तनहुँको शुक्लागण्डकी नगरपालिकामा ब्युटी पार्लर देखि शैेलुनसम्म बन्द

तनहुँको शुक्लागण्डकी नगरपालिकामा ब्युटी पार्लर देखि शैेलुनसम्म बन्द

Shuklagandaki Napa

तनहुँ । तनहुँका शुक्लागण्डकी नगरपालिका भित्रका ब्यूटि पार्लर, कपाल काट्ने पसल (शैलुन), जिम हल आइतबारबाट बन्द भएका छन् ।
शुक्लागण्डकी नगरपालिकामा मेयर किसान गुरुङको अध्यक्षतामा शनिवार बसेको बैठकले विश्वमा फैलिरहेको कारोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट बच्न मानिसहरुको भिडभाड रहने व्यवसायिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको हो । मानिसहरु जमघट हुने स्थानहरु बन्द गर्दा एक आपसमा भाइरस सङ्क्रमण दर कम हुने भएकाले सो निर्णय गरेको मेयर किसान गुरुङले जानकारी दिए ।

बैठकले नगरका सबै वडामा रहेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्ववंसेविका, कर्मचारीलाई भाइरसबारे सचेतना फैलाउन परिचालन गर्ने, ५ स्थानमा हेल्प डेस्क स्थापना गर्ने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकरी दिए । वडा नंं २ को कोत्रे, ४ को दुलेगौंडा, ६÷७ को खैरेनीटार, ८ को ढोरफिर्दी र ११ को सहिद फुलवारी अस्पतालमा सहयोगी कक्ष स्थापना गरिने उनले बताए ।

साथै अति आवश्यक सुरक्षा सामग्री मास्क, स्यानीटाईजर, गाउन लगायत खरिद गरि स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने, आइसोलेसन वार्ड स्थापना एवम् सञ्चालन गर्न जिपी कोइराला श्वास प्रश्वास अस्पताल, श्री ३ नं. बाहिनी, ढोर फुलबाराही अस्पताल र तनहुँ सेवा हस्पिटलसँग समन्वय गरिने नगरपालिको जनाएको छ ।

संघीय सरकारले गरेका निर्णय अनिवार्य रुपमा कार्यान्वयन गर्ने र नगरवासीलाई अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ । साथै दैनिक उपभोग्य सामानको उपलब्धताका लागि नियमन गर्न सरोकारवालसँग समन्वय गरि नियमित बजार अनुगमन गर्ने निर्णय गरिएको छ । मेयर गुरुङले भाइरसबाट सङ्क्रमण हुन नदिन यस क्षेत्रका सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उपमेयर सविता रसाईलीले यस्तो परिस्थितिमा नगरबासीलाई सचेत रहन आग्रह गरिन् । प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले स्वास्थ्यकर्मीलाई सजग भएर काम गर्न निर्देशन दिए । नगरपालिकामा हाल संघीय मातहत रहेको जिपी अस्पतालमा १२ र नगर मातहत रहेको निजि रुपमा सञ्चालित तनहुँ सेवा हस्पिटलमा २ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ