चलचित्र पत्रकार संघ, पोखरामा गिरी निर्वाचित, मिडटाउन सिनेमाजको बधाई

चलचित्र पत्रकार संघ, पोखरामा गिरी निर्वाचित, मिडटाउन सिनेमाजको बधाई

chapasa (1)

चलचित्र पत्रकार संघ, पोखरा शाखाको अध्यक्षमा अरुण गिरी निर्वाचित भएका छन् । संघको चौथो अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । गिरीले निकटतम प्रतिद्वन्द्वी राजाराम पौडेललाई ४ मतान्तरले पराजित गरे । गिरीको १५ र पौडेलको ११ मत आएको थियो ।

उपाध्यक्षमा सन्तोष सुवेदी निर्विरोध चयन भए । यस्तै, सचिवमा प्रभु अधिकारीले सुशन घिमिरेलाई ४ मतान्तरले पछाडि पारे । अधिकारी र घिमिरेले पनि क्रमशः १५ र ११ मत प्राप्त गरे । सह-सचिवमा सन्तोष बस्याल निर्विरोध चयन भए । कोषाध्यक्षमा भने कसैको उम्मेदवारी परेन । अबको कार्यसमिति बैठकबाट सदस्यमध्येबाट मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष गिरीले जनाए ।

संघका सदस्यहरुमा शंकर तिवारी, आशिष पुरी, प्रकाश राज तिवारी (अर्पण), बिनिता सुनार निर्विरोध चयन भएका हुन् । केन्द्रिय प्रतिनिधिमा बोधराज रेग्मी र सुशन घिमिरे चयन भएका छन् । पुरीले गण्डकन्यूज डटकमबाट प्रतिनिधित्व गरेका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका संयोजक त्रिभूवन पौडेल संयोजक र चलचित्र निर्देशक घनश्याम लामिछाने, पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधान सदस्य रहेको निर्वाचन समिति बनेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले मनोरञ्जन क्षेत्र सबैभन्दा बिक्ने क्षेत्र भएकाले यसमा कलम चलाउनेहरुको अभाव पोखरामा खड्किएको अवस्थामा नयाँ कार्यसमितिले ध्यान दिने विश्वास गरे । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले मोफसल पत्रकारिता बिट अवधारणबाट बाँच्न नसकेको बताएका थिए । गण्डकी प्रदेशले पोखरालाई फिल्म सिटी घोषित गरेता पनि बिट पत्रकारितामा मोफसल अझै पछि रहेको उनको धारणा थियो ।

त्यस्तै, चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष दिनेश सिटौलाले पत्रकारले इमान्दार भएर काम गर्नु पर्ने उल्लेख गरे । चलचित्र पत्रकारितामा निश्पक्ष भएर लाग्न नयाँ कार्यसमितिका पदाधिकारीलाई उनको आग्रह थियो। ‘पछिल्लो समयमा चलचित्र पत्रकारितामा नकारात्मक धारणा आएका छन्’, उनले भने, ‘यसले समाजमा चलचित्र प्रति दर्शकहरुको रुचीलाई घटाएको छ ।’

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले मोफसलमा व्यवसायिक रंगपत्रकारिताको माहौल थालनी गर्नु पर्ने बताए । नयाँ कार्यसमितिबाट पोखरा रंगपत्रकारितामा धेरै अपेक्षा गरेको उनको भनाइ थियो ।

निर्वतमान अध्यक्ष रेम बिकको अध्यक्षतामा सम्पन्न भएको अधिवेसनमा गुरुङ फिल्म एशोसेसनका अध्यक्ष भोज बहादुर गुरुङ र पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधान लगायतले बोलेका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई मिडटाउन सिनेमाजको बधाई

यसैबीच, चलचित्र पत्रकार संघ, पोखराका नवनिर्वाचित कार्यसमितिलाई न्युरोडस्थित मिड टाउन सिनेमाजले बधाई तथा सम्मान गरेको छ । संघका पदाधिकारी तथा सदस्यहरुलाई बुधबार सम्मान र स्वागत कार्यक्रमको आयोजना गर्दै आगामी दिनमा संगसंगै सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

अध्यक्ष अरुण गिरीले मिड टाउन सिनेमाजलाई न्यानो आतिथ्यता र स्वागतका लागि धन्यवाद दिँदै संघलाई सिनेमाजको साथ, सहयोग र सल्लाहको अपेक्षा रहेकोे बताए । संघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सिनेमाजका प्रोपर्टी म्यानेजर विवेक श्रेष्ठले कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ