पोखरामा पूर्व मिस नेपालहरु माल्भिका, मलिना, प्रिती, जेनिशा, सदिक्षा सहभागी कार्यक्रमको निचोड ‘मेहनतले नै सफलता’

पोखरामा पूर्व मिस नेपालहरु माल्भिका, मलिना, प्रिती, जेनिशा, सदिक्षा सहभागी कार्यक्रमको निचोड ‘मेहनतले नै सफलता’

ex miss nepal

पोखरामा शुक्रबार आयोजना भएको एक कार्यक्रमका वक्ताहरुले मेहनतले नै सफलता हात लाग्ने बताएका छन् । उनीहरुले जागिर खोज्नेभन्दा पनि जागिर दिन्छु भन्ने मानशिकता नभएसम्म स्वरोजगार बन्न नसक्नेमा पनि सहमति जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजना महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघ तथा पूर्वंमिस नेपालहरुको संयोजनमा शुक्रबार भएको युवा सम्मेलनमा बोल्दै उनीहरुले आफ्ना कथाहरु पनि सुनाए । नेतृत्व, नविनतम् सोच र व्यवसायबारे हुने छलफलमा पोखरा विश्वविद्यालयक पूर्वडिन प्राध्यापक डाक्टर दीपक भण्डारी,युवा तथा खेलकुद मन्त्रलयका सहसचिव महेन्द्र पौेडेल,युजि केककी प्रमुख कार्यकारी अधिकृत निकिता आचार्य र महिला उद्यमी मिलन थापा सहभागि थिए ।

कार्यक्रम संचालिका पूर्वमिस नेपाल माल्भिका सुब्बाले सोधेको प्रश्नको उत्तर दिँदै युजी केककी संचालिका निकिता आचार्यले भनिन्,‘ १० वर्षको उमेरमा मैले साथीसँग मिलेर जम्मा २० हजारको लगानीमा व्यवसाय सुरु गरेको हो, पछि त्यसमा थप्दै गएको हो ।’ उनका अनुसार अनलाइनबाट केक बेच्न सकिन्छ र ? भन्ने आशंकाका बीच सुरु गरिएको व्यवसायले नै उनलाई परिपक्व बनायो रे ।

पोखरा विश्वविद्यालयका पूर्वडिन प्राध्यापक डाक्टर दीपक भण्डारीले सरकारको नीति नै युवाहरुलाई व्यवसायमा हात हाल्न निरुत्साहित पार्ने खालको भएको आरोप लगाए । उनका अनुसार बैंकहरुले सुरुमा ऋण दिने र पछि ब्याज बढाउँदे जाँदा पनि धेरै व्यवसायहरु बन्द भएको बताए । व्यवसायमा दक्ष जनशक्ति नराख्नाले पनि समस्या हुने गरेको उनको भनाई थियो ।

महिला उद्यमी हिमालय अटो वल्र्डकी संचालिका मिलन थापाले व्यवसायमा सेवालाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखिन् । उनका ग्राहकसँग मिजासिलो व्यवहार गर्ने तथा गुणस्तरीय सेवा दिने हो भने व्यवसायमा सफलता हात लाग्छ ।

यता, युवा तथा खेलकुद मन्त्रलयका सहसचिव महेन्द्र पौेडेलले नेपाल सरकारले युवाहरुलाई सहुलियत दरमा कर्जा दिनको लागि सहुलियत कर्जासम्बन्धि एकिकृत कार्यविधि बनाएको जानकारी दिँदै व्यावसायिक कृषिको लागि ५ करोडसम्म कर्जाको व्यवस्था गरिएको बताए । उनका अनुसार त्यस्तो कर्जाको ५० प्रतिशत ब्याज पनि सरकारले नै ब्यहोर्नेछ ।

युवा व्यवसायी वैभव पौडेललाई नपुग्दो केही थिएन। स्कूल र कलेजका दिनमा उनले कुनै काम गरेनन् । तर, मनै त हो ! उनी अमेरिका भासिए । काम नगरि खान नपाइने । उनले सुरुमा रेष्टुरेण्टमा जागिर खाए । काम थियो, भुईँ पुच्छ्ने । कामकै क्रममा उनले डिपार्टमेण्टल स्टोर्स, पेट्रोलपम्पमा पनि पसिना बगाए । ‘ग्याँसस्टोरमा कामगर्दा धन्नै एकजना कालाले पेस्तोल हानेनन्’, पोखरामा शुक्रबार आयोजित युवा सम्मेलनमा उनी भन्दै थिए,’, ‘एकपटक त मैले उसैको पेस्तोल खोसेँ ।’सन् २०११ तिर अमेरिकी ग्रिनकार्ड र पासपोर्ट बन्दैगर्दा उनी नेपाल फर्के । पिता र दाजुले चलाएको बाराही होटल थिँदैथियो तर उनले छुट्टै ब्यञ्जन रेष्टुरेण्ट खोले । ‘ब्यञ्जन खोलेपछि म आफै त्यहाँ प्लेट उठाउने र भुईँ पुच्छने काम गर्थेँ’, उनले भने,‘त्यो देखेर कामदारहरु पनि अचम्म मान्थे ।’उनको व्यवसाय बढ्दै गयो । पछि बगैँचा वेलनेस रिसोर्ट खोले । मन थामिएन । बगैँचाको नाममै बगैँचा कार स्पा, बब्स जिम पनि खुल्यो । अहिले उनी लेकसाइडको पामेतिर बिच रिसोर्टको तयारीमा छन् । आफ्नो व्यावसायिक सफलताको कुरा सुनाउँदै गर्दा उनले नेपालमा अवसर नै अवसर भएको तर अवसरलाई हेर्ने आँखा नभएको टिप्पणी गरे । बैंकहरुले युवाहरुलाई बिना धितो ऋण दिने वातावरण बनाउनुपर्ने धारणा पनि उनले सुनाए ।

यता,  आफ्नो सफलताको कथा सुनाउँदै अग्रज पर्यटन व्यवसायी लक्की कार्कीले आफैले भोगेको कुरालाई पनि व्यवसाय बनाउन सकिने धारणा राखिन् । ‘बजारमा तपाईँले भोगेको समस्या अर्काले पनि भोगेको हुनसक्छ’, उनले भनिन्,‘वास्तवमा सफलता भनेकै व्यवस्थापन हो ।’ उनका अनुसार मान्छेसँग धेरै रोजाईहरु भयो भने पनि समस्या आउनसक्छ । ‘त्यसले तपाईँहरु जे पाउनुहुन्छ त्यो काम गरिहाल्नुहोस् तर निर्णय भने मनले गर्नुहोस् ।’उनले पर्यटनमा अथाह सम्भावना भएको बताउँदै पर्यटनमा लाग्नेहरुले गुणस्तरीय सेवा दिन सक्नुपर्नेमा जोड दिइन् ।

युवाहरुलई सकारात्मक तथा नविनतम् ढंगले अगाडि बढ्न मार्गनिर्देश गर्ने उदेश्यले ‘युवा उत्प्रेरणा सम्मेलन’ आयोजना भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघ तथा पूर्वं मिस नेपालहरुको संयोजनमा सो कार्यक्रम आयोजना भएको हो ।

सेमिनारमा युवा र अर्थशास्त्र विषयमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेल, युवाहरुलाई डिप्रेसनबाट कसरी बाहिर ल्याउने भन्ने विषयमा कञ्चन रावत, शारीरिक सुन्दरताबारे पूर्वमिस नेपाल प्रिति सिटौला, सामाजिक अपराधअन्तर्गत एसिड आक्रमणबारे अभियन्ता उज्ज्वल थापाको प्रस्तुति रहेको थियो ।

यसैगरि साइबर बुलिङबारे पूर्वमिस नेपाल जेनिसा मोक्तानले बोलेकी थिइन् भने नारीलाई हेर्ने दृष्टिकोण तथा गरिने व्यवहारबारे पूर्वमिस नेपाल मलिना जोशीले आफ्ना धारणा सुनाएकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले युवाहरुमा सकारात्मक सोचको विकास गराउन तथा उद्यमशीलताबारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताए । नेपाल उद्योग वाणिज्य महासंघको सामाजिक सेवा फोरमका अध्यक्ष जय सिवाकोटीको धन्यवाद रहेको कार्यक्रमको संचालन पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds