कम्तिमा पनि ६ जना मन्त्री हटाउने २ जनाको जिम्मेवारी हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री ओली

कम्तिमा पनि ६ जना मन्त्री हटाउने २ जनाको जिम्मेवारी हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री ओली

Oli_cabinet_1

काठमाडौं– सत्तारुढ नेकपाका अध्यक्ष  केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनेर अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई जानकारी गराएका छन् ।

सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा ओलीले प्रचण्डलाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जनाएका हुन् । नेकपा सचिवालयले मन्त्रीमण्डल पुनर्गठनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको थियो ।

सोमबार बिहान बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले बर्खास्तीमा पर्ने भनेर ८ जना मन्त्रीको नाम पढेर प्रचण्डलाई सुनाएका थिए । प्रचण्डले केही मन्त्रीको विषयमा फेरि सोच्न भनेपछि २ जनाको जिम्मेवारी हेरफेर गर्ने र ६ जनालाई बर्खास्त गर्न सकिने विकल्पबारे छलफल भएको थियो ।

‘प्रधानमन्त्रीज्युले शुरुमा सबै मन्त्रीलाई राजीनामा दिन लगाएर मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रस्ताव राख्नुभएको थियो,’ सोमबार बालुवाटारमा ओली र प्रचण्डबीचको भेटवार्तामा भएको कुराकानीबारे जानकारी दिँदै  प्रचण्डले सबै जनाको राजीनामा माग्दा उपयुक्त नहुने भनेपछि प्रधानमन्त्रीले ८ जनाको नाम पढेर सुनाउनुभयो ।’ स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरु मात्रिका यादव, लालबाबु पण्डित, थममाया थापा, बिना मगर, युवराज खतिवडा, चक्रपाणी खनाल, शक्ति बस्नेत र रघुबीर महासेठको नाम पढेर सुनाएका थिए । तर, प्रचण्डले केही मन्त्रीको विषयमा पुनर्विचार गर्नुपर्ने भनेपछि प्रधानमन्त्री ओलीले २ जनाको जिम्मेवारी हेरफेर गर्न सकिने विकल्प सुनाएका थिए । जवाफमा प्रचण्डले सचिवालय बैठकबाट निर्णय लिँदा उपयुक्त हुने बताएका स्रोतले जानकारी दियो ।

प्रचण्डले सचिवालयको बैठक बोलाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले पनि तत्कालै सचिवालय बैठक बोलाउने विषयमा सहमति जनाए । दुवै नेताको सहमतिअनुसार सोमबार साँझ ५ बजेका लागि पार्टी सचिवालयको बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो ।प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन कात्तिक ७ गते अजरबैजान जान लागेका छन् । ओली अजरबैजान जानुभन्दा अगाडि नै मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारीमा रहेका बालुवाटार स्रोतले जानकारी दियो ।

  • खबरहब

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ