तनहुँको बन्दिपुरमा फलामे खोरमा पर्यो पोथी चितुवा, चितुवाको आक्रमणबाट ९ जनाले ज्यान गुमाए

तनहुँको बन्दिपुरमा फलामे खोरमा पर्यो पोथी चितुवा, चितुवाको आक्रमणबाट ९ जनाले ज्यान गुमाए

Chituwa Bandipur Khorma

किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका भित्र पोथी चितुवा फलामको खोरमा परेको छ । शुक्रबार राती बन्दिपुर ४ स्थित लोहिपाखा सामुदायिक बनमा राखिएको फलामे खोरमा चितुवा परेको हो ।

करिब १० दिन अगाडी उक्त बनमा फलामको खोर राखिएको डिभिजन बन कार्यालय तनहुँमा प्रमुख केदार बरालले जानकारी दिए । शुक्रबार राती जिल्लामा सातौ चितुवा खोरमा परेको प्रमुख बरालले बताए । १० दिन अघि बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहिपाखामा चितुवाको आक्रमणबाट १० वर्षिय इश्क सुनारको मृत्यु भएको थियो । चितुवाले बालक खाएपछी लोहिपाखामा पासो थापिएको फलामे खोरमा चितुवा परेको प्रमुख बरालले बताए ।

यसअघि भानु नगरपालिकाको विभिन्न बनमा राखिएको काठको खोरमा ५ वटा चितुवा परेका थियो । त्यसैगरि व्यास नगरपालिकामा गत पुष ९ गते पहिलोपटक व्यास नगरपालिका वडा नं. ९ मा पोथी चितुवा फलामे खोरमा परेको थियो । ‘हिजो फलामे खोरमा परेको चितुवा सातौ हो ।’ प्रमुख बरालले भने ’गत १० दिन अघि मात्रै सो क्षेत्रमा एउटा बालक चितुवाले खाएको थियो ।’

’चितुवा अन्दाजी ७ देखि ८ वर्षको र ३५ केजी जति तौल भएको देखिन्छ ।’ प्रमुख बरालले भने ’यो पोथी चितुवा हो र यसको जिल्ला बाहिर व्यवस्थापन गर्ने तयारि भईरहेको छ ।’

सो चितुवालाई कास्कीको पोखरा ३१ पच्भैया प्राणि उड्डानमा पठाउने तयारि भईरहेको प्रमुख बरालले बताए । उक्त चितुवा मान्छे खाने चितुवा हो या होइन त्यो भनेर अहिले नै एकिन हुन नसकेको डिभिजन बन प्रमुख बरालको भनाई छ । तर हेर्दा एकदम आक्रामक देखिने उनले बताए ।

तनहुँको भानु नगरपालिका हुदै आबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दिपुर गाउँपालिका क्षेत्रमा चितुवाले पछिल्लो समय आतंक मच्याएको छ ।

तनहुँमा नरभक्षी चितुवाले आतंक मच्चाईरहँदा कास्कीको पोखरामा समेत बालिकाको ज्यान लिएको छ । पोखरा महानगरपालिका ३२ काठेगाउँकी ७ वर्षीया बालिकाको विहीबार साँझ चितुवाले ज्यान लिएको हो । स्थानीय दीपक बिक र अप्सरा बिककी छोरी पूजालाई छिमेकीको घरबाट आफ्नो घर फर्कने क्रममा बाटैबाट चितुवाले लगेको स्थानीयले बताएका छन् ।

९ जनाको मृत्यु, ४ घाइते

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाएका छन । त्यस्तै ४ जना बालबालिका घाइते रहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । अहिले सम्म ७ वटा चितुवा खोरमा परेका छन । तनहुँको भानु नगरपालिकाको विभिन्न बनमा चितुवाले आतंक मच्याएको थियो । तर अहिले उक्त स्थानमा शान्त रहेको छ ।

यी हुन चितुवाको आक्रमणबाट ज्यान गुमाउने ९ बालबालिका

तनहुँमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाईसकेका छन । चितुवाको आक्रमणबाट विक्रम संवत् २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विक्रम संवत् २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, विक्रम संवत् २०७५ मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।

त्यस्तै २०७६ पुष १४ गते शुक्लागण्डकी-३ रातमाटाका २ वर्षीय रविन नेपाली, २०७६ पुष २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहि पाखाका १० वर्षिय इश्क सुनारको मृत्यु भईसकेको छ ।

त्यस्तै २ वर्षको अवधिमा ४ जना बालबालिका चितुवाको आक्रमणबाट घाइते छन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds