लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा सुरेन्द्र गुरुङको जीत, सीता केसी ३८ मतले पराजित

लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा सुरेन्द्र गुरुङको जीत, सीता केसी ३८ मतले पराजित

Surendra Gurung

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनबाट सुरेन्द्र गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिष्पर्धी सीता केसीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् ।शनिबार दिउँसो भएको मतदानबाट सुरेन्द्रले १३३ मत प्राप्त गर्दा सीता केसीले ९५ मत प्राप्त गरिन् ।

अध्यक्ष पदमा सुरुमा ८ जना आकांक्षी भएपनि चुनावमा होमिदाँ दुई जना मात्र बाँकी रहेका हुन् । तदर्थ समिति संयोजक शंकर विरही गुरुङ र राजेन्द्र सापकोटाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए । त्यसकारण पनि सुरेन्द्रलाई जीत सहज बनेको हो । तीन जना बाम निकट हुन् । सीता केसी मात्र काँग्रेस निकट हुन् । यद्यपी, लोकदोहोरी संस्थामा शाखा देखि केन्द्रसम्म पार्टीको आस्थाले काम नगर्ने सम्बन्धित क्षेत्रका व्यक्तिहरु बताउँछन् । तर, भोटका लागि लबिङ भने राजनीतिक आस्थाका आधारमै थियो । यस कुरालाई स्वंय सुरेन्द्रले नै खुलासा गरेका थिए । चुनावमा होमिनु अघि आफूलाई सबैले छाड्दा समेत आमाछोराको सम्बन्धमा रहेका सीता ‘मामु’ ले आफूलाई नछाडेको र पार्टीगत आधारमा अस्तित्वको लडाईं बनाइएकाले आफू चुनावमा होमिन बाध्य भएको बताएका थिए । 

यस्तै, वरिष्ठ उपाध्यक्षमा पूर्ण परियार विजयी भएका छन् । उनले ११६ मत प्राप्त गर्दा अमर धितालले १०८ मत ल्याए । धिताल काँग्रेस निकट हुन् । प्रथम उपाध्यक्षमा ३ जना भिडेकोमा केशव देवकोटा १०१ मतका साथ विजयी भए । जयकुमार परियार ३३ र शिवहरि ढुंगानाले ८८ मत प्राप्त गरे । नेकपा निकट शिवहरि र जयकुमार मिल्न नसक्दा केशवलाई जित सहज बन्यो ।

द्वितीय उपाध्यक्षमा कास्की शाखाका निवर्तमान अध्यक्ष प्रेमराज अधिकारी पराजित हुन पुगे । उनलाई ४ मतले आरसी पौडेलले हराए । आरसीको ११४ र प्रेमराजको लागि ११० मत खस्यो । आरसी काँग्रेस समर्थित हुन् । महिला उपाध्यक्षमा माया गुरुङ निर्विरोध चयन भईन् । बाग्लुङकी रेनु केसीले अन्तिव अवस्थामा छाडिन् ।

सचिवमा काँग्रेस निकट राजन कार्की निर्विरोध बने । गोरखाका शिव केसीले उम्मेदवारी झिके । महिला सचिवमा मञ्जु बिक सर्वसम्मत भईन् । २ जना सहसचिवमा ज्योति लोहनी र रामजी पौडेल विजयी भए । दुवै जना काँग्रेस निकट हुन् । रामजीले १५९ र ज्योतिले १२३ मत प्राप्तगर्दा अमित विश्वकर्माले १०१ मत प्राप्त गरे ।

कोषाध्यक्षमा ३ जना प्रतिष्पर्धामा उत्रेकोमा इन्द्रा गुरुङले बाजी मारिन् । उनले ९८ मतका साथ जित हात पार्दा शंकर पन्त ६१ र केशव घिमिरेले ५७ मत प्राप्त गरे । शंकर र केशव नमिल्दा इन्द्रालाई फाइदा पुग्यो । सहकोषाध्यक्षमा काँग्रेस निकट कृष्ण सुवेदी २३ मतान्तरले विजयी भए उनले १२३ मत प्राप्त गर्दा इश्वर सिंहले १०० मतमा चित्त बुझाए ।

पेशागत संस्थाको चुनाव भएकाले पनि पार्टी भन्दा माथि उठेर व्यक्तिगत निकटताको आधारमा मत खस्दा दुवै संगठनका व्यक्तिहरुले चुनाव जित्न सफल भएका छन् । सदस्य पद सर्वसम्मत चयन भएको छ । थप विवरण आउन बाँकी ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ