कोरोना सतर्कता: बन्दिपुर अस्पतालमा आइसोलेसन कक्ष स्थापना

कोरोना सतर्कता: बन्दिपुर अस्पतालमा आइसोलेसन कक्ष स्थापना

Bandipur Hospital

तनहुँ । विश्वभरि महामारीका रुपमा भैरहेको कोरोना भाइरस (कोभिड – १९) का शङ्कास्पद बिरामीको उपचारका लागि तनहुँको बन्दिपुर अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको छ । अस्पतालमा आठ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

उक्त कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

बन्दिपुर गाउँपालिकाले कोरोना भाइरसबाट बच्न सतर्कता अभियान पनि सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष थापाले बताए । कोरोना भाइरस स्वासप्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग रहन गाउँपालिकावासीलाई आग्रह गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

त्यस्तैगरि तनहुँकै शुक्लागण्डकी नगरपालिका–५ बलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा केही दिन अगाडि मात्रै १२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

कोभिड-१९ को रोकथामका र नियन्त्रणमा उच्च सतर्कताका लागि आँबुखैरेनी गाउँपालिकाले आइतबार स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । गण्डकी प्रदेशको प्रवेशद्वार समेत रहेको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पुलजीपमा सहायता कक्षा निर्माण गरेको हो ।

सहायता कक्षामा २ जना स्वास्थ्यकर्मीहरु बसेर जनचेतनामुलक सन्देश प्रदान गर्ने र सावुनपानीले हात धुन सिकाउने कार्य गरेका छन् ।

गण्डकी प्रदेश सरकारले यहाँसहित पोखराका पाँच अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरेको छ । पोखराका चार अस्पतालमा ७० श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ । मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक अस्पतालमा ३० र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० श्ययाको आइसोलेसन कक्ष स्थापना भएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds