मुस्ताङमा उत्पादित जिम्बुको माग पोखरा सहित आसपासका जिल्लामा उच्च

मुस्ताङमा उत्पादित जिम्बुको माग पोखरा सहित आसपासका जिल्लामा उच्च

Jimbu sukaudai

Photo: RSS

वासुदेव पौडेल/निरज थकाली – हिमाली जडिबुटी जिम्बु यतिखेर धेरैजसोका घरका भान्छामा पाउने गरिन्छ । पछिल्ला समयमा बढ्दै गएको थकाली खाना प्रतिको मीठो स्वादमा जिम्बुको ठूलै भूमिका छ । हिमाल पारीको जिल्ला मुस्ताङको जिम्बु यतिखेर गण्डकी प्रदेशको राजधानी पोखरासहित यस आसपासका जिल्लामा पुग्ने गरेको छ । विशेष गरी दाल झान्ने प्रयोजनमा सर्वसाधारणले यसको उपयोग गर्दछन् । वास्नादार जिम्बुले झानेको दालमा छुट्टै स्वाद त हुन्छ नै यो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिन्छ ।

रुघा खोकी लागेका व्यक्तिले जिम्बु राखेर पकाएको पानी पिएमा निको हुने र स्वासप्रस्वासजन्य अन्य समस्यामा पनि यसले फाइदा पुर्याउने गर्दछ । समुद्री सतहबाट तीन हजार मिटर भन्दा माथिको हिमाली क्षेत्रमा जिम्बु पाइन्छ । मुस्ताङको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका वडा नं ३ छुसाङका स्थानीय समाजसेवी एवम् मुखिया विनोद गुरुङ पछिल्ला समयमा मुस्ताङमा उत्पादित जिम्बुको पोखरा र आसपास क्षेत्रमा निकै माग हुने गरेको बताउछन ।

हिमाली क्षेत्रका वासिन्दाको आयआर्जनको राम्रो विकल्प जिम्बु हुने भएपनि कानूनी रुपमा यसको बेचबिखनलाई भने अझै खुल्ला नगरिँदा समस्या हुने उनले बताए । “जिम्बुको बजारमा निकै माग छ, खुल्ला व्यापारलाई सरकारले कानूनी रुपमा नै व्यवस्था गरिदिनुपर्छ,” – उनले भने, “हिमाली क्षेत्रका सर्वसाधारणलाई आयआर्जनमा जोड्न यसको व्यापारले बैधानिकता पाउनुपर्छ ।” छुसाङ तथा उपल्लो मुस्ताङका विभिन्न भागमा जिम्बु पाइन्छ । टिप्न जान भने जोखिमी हुने गरेको र कतिपय सर्वसाधारणले टिप्न जाँदा ज्यान नै गुमाउनुपरेको बताइन्छ । टिप्ने समय असार साउनको समय भए पनि यस वर्ष कोरोनाले विगतका तुलनामा कमी आएको छ । अहिले हरियो भएर जिम्बु देखिने भएकोले टिप्नु उपयुक्त मानिन्छ । टिपेर ल्याएको जिम्बु सुकाएर मात्रै बेचिन्छ ।

यसको मूल्य प्रतिकिलो न्युनतम तीन हजारदेखि अधिकतम पाँच हजार रुपैयाँ पर्छ । व्यापारीले साना प्याकेट बनाएर बजारमा बेच्छन्। मुस्ताङबाट वर्षेनी चार पाँच सय किलोसम्म जिम्बु बजारमा जान्छ । मुक्तिनाथ दर्शन गर्ने दर्शनाथीले यहाँको कोशेलीस्वरुप जिम्बु लिएर फर्कन्छन् । नेपाल–चीन बीचको कोरला नाकाका साथै उपल्लो मुस्ताङ लगायतका स्थान घुम्न जाने सर्वसाधारणको चाप बढेका कारण यहीँबाट जिम्बुको ब्यापार हुने गरेको छ ।

हिमाली भूभागमा चीसो बढेपछि जिम्बु तथा अन्य हिमाली जडिबुटी लिएर पहाड तथा तराई झर्ने यहाँका सर्वसाधारण पहाडी तथा तराईका सर्वसाधारणसँग मितेरी साइने गाँस्ने गर्दछन् । मितेरी साइनो गाँसिएसँगै हिमाल, पहाड र तराईका वासिन्दाबीच एकआपसमा अन्तरघुलन हुन सहयोग पुग्छ । हिमाली भेगबाट विगतमा जिम्बु लिएर घरघर आउने क्रम अत्याधिक हुने गर्दथ्यो । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका हरिबहादुर थापा पछिल्ला समयमा यातायातको बढ्दो सुविधासँगै घरघरमा जिम्बु लिएर आउने प्रचलन घटेको बताउछन ।

अचेल डिपार्टमेन्टल स्टोर्सका साथै ठाउँ ठाउँका पसलमा साना प्याकेटमा जिम्बु किन्न पाइन्छ । अधिकांशको रोजाइमा पर्ने थकाली खानाको मुख्य पहिचान जिम्बु नै रहेकोे मुस्ताङको लेतेस्थित होटेल सि यु लजका सञ्चालक अमित तुलाचनले बताए । “जिम्बुले झानेको दालको मगमग वास्ना सहितको थकाली खानाले जो कोहीलाई लोभ्याउँछ,” उनले भने, “हिमाली जडिबुटी जिम्बुलाई राज्यस्तरबाटै संरक्षण र उपयोग गर्ने वातावरण तयार गरिनुपर्छ ।” रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds