तनहुँको डुम्रेमा तयार भयो विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन

तनहुँको डुम्रेमा तयार भयो विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन

EV Chargeing Station Dumre Tanahun

तनहुँ । तनहुँको डुम्रेमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन निर्माण गरिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका-१ डुम्रेमा विद्युतीय सवारी साधनको प्रवर्द्धन र पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने उद्देश्यसहित चार्जिङ स्टेशन निर्माण गरिएको हो ।

सार्वजनिक निजी साझेदारीको आधारमा डुम्रेस्थित कुवेर आयल स्टोर्समा चार्जिङ स्टेशन निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । चार्जिङ स्टेशनका लागि वन कार्यालयले पाँच लाख रुपैयाँ अनुदान सहयोग गरेको छ ।

वन तथा वातावरण मन्त्रालयको सशर्त अनुदान अन्तर्गत विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने र पेट्रोलियम पदार्थ खपत कम गर्दै वातावरणमा शुद्धता ल्याउने उद्देश्यसहित तनहुँमा पहिलो पटक सो निर्माण गरिएको प्रमुख बरालले बताए ।

‘काठमाडौँ र पोखराको केन्द्रविन्दुमा चार्जिङ स्टेशन निर्माण हुने भएकाले यहाँ निर्माण हुने स्टेशनले धेरैलाई प्रत्यक्ष लाभ पुग्नेछ’, उनले भने, ‘यस चार्जिङ स्टेशनबाट साना तथा ठूला विद्युतीय सवारी साधन चार्ज गर्न सकिन्छ।’

स्टेशनको सम्पूर्ण व्यवस्थापन कुवेर आयल स्टोर्सले र चार्जिङ स्टेशनका लागि अन्य आवश्यक व्यवस्थापन बन्दीपुर गाउँपालिकाले समेत गर्ने भएको छ । सवारी साधनको आवागमन भइरहने मुख्य शहरभित्रका मूल सडक तथा राजमार्गसँग जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेस्टुराको पार्किङस्थल चार्जिङ स्टेशनका लागि उपयुक्त हुने देखिएको छ ।

डिजेल र पेट्रोलबाट चल्ने गाडीबाट अत्याधिक प्रदुषण हुने भएकाले यस्तो मेशीन जडान हुने भएपछि प्रदुषणमा कमी आउने बताइएको छ । सवारी साधनहरुको व्याट्री चार्ज गर्दा युनिटको आधारमा शुल्क लिइने पम्प संचालक गोपाल प्रसाद अधिकारीले बताए। काठमाडौंबाट पोखरा, लमजुङ, गोरखा, स्याङजा, म्याग्दी, बाग्लुङ लगायतका जिल्ला जाने गाडीलाई चार्जिङ स्टेशन राखिएपछि व्याट्री चार्ज गर्न सहज हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ