रविन्द्रसँग देवराज पराजित क्षेत्र कास्की-२ मा अब को ? काँग्रेसका ६ जना आकांक्षी

रविन्द्रसँग देवराज पराजित क्षेत्र कास्की-२ मा अब को ? काँग्रेसका ६ जना आकांक्षी

nepali-congress

आगामी मंसिर १४ गते हुने भनिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कोको उम्मेद्वार बन्लान् भन्ने चर्चा सुरु भएको छ । पार्टीहरुभित्र उम्मेद्वारहरुको खोजी पनि हुन थालेको छ । तत्कालीन नेकपाका लोकप्रिय नेता रवीन्द्र अधिकारीको स्वर्गारोहणपछि रिक्त पदका लागि मंसिर १४ मा निर्वाचन गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय तहमै छलफल नगरे पनि स्थानीय नेता कार्यकर्ताको दौडधुप सुरु भएको छ । उम्मेद्वार बन्ने दौडमा कम्तीमा ६ जना देखिएका छन् । यो खबर समाधान दैनिकले छापेको छ ।

यसअघि निर्वाचन लडेर रवीन्द्र अधिकारीसगै पराजित भएका शोभियतबहादुर अधिकारी र देवराज चालिसले फेरि पनि एकपटक मौका पाउनुपर्ने भन्दै लबिङ गरिरहेका छन् भने अन्य ४ जनाले पार्टीका केन्द्रीय नेतृत्वलाई भेटेर टिकटको दाबेदारी प्रस्तुत गरेको स्रोतले बतायो ।

पुराना नेता खेमराज पौडेलसहित वीरेन्द्रनारायण बिजुक्छे, विजय आचार्य र लक्ष्मी पाण्डेले टिकटका लागि लबिङ गरिरहेको कास्की कांग्रेसका १ नेताले जानकारी दिए । ‘पछि अरु पनि थपिएलान्, अहिले यिनै ६ जनाले टिकट फुत्काउने प्रयास गरेका छन्,’ ती नेताले भने ।

सत्तारुढ दल नेकपामा भने झन्डै दर्जन आकांक्षी छन् । यीमध्ये सबैभन्दा अग्रस्थानमा रवीन्द्रपत्नी विद्या भट्टराईको नाम छ । विद्याको विकल्पमा वामदेव गौतमको पनि चर्चा छ । उनलाई पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नै कास्कीबाट निर्वाचन लड्न सुझाएको चर्चा छ । त्यस्नै नेकपाबाट सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ धनराज आचार्य, राजकाजी गुरुङ (करण) श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्की लगायतको चर्चा भइरहेको छ ।

गएको चुनावमा तत्कालीन एमालेका रवीन्द्र अधिकारी २७ हजार २ सय ७ मतका साथ विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । उक्त क्षेत्रमा ७० हजार ६ सय ५१ मध्ये ४९ हजार ९ सय १४ मत खसेको थियो । खसेकामध्ये १ हजार ४ सय ६४ मत बदर भएका थिए ।

१ स्वतन्त्रसहित १३ जना चुनावी मैदानमा उत्रेकोमा ११ जनाको जमानत जफत भएको थियो । ११ उम्मेदवारले १ हजार भोट कटाउन सकेनन् । तेस्रो स्थानमा विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएका थिए । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३ पर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ