
तस्विरः सुमन ढुंगाना
माथिको यो तस्विर एकपटक नियालेर हेर्नुहोस् । अगाडिको प्लास्टिकमा बेरिएको शव स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ का ६० वर्षीय गुरुङ थरका बृद्धको हो । जुन शव अन्तिम संस्कारका लागि लगिँदैछ । सिधै अगाडिको अर्को एम्बुलेन्सबाट चिहाएर हेर्ने मृतककी श्रीमती हुन् र अर्की छोरी । पारिवारिक चलन अनुसार अन्तिम संस्कार त गर्न पाएनन् नै अन्तिम चोटी गर्लम्म अंगालो हालेर रुने मौका समेत उनीहरुलाई भएन । कारण, मृतक कोरोना संक्रमित हुन् ।
मृतककी श्रीमती र छोरी अन्तिमपटक शव हेर्नका लागि अस्पताल परिसरमै दुई घन्टादेखि एम्बुलेन्समै बसिरहेका थिए । अन्तिम संस्कारका लागि पोखराका स्थानीय बाधक बनेपछि उनीहरुमाथि झन् पीडा थपियो । मृतकसँगै आइसोलेसन वार्डमा अन्य तीन कोरोना संक्रमित थिए । अघिल्लो दिन साढे ११ बजे बितेको मान्छे भोलिपल्ट ५ बजेसम्म शव व्यवस्थापन नहुँदा ३ जना उत्तिकै आतंकित थिए । झनै मनोबल उच्च पारेर कोरोनालाई जित्न सकिन्छ भनेर उत्प्रेरणा जगाउनुपर्ने बेला निधन भएको यत्तिको समय बित्दा समेत शव अलपत्र हुँदा उनीहरुमा मानसिक त्रास कति भयो होला ? हामी अनुमान पनि गर्न सक्दैनौं ।

यसमा जिम्मेवार स्थानीय प्रशासन मात्र होइन, शव बोक्ने चालक नै समयमा तयार भएनन्, त्यसमाथि मुलुककै ठूलो महानगरपालिकामा बस्ने शिक्षित भनिनेहरु पनि उत्तिकै गैरजिम्मेवार रहे । जसले सुरक्षित तरिकाले शव गाड्न समेत अवरोध गरेर अमानवीय चरित्र उदांगो रुपमा प्रस्तुत गरे । कोरोना संक्रमणबाट मृत्यु हुने वालिङका यी बृद्ध गण्डकी प्रदेशमै पहिलो मृतक हुन् । तर, १९ घण्टासम्म उनको शव व्यवस्थापन गर्न प्रदेश सरकार, पोखरा महानगर चुक्यो । कोरोनाबाट मृत्यु हुनेलाई जलाउने कार्यविधिमा उल्लेख छ । परम्परा अनुसार गाड्नुपर्ने माग परिवारले गरेपछि उनलाई गाड्ने ठाउँ खोजिएको थियो ।
कोरोना संक्रमितको शव व्यवस्थापन समिति संयोजकसमेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद ढकालका अनुसार सोमबार बिहान पोखरा १५, हरियो खर्क अस्पताल नजिक गाडिने मनसाय थियो तर, स्थानीयको विरोधपछि खाल्डो खन्न गएको महानगरको जेसीबी पनि फर्किएको थियो । त्यसपछि, मणिपाल शिक्षण अस्पतालको उत्तर पश्चिमस्थित सेतीनदीको रिठ्ठे घाटमा गाड्ने प्रयास गर्दा स्थानीयवासीले आपत्ति जनाएपछि समस्या भएको हो । पोखराका वडा नं. ११ र २० का केही स्थानीय तगारो बने । उनीहरुले सुरक्षित तबरले नदि किनारमा गाड्न समेत अवरोध गरे । शव गाड्नका लागि घाटमा जेसिबिले खाल्डो खनिसक्दा स्थानियको अवरोध भएको थियो । उनीहरुले आफूले प्रयोग गरिरहेको घाट नदिने बताएका थिए । सो क्षेत्र भलामबासीको घाट क्षेत्र हो ।
पोखरा ११ फूलबारी र पोखरा २० भलामबासी, जो शव लगिरहँदा बाटो छेक्न लागिपरे, उनीहरुको अहिले सामाजिक सञ्जालमा चर्को अलोचना भइरहेको छ । बाटो छेक्न स्थानीयबासीसँगै स्थानीय जनप्रतिनिधि, प्रदेश सांसदसमेत गएपछि प्रहरीले लाठी चार्ज गर्नुपरेको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार प्रदेश सांसद एवं विन्दुकुमार थापा, पोखरा ११ का अध्यक्ष मोहन बास्तोला, वडा नं. २० का अध्यक्ष सिम गुरुङ नै शव व्यवस्थापनमा बाधक बनेका थिए ।

केहीबेर प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । भिडलाई तितरबितर पार्न प्रहरी टोलीलाई ठूलो सकस परेको थियो । ढुंगामुढा नै हुन थालेपछि प्रहरीले लाठी चार्ज गरेका थिए । झडपमा दुवै तर्फका केही व्यक्ति घाइते भए । प्रहरीले पोखरा महानगरपालिका वडा नं २० भलामका ५ र वडा न. ११ का फूलबारीका ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

घाट खोज्ने जिम्मा पोखरा महानगरपालिकालाई र व्यवस्थापन गर्ने जिम्मा भगवती दल गणलाई दिइएको थियो । शव व्यवस्थापनको स्थान तय हुन नसक्दा शव लैजान नेपाली सेनाको टोली ३ पटक अस्पताल पुगेर फर्किनुपरेको थियो ।

स्थानीयले अस्पताल नजिकै रामघाट हुँदाहुँदै अन्यत्र गाड्न लागिएकोमा असहमति जनाएका थिए । महानगरले भने रामघाटमा बालुवा चाल्ने मजदुरहरु धेरै रहेकोले अन्यत्र शव व्यवस्थापन गर्न लागिएको बताएको छ । मृतककी श्रीमती भारतमा उपचारपछि सँगै फर्केकी र घर आएपछि छोरीमा पनि संक्रमित हुने सक्ने भएकोले दुवैलाई क्वारेन्टिनमा राखिएको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ