पर्वत दुर्लुङ पहिराे: ८ जनाकाे शव भेटियाे, १ जनाकाे खाेजी जारी (भिडियोसहित)

पर्वत दुर्लुङ पहिराे: ८ जनाकाे शव भेटियाे, १ जनाकाे खाेजी जारी (भिडियोसहित)

Durulung pahiro (1)

पर्वतकाे कुश्मा नगरपालिका ३, दुर्लुङमा शनिबार राति गएकाे पहिराेमा परी हराएकामध्ये ८ जनाकाे शव भेटिएकाे छ । पहिराेमा परी अझै १ जना हराएकाे र उनकाे खाेजी जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

शनिबार राति गएकाे पहिराेमा पुरिएका स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, मीन कुमारी थापा र नातिनी विविशा थापाकाे शव राति नै भेटिएकाे थियाे । तुलबहादुर र मिनकुमारी पतिपत्नी हुन् भने विविशा नातिनी हुन् । आइतबार बिहान दीपा थापा र कमला विक र प्रमिसा विक, सम्राट थापा, प्रमिशा विककाे शव भेटिएकाे छ । जेनिश विककाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

अर्को एक घर आधा मात्र पहिरोले बग्दा परिवारका व्यक्तिहरु भने जोगिएका छन् ।  पहिरो गएको स्थान ढकालबारी नजिकै काफलचौर काउलेमा हो । मृतक परिवारका पुर्ख्यौली थलो ढकालबारी रहेको र त्यहाँ पहिरोको जोखिम भएकाले त्यसबाट बच्न ५०० मिटर जति पर काउलेमा जग्गा लिएर घर बनाएका थिए । तर पहिरोकै कारण परिवारले मृत्यु वरण गर्नुपरेको छ ।

राति नै घटनास्थलमा पुगेकाे नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली पुगेर खाेजी र अविरल वर्षाका बीच उद्धार थालेका थिए । घटनास्थल नजिकै रहेका अन्य थप ३ घर परिवार जाेखिमाा परेपछि अन्यत्र सुरक्षित स्थानमा सारिएको पर्वत प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए ।

मुख्यमन्त्रीद्वारा दुख व्यक्त

भिषण वर्षाका कारण गएको पहिरोमा परी ठूलो जनधनको क्षतिप्रति गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री गुरुङले फेसबुक पेजमा आइतबार बिहान सन्देश जारी गरी पहिरोमा परी मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बेपत्ता भएकाहरु सकुशल फेला पर्ने अपेक्षासहित खोजी तथा उद्धार कार्यमा जुट्ने सवैप्रति उनले धन्यवाद प्रकट गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds