३८ क्विन्टल सुन तस्करी मुद्दाका फरार नाइके ‘काले’ दुबईमा पक्राउ

३८ क्विन्टल सुन तस्करी मुद्दाका फरार नाइके ‘काले’ दुबईमा पक्राउ

gold-e5256

काठमाडौं – सनम शाक्य हत्या तथा वहुचर्चित ३८ क्विन्टल सुन तस्करी मुद्दाका फरार थप एक नाइकेलाई प्रहरीले पक्राउ गरेकाे छ ।  आरोपितहरुको खोजीकाे सूचीमा रहेका गोपालकृष्ण आग्रवाल ‘काले’ लाई दुबई प्रहरीले पक्राउ गरेको हो । सुटुक्क दुबई भागेका तस्करी गिरोहका मुख्य नाइके मनिएका ‘काले’दुबई प्रहरीले विशेष सूचनाकाे आधारमा पक्राउ जानकारी नेपाल प्रहरीलाई गराएकाे हो ।

कालेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेको थियो । सुन तस्करी गिरोहका मुख्य लगानीकर्ता दावी गरिएका अग्रवाललाई पक्राउ गर्न नेपाल प्रहरीले दुबई प्रहरीलाई साेही नाेटिस मार्फत आग्रह गरेको थियो ।

प्रहरीले खोजी शुरु गरेलगत्तै काले गत वर्ष दुबई गएका थिए । झापा शिवसताक्षी नगरपालिका–६ का उनी कालु, काले र किसन उपनामले चिनिने गरेका छन् । दुई साताअघि पक्राउ परेका कालेलाई दुबईबाट नेपाल ल्याउन त्यहाँको प्रहरीसँग समन्वय भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

यसअघि सोही मुद्दामा फरार तीन अभियुक्त दुबईमै पक्राउ परेका थिए । बेनु श्रेष्ठलाई इन्टरपोलको सहयोगमा गत वर्ष नेपाल ल्याइएको थियो । अर्का अभियुक्त हरिशरण खड्का र रमेश उप्रेती पनि पक्राउ परिसकेका छन् । एक वर्षदेखि उनलाई नेपाल ल्याउने पहल भइरहेको छ ।

तर, दुई देशबीच सुपुर्दगी सन्धि नहुँदा नेपाल ल्याउने प्रक्रिया लम्बिएको छ । उनीहरूलाई थुनामा नराखेपछि देश छाड्न नमिल्ने गरी तारेखमा राखिएको छ । रमेश तस्करी गिरोहका नाइके चुँडामणि उप्रेती ‘गोरे’का भाइ हुन् । हरिशरण यसअघि पिंगलास्थानमा बरामद भएको साढे ३३ किलो सुन तस्करी मुद्दाका समेत अभियुक्त हुन् ।

सो मुद्दामा फरार १२ जनालाई इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । जसमध्ये नौजना अझै फरार छन् । झापा गौरादह नगरपालिका–१८ का भोजराज भण्डारी, काठमाडौं महानगरपालिका–९ का चेतनाथ भण्डारी, सिरहा धनगढीमाई नगरपालिका–१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–८ का टुकबहादुर मगरविरुद्ध, धरान उपमहानगर–२ का कृष्ण बस्नेत, धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल, झापा मेचीनगर नगरपालिका–१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध ‘रेड नोटिस’ जारी भएकोमा अहिलेसम्म पक्राउ गरिएको छैन ।

त्यस्तै, फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी भएको छ । उनीहरूलाई पनि पक्राउ गरेर नेपाल ल्याउने प्रयास भइरहेको प्रहरीका सहप्रवक्ता तथा इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले जानकारी दिएका छन् ।

१८ फागुन ०७४ मा तस्करीको सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको तस्कर समूहले हत्या गरेको थियो । हत्या गर्ने समूहबाटै सूचना पाएपछि महानगरीय अपराध महाशाखाको टोलीले गाडीबाट शव बरामद गरेको थियो । प्रहरीले मुख्य अभियुक्तलाई जोगाउने गरी अनुसन्धान गरेको उजुरी परेपछि प्रधान कार्यालयले तत्कालीन डिआइजी पुष्कलराज रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रारम्भिक अनुसन्धानमै हराएको साढे ३३ किलो सुन विमानस्थलबाट तस्करी भएको र यसमा ठूलो समूह संलग्न रहेको देखिएपछि सरकारले संगठित अपराध ऐनअनुसार १८ चैतमा सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा ‘विशेष अनुसन्धान टोली’ गठन गरेको थियो ।

अनुसन्धानका क्रममा विमानस्थलका कर्मचारी र प्रहरीकै मिलेमतोमा ५ वर्षदेखि ठूलो मात्रामा सुन तस्करी भइरहेको तथ्य खुलेको थियो । जसमा प्रहरीको समेत मिलेमतो खुलेको थियो । तस्करी र हत्या घटनामा मुख्य अभियुक्तलाई सघाएको खुलेपछि नौ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

तीन सयभन्दा थप व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने सुझावसहित पौडेल नेतृत्वको अनुसन्धान टोलीले दिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएको छ । टोलीले १६ साउनमा प्रधानमन्त्री केपी ओलीलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रहरीको कुनै निकायबाट घटनाको थप अनुसन्धान गर्न सिफारिस गरिएको थियो ।

प्रतिवेदनमा तस्करीमा सहयोग गर्ने थप प्रहरी अधिकारी तथा व्यापारीसहित तीन सय व्यक्तिको नाम रहेको स्रोतको दावी छ । देशको सुरक्षा संरचनामा रहेका त्रुटि सुधार गर्न पनि प्रतिवेदनमा सुझाब दिइएको छ । हराएको सुन अहिलेसम्म भेटिएको छैन । सो मुद्दा जिल्ला अदालत मोरङमा विचाराधीन छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ