बागमती प्रदेशमा १० को मृत्यु, २२ जना बेपत्ता

बागमती प्रदेशमा १० को मृत्यु, २२ जना बेपत्ता

flood

बाढी पहिरोमा परेर बागमती प्रदेशका (काठमाडौं उपत्यकाबाहेक) विभिन्न १० जिल्लामा १० जनाको मृत्यु भएको छ। असार २४ पछिको वर्षासँगै आएको बाढी र पहिरोमा परेर बिहीबारसम्म २२ जना बेपत्ता भएका छन्।

१४ जना घाइते भएका छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा बाढी पहिरोले क्षति गरेको छ। पहिरोले सिन्धुपाल्चोक ६ जना र धादिङमा ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सिन्धुपाल्चोकमा १ महिला, १ पुरुष, १ बालक, ३ बालिकाको मृत्यु भएको छ। यस्तै धादिङमा २ महिला, १ पुरुष र १ बालिकाको मृत्यु भएको छ। कार्यालयका अनुसार वेपत्ता हुने सबै सिन्धुपाल्चोकका हुन्।

बेपत्ताको खोजीसँगै र घाइतेहरूको उपचार भरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरिले बताए। उनका अनुसार भौतिक संरचनाको क्षतिको विवरण संकलन हुन बाँकी छ। बिहीबार सम्ममा १० जिल्लाका १ सय ८ वटा पक्की तथा कच्ची घरमा क्षति पुगेको छ।

५९ वटा कच्ची घर, २६ वटा पक्की घर र २३ वटा गोठ÷टहरामा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा ५ वटा पक्की पुल र ५ वटा झोलुंगेपुलमा क्षति पुगेको छ। प्रदेश सरकारको विपद् व्यवस्थापन समिति र जिल्लास्थित विपद् समितिको समन्वयमा सुरक्षा निकाय बाढी पहिरो पीडितको उद्धार तथा व्यवस्थापनमा जुटेको गिरिले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ