१५ वर्षपछि पक्राउ परे चरेश तस्करी गर्ने वडाध्यक्ष !

१५ वर्षपछि पक्राउ परे चरेश तस्करी गर्ने वडाध्यक्ष !

Ram_bdr_tamang-

काठमाडौं– नुवाकोटको म्यागङ गाउँपालिकाको वडा नम्बर ४ का निर्वाचित वडाध्यक्ष राम बहादुर तामाङ पक्राउ परेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका तामाङ लागू औषध (चरेश) मुद्दामा फरार थिए ।

तामाङ २४ असोज २०५९ मा काठमाडौंको ठमेलबाट ७ किलो चरेशसहित पक्राउ परेका थिए । प्रहरीले उनीविरुद्ध लागू औषध (चरेश) ओसारपोसार र कारोबारको कसुरमा मुद्दा दर्ता गरेको थियो । २७ जेठ २०७१ मा काठमाडौं जिल्ला अदालतले तामाङविरुद्ध ३ वर्ष कैद र २५ हजार जरिवानाको सजाय सुनाएको थियो । मुद्दाको अनुसन्धानका लागि ३ महिना ७ दिन थुनामा रहेका तामाङ अदालतको फैसलापछि भने फरार रहेका थिए । अनुसन्धानका लागि थुनामा रहेको बाहेक अदालतले तोकेको मध्ये तामाङले २ वर्ष ८ महिना २३ दिन कैद भुक्तान गर्न बाँकी थियो ।

अदालतले तोकेको सजाय भुक्तान नगरी फरार अभियुक्तका रुपमा रहेका तामाङ २०७४ सालको (स्थानीय तह) निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका रुपमा म्यागङ गाउँपालिकाको वडा नम्बर ४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । फौजदारी कसुरमा दोषी ठहर भइ अदालतले तोकेको सजाय समेत भुक्तान नगरी फरार भएका तामाङ १५ वर्षपछि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा तामाङलाई आइतबार पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका तामाङलाई आइतबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds