तनहुँमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, २ जना अझै बेपत्ता (अपडेट)

तनहुँमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, २ जना अझै बेपत्ता (अपडेट)

Rishing Pahiro ghar

किरण श्रेष्ठ, तनहुँ । आइतबार रातिदेखी परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा १० जनाले ज्यान गुमाएका छन् । त्यस्तै, पहिरोमा परेर अझै २ जना बेपत्ता रहेका छन् । तनहुँको म्याग्दे गाउँपालिकामा १ जना र व्यास नगरपालिकामा ४ जना, ऋषिङ गाउँपालिकामा ५ जना गरि अहिलेसम्म कुल १० जनाको मृत्यु भएको छ ।

त्यस्तै व्यास नगरपालिकाका २ जना बेपत्ता भएका छन । त्यस्तै पहिरोमा परेर घाइते भएका २ जनाको पोखरामा उपचार भईरहेको छ ।

जिल्लाको म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १५ वर्षीय लक्ष्मी विकको मृत्यु भएको म्याग्दे-६ का वडाअध्यक्ष बसन थापाले जानकारी दिए । ‘पहिरो आएको थाहा पाएपछि परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएछन्’, वडाध्यक्ष थापाले भने, ‘भाग्न नपाउदै पुरिएर एक जनाको ज्यान गयो ।’

यसैगरी,  व्यास नगरपालिका-९ माझफाटमा पहिरोले पुरिएर एक जना ७० वर्षीया बृद्धा मैत्रिकुमारी घर्तिको मृत्यु भएको व्यास-९ का वडाअध्यक्ष सुरेश थापाले जानकारी दिए ।

त्यस्तै सोही स्थानको अर्को एकै घरका अन्य ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास-९ माझफाटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा र २१ वर्षीया बुहारी अञ्जना थापा रहेको वडाअध्यक्ष थापाले जानकारी दिए ।

पहिरोमा घाइते भएका सोही घरका अन्दाजी ५० वर्षीय केशरबहादुर थापालाई भने उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको वडाअध्यक्ष थापाले बताए । केशार बहादुर कमलाका पति हुन् ।

त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलीमा पहिरोले घर बगाउदा एकै परिवारका पाँच जना मृत्यु भएको छ । राती १ बजे घरमाथि रहेको सडकबाट खसेको पहिरोले आन बहादुर थापाको घर बगाएको हो ।

पहिरोमा परि थापाका दुई छोरा, दुई बुहारी र एक नातिनीको मृत्यु भएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

उनका अनुसार आन बहादुर थापाका साहिँला छाेरा ३० वर्षीय भेषबहादुर थापा, २७ वर्षिया बुहारी नानुमाया थापा, ६ वर्षिया नातिनी छाेरी अमिषा थापा, कान्छा छाेरा २२ वर्षीय महादेव थापा र कान्छी बुहारी १९ वर्षिया मनिसरा थापाको मृत्यु भएको गाउँपालिका अध्यक्ष श्रेष्ठ जानकारी दिए । सबै ५ जनाकै शव सोमबार साँझ सम्म निकालिएको हो ।

घाइते आन बहादुर थापाकी श्रीमती ५८ वर्षिया ज्योती थापाको हात भाँचिएर उपचारको लागि पोखरा पठाईएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रृंग पथको एक दर्जन बढि स्थानमा पहिरो खसेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै बेपत्ता हुनेमा व्यास-९ माझफाटका २० वर्षीय राजेश थापा र व्यास-११ राम्चे ओडारेका पदम चेपाङ्ग रहेका छ्न । उनीहरुको खोजि भईरहेको व्यास-९ का वडाअध्यक्ष सुरेश थापा र व्यास-११ का वडाअध्यक्ष निरबहादुर खड्काले जानकारी दिए ।

यस्तै, म्याग्दे खोलाले तुरतुरेमा एक घर बगाएको छ । जनजागृती मोटरमार्गको मोटरेवल पुल पनि भासिएको छ ।

त्यस्तै म्याग्दे–७ घुम्तीमा म्याग्दे र स्याङदे खोलाले त्यहाँका घरहरु डुबानमा परेका छन् भने एउटा मोटरेवल पुल जोखिममा छ । कजवे बगाएको स्थानियले बताएका छन् ।

त्यस्तै, जिल्लाको भिमादबाट मालेवगरतर्फ जाने बुडुवा खोलामाथिको मोटरेबल पुल समेत जोखिममा रहेको छ । शुक्लागण्डकी नगरपालिका ११ जरेबरमा बर खोलाले काठे पुल बगाएको छ ।

त्यसैगरी, भिमाद नगरपालिका ८ जोड्ने उक्त पुल बगाएपछि खोला वारपार गर्न समस्या हुने भएको छ । खोलाले जरेबरको बस्तीतर्फ नदी कटान रोक्न हालिएको जाली ग्याबिन समेत बगाउँदा १० घर जोखिममा परेको स्थानियले जानकारी दिएका छन् ।

त्यस्तै, पृथ्वी राजमार्ग सहित अन्य सडक समेत पहिरोले गर्दा अवरुद्ध भएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

खोला र नदिमा पानीको बहाब बढेको छ । तनहुँको सेती, मादी, बुल्दी, चुदी लगाएतमा पानी अहिलेसम्म कै उच्च भएको बताइएको छ ।

 मृत्यु हुने १० हुनुपर्नेमा यसअघि अन्यथा भएकोमा सच्याइएको छ । – सं.

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ