्रतिक्रिया दिएकी छैनन् । यसअघि पोखरा आएका बेलामा नेकपा अध्यक्ष प्ुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमले उक्त स्थानमा रवीन्द्रकै परिवारका सदस्यलाई टिकट दिनु पर्ने बताएकाले पनि विद्याको नाम सबै भन्दा अग्रपंक्तिमा छ । समाधान दैनिकले समाचार छापेको छ । 

नेकपा उच्च श्रोतका अनुसार पार्टीको केन्द्रीय नेतृत्वले वामदेव गौतमलाई कास्कीबाट उठाउने प्रयास गरेको छ । स्रोतका अनुुसार दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले वामदेवलाई यो प्रस्ताव राखिसकेका छन् ।

तर पटक पटक उपनिर्वाचन लडाउने चर्चा गर्ने र बदनाम गराउने खेल भएको भन्दै वामदेवले यस पटक मुख खोलेका छैनन् । पार्टी नेतृत्वले सर्वसम्मत ढंगले प्रस्ताव गर्ने र कास्कीका कार्यकर्ताले १ ढिक्का भएर स्वागत गर्ने हो भने मात्र उम्मेद्वार बन्ने दाउमा गौतम छन् । संसदमा पुगेर १ पटक प्रधानमन्त्री बन्ने गौतमको धोको छ ।

नेकपाका अर्का पाका र पुराना नेता सोमनाथ अधिकारी प्यासी पनि आकांक्षी छन् । लामो समय देखि राजनीति गरे पनि १ पटक पनि मन्त्री बन्न नपाएका प्यासी फेरि १ पटक संदनमा पुगेर मन्त्री बन्ने इच्छा छ ।

त्यस्तै पुराना नेतामध्ये तुलबहादुर गुरुङले पनि टिकट पाउने अपेक्षा गरेका छन् । यसअघिका ३ वटै निर्वाचनमा रवीन्द्र अधिकारी र तुलबहादुरबीच नै टिकट हात पार्ने प्रतिस्पर्धा हुन्थ्यो ।
रवीन्द्र अधिकारीका बालसखा धनराज आचार्य अर्का आकांक्षी हुन् । विद्या भट्टराईले निर्वाचन नलड्ने भएमा आफूले टिकट पाउनु पर्छ भन्दै आचार्यले भित्रभित्रै लबिङ गरेका छन् । उनी रवीन्द्रकै जन्म गाउँ भरतपोखरीका हुन् ।

एमाले कास्कीका १ नेताका अनुसार झण्डै दर्जन नेता उम्मेद्वारका आकांक्षी छन् । भर्खरै कास्की इन्चार्जको जिम्मेवारी पाएका राजकाजी गुरुङ (करण) सहित सहइन्चार्जहरु श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्की स्वाभाविक दाबेदार रहेको ती नेताले बताए । उनले उम्मेदवारी दिने दिन नजिकिँदै जाँदा आकांक्षी बढ्ने दाबी गरे ।

स्रोतका अनुसार उम्मेदवार तोक्नु अघि पार्टीको केन्द्रीय नेतृत्वले रवीन्द्र पत्नी विद्या भट्टराईसँग छलफल गर्दैछन । ‘विद्याजीले निर्वाचन नलड्ने मानसिकता बनाएको भएमा वामदेवलाई कास्की पठाउने प्रयास हुनेछ,’ स्रोतले भन्यो ।

गएको चुनावमा तत्कालीन एमालेका रवीन्द्र अधिकारी २७ हजार २ सय ७ मतका साथ विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । उक्त क्षेत्रमा ७० हजार ६ सय ५१ मध्ये ४९ हजार ९ सय १४ मत खसेको थियो । खसेकामध्ये १ हजार ४ सय ६४ मत बदर भएका थिए । १ स्वतन्त्र सहित १३ जना चुनावी मैदानमा उत्रेकोमा ११ जनाको जमानत जफत भएको थियो । ११ उम्मेदवारले १ हजार भोट कटाउन सकेनन् । तेस्रो स्थानमा विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएका थिए । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३ पर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ