पृथ्वी राजमार्गको बिजोग: तनहुँको सडक मै पोखरी! सुन्दरनगरी पोखरा जाने बाटोको यो हालत कहिलेसम्म ?

पृथ्वी राजमार्गको बिजोग: तनहुँको सडक मै पोखरी! सुन्दरनगरी पोखरा जाने बाटोको यो हालत कहिलेसम्म ?

Tharpu Sadak1

किरण श्रेष्ठ,तनहुँ । विकासोन्मुख मुलुकहरूले आफ्नो कुल बजेटको ठूलो हिस्सा पूर्वाधार विकास र त्यसको ठूलो हिस्सा सडक निर्माण एवं मर्मतमा खर्चने गर्छन् । नेपाल विकासोन्मुख मुलुक हो र यसका प्रमुख पूर्वाधारहरूमध्ये राजमार्ग पनि एक हो । विकासोन्मुख मुलुकमा हरेक ठाउँमा समस्या भएजस्तै हामीकहाँ पनि त्यो समस्य छ ।

त्यसको नमुनाका रूपमा पृथ्वी राजमार्गलाई लिन सकिन्छ । पृथ्वी राजमार्गको छिर्कन-कोत्रे सडकखण्डको अवस्था अहिले बिजोग छ । सडक भत्किएर अहिले उक्त राजमार्गको सडक मै पोखरी बनेको छ ।

पृथ्वीराजमार्गको करिब ७२ किलोमिटर सडकखण्ड तनहुँ जिल्लामा पर्छ । उक्त सडक खण्डमा दैनिक हजारौको संख्यामा यातायातका साधान गुड्ने गर्छन । तर,तनहुँको व्यास-१२ छिर्कने देखि सुरु हुने पोखरी सडक तनहुँ कै म्याग्दे-४ को थर्पु हुँदै शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा-कोत्रे सडकखण्ड सम्म हालत उस्तै रहेको छ ।

पृथ्वी राजमार्गको सो बिजोग अवस्था बारेमा सामाजिक संजाल फेसबुकमा व्यापक विरोध भईरहेको छ । सडक भत्किएर खाल्डाखुल्डी र ती खाल्डाखुल्डीमा पानी जमेर बनेको पोखरीका कारण दैनिक जसो सानाठूला सवारी दुर्घटना समेत बढ्दै गएका छन् ।

तर, सरोकारवाला निकायले यी सडक खण्डको मर्मत सुधार तथा स्तरोन्नती तर्फध्यान दिन नसक्दा आम सर्वसाधारण तथा यातायात व्यवसायीहरुले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यहाँ सडक बिग्रदा यात्रुवहाक सवारी साधान फस्ने र खाल्डोमा अड्किदा राजमार्गमा सञ्चालन हुने यातायातका साधान प्रभावित हुने गरेका छन् ।

केहि समय अघि सडक मर्मत समयमै नभएको र केही भएकोमा पनि गुणस्तरीय नभएको भन्दै स्थानीयले डिभिजन सडक कार्यालय दमौली तनहुँका प्रमुख विष्णु प्रसाद काफ्लेलाई कार्यालय भित्र नै थुनिदिएका थिए ।

स्थानीयले कार्यालय प्रमुख सहित इन्जिनियरलाई कार्यालय प्रमुखको कोठामा करिब १ घण्टा थुनिदिएका थिए । उक्त कार्यालय घेराउ पछि सडक डिभिजन तनहुँले ठेकेदार लाई निर्देशन दिएपछि दुलेगौडा-कोत्रे सडकखण्ड मर्मतको काम सुरु भएको थियो ।

छिर्कने र शुक्लागण्डकीको दुलेगौंडा-कोत्रे सडक खण्ड आंशिक रुपमा मर्मत सुधार गरिए छ तर त्यो प्रयाप्त भने छैन । म्याग्दे-४ को थुर्प बजार नजिकै भत्किएको सडकको मर्मतका लागि कोही कसैको ध्यान पुग्न नसकेको स्थानिय हुतमणि अधिकारिले बताए ।

अहिले नाला छैन पहिले सडकमा सानो खाल्डो थियो अहिले सवारि चाप संगै खाल्डो ठुलो भएको छ अधिकारिले भने ‘ क्रसरले पहिलेको नाला पुरेर सडक बनाउदा सडकको हालत भएको हो ।’ अहिले नाला बनाउने र खाल्डो पुर्ने काम भैरहेको उनले जानकारी दिए ।

सडक डिभिजन र क्रसर व्यवसायी लाई सडक मर्मत गर्न निर्देशन दिइसके : अध्यक्ष राना

उक्त सडकको विषयमा म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया राना संग बुझ्दा सडक डिभिजन कार्यालय तनहुँ र स्थानीय क्रसर व्यवसायी लाई सडक मर्मतको लागि निर्देशन दिइसकेको बताइन ।

‘सडक डिभिजनका प्रमुखले भोलिबाट काम गर्ने बताउनुभएको छ’ अध्यक्ष रानाले भनिन ‘अब उक्त स्थानमा भोलि बाटै मर्मतको काम हुन्छ।’ पानि कटन नहुदाँ, सडकमा सवारी चाप र क्रसर व्यवसायीको टिप्परले सडकमा समस्या ल्याएको उनले बताइन ।

त्यसैले स्थानिय क्रसर व्यवसायीहरु लाई समेत सडक मर्मतमा सहयोग गर्न अनुरोध गरेको उनले बताइन । पानिको व्यवस्थापनको लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने समेत अध्यक्ष रानाले बताईन । ‘मंगलबार देखि नै उक्त सडकमा काम सुरु हुन्छ’ ,आध्यक्ष रानाले भनिन ‘म उक्त कुरामा ढुक्क छु ।’

क्रसरले नाला पुर्दा सडकमा सिधै पानि, क्रसरवाला पावरफुल पर्यो, मैले भने सुन्दै सुनेन : वडाअध्यक्ष थापा

क्रसर जाने बाटो सडक भन्दा ठिक माथि रहेको र उक्त बाटोमा पहिले भएको नाला पुरेर क्रसर व्यवसायीले बाटो बनाउदा माथिको पानि पृथ्वी राजमार्गमा सिधै आएको म्याग्दे गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष प्रेम बहादुर थापाले बताए ।

पटक-पटक क्रसरवाला लाई भने तर मैले भने सुन्दै सुनेन, पावरफुल जो पर्यो वडाअध्यक्ष थापाले भने । अहिले गाउँपालिकाले डिभिजन सडक कार्यालय संग मर्मतको लागि भनेको उनले बताए । ‘सोमबार नालाको लागि जेसिबीले काम गरिरहेको छ उनले भने ‘भोलिबाट सडक मर्मतको काम हुन्छ ।’

छिर्कनको केहि भाग देखि थर्पु र दुलेगौडा-कोत्रे सडकखण्डको पुन:निर्माण गर्नुपर्ने अवस्थामा रहेको छ ।

आफूलाई कर बुझाएर सहयोग गर्ने गरिब, किसान, मजदुर, व्यापारी र सर्वसाधारणप्रति राज्य कति अनुत्तरदायी छ भन्ने कुरा यसले पुष्टि गर्छ । एउटा सडकको दीर्घायुका लागि बनाइएका नियम र कानुन किताबका पानामा मात्र सीमित बन्न पुग्दा विदेशी सहयोगमा निर्माण तथा अर्बौ पुँजीको लगानी भएको सडक यसरी बिग्रनु राज्यको सानो क्षति होइन ।

सडक मर्मतको जिम्मेवारी लिएर काम नगर्ने ठेकेदार लाई कारबाही गर्ने र भविष्यमा यस्तो लापरबाही नहुने कुराको ग्यारेन्टी हुनु पर्दैन ? होइन भने जनताले सकिनसकी पसिना बगाएर गर्ने कमाइ राज्यलाई करको रूपमा किन तिर्ने ?

समयमै उचित मर्मत गरिएको भए र नियम पद्धतिअनुसार राजमार्ग सञ्चालन गरिएको भए राज्यले नियमित बजेटबाटै यसको संरक्षण गर्न सक्थ्यो । सडकको पारवहन क्षमता भन्दा नियमित रूपमा बढी लोडसहितका गाडी सवार हुँदा, चिसो बालुवा बोक्ने गाडी पानी झार्दै हिँड्दा सम्बन्धित सरोकारवाला निकायको ध्यान नजानु दुःखद् हो ।

सडकको यो दुरावस्थाले अहिले गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष कार्यक्रम र प्रदेशका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, सडक डिभिजन तथा अन्य सरोकारवाला निकायका कर्मचारीलाई गिज्याईरहेको छ ।

गण्डकी प्रदेशको राजधानी सुन्दरनगरी पोखरा जोड्ने प्रमुख राजमार्ग नै यस्तो अवस्थामा पुग्नु सिंगो मुलुकका लागि लज्जाको विषय हो । त्यसैले यसलाई मर्मतसम्भार गर्न अरू ढिला नगरौं ।

खाल्डाखुल्डी रहित सडक बनाउन सडक विभागको निर्देशन

नजिकिदो चाडपर्व लाई मध्यनजर गर्दै सडक विभागले संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयहरु लाई खाल्डाखुल्डी रहित सडक बनाउन विभागले निर्देशन दिएको छ ।

सवारी आवागमन लाई सुरक्षित र सहज बनाउन राष्ट्रिय राजमार्गहरुको खाल्डाखुल्डी पूर्न निर्देशन दिएको हो । साथै उक्त कार्य प्रगतिको विवरण ३-३ दिनमा सडक विभाग सम्भार महाशाखालाई बुझाउन समत भनिएको छ ।

व्यापक विरोध पछि सडक मर्मतमा सडक डिभिजन

सामाजिक संजाल देखि विभिन्न रुपमा थर्पु स्थित सडकको अवस्था बारे विरोध भए पछि सोमबार डिभिजन सडकले एउटा जेसिबीले नाला बनाउँन र सडक माथिबाट आउने पानि कटानको काम सोमबार गरेको डिभिजन सडक कार्यालय दमौली तनहुँका प्रमुख विष्णु प्रसाद काफ्लेले बताए ।

दोहोरो नाली बनाउने काम गरि सडक सुक्खा बनाउने र पिचको काम पनि छिट्टै सुरु गर्ने उनले जानकारी दिए ।तर उक्त सडकमा अत्याधिक सवारी चल्ने भएको हुँदा सो अस्थाई कार्य केहि दिन भन्दा नहुने भन्दै पक्कि र पहिले कै अवस्थामा सडकको अवस्था पुर्याउन स्थानियले माग गरिरहेका छन् ।

तस्विर सौजन्य : हुतमणी अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ