गोरखामा भाइरल ज्वरोको संक्रमण: ४० विद्यार्थी बिरामी, रुघाँखोकी संगै घाँटी र छात्ती दुख्ने समस्या

गोरखामा भाइरल ज्वरोको संक्रमण: ४० विद्यार्थी बिरामी, रुघाँखोकी संगै घाँटी र छात्ती दुख्ने समस्या

Viral Fever

गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटको प्रभा माध्यमिक विद्यालयका ४० भन्दा बढी विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण देखिएको छ ।

उनीहरुमा रुघा लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र राज धितालले बताए ।

प्रधानाध्यापक धितालका अनुसार कक्षा ६-८ का विद्यार्थीमा यस्तो समस्या बढी देखिएको छ । ‘करिब १०/१२ दिन भयो समस्या देखिएको,’ उनले भने, ‘तर गत सोमबारबाट भने अलि बढीनै रुपमा फैलियो ।’

सूचना पाएसँगै स्कुलमै पुगेर विद्यार्थीहरुको उपचार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए । ‘हामीले मंगलबार मात्रै जानकारी पायौं, थाहा पाएलगत्तै विद्यालयमै पुगेर उपचार समेत गर्‍यौ,’ उनले भने ।

दवाडीका अनुसार विद्यार्थीमा ज्वरो आउने, रुघाँखोकी लाग्ने तथा घाँटी र छात्ती दुख्ने समस्या देखिएको हो ।

‘भाइरल ज्वरोको लक्षण हो यो, त्यसैले आत्तिन पर्ने केही छैन, सरसफाइ र खानपानमा ध्यान दिए पुग्छ,’ उनले भने ।

सरुवा रोग भएकाले पनि धेरैमा यो समस्या देखिएको दवाडीले बताए । साविकको खरिबोट गाविसको खिम्पु, ओलाङ र अपुनका बालबालिकामा यो समस्या बढी देखिएको उनको भनाइ छ ।

झोलिलो खानेकुरा खान र सरसफाइमा ध्यान दिन उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ