पहिरोले थुनिएर ठूलो ताल बनेको गोरखाको नौलीखोला बग्‍न थाल्यो

पहिरोले थुनिएर ठूलो ताल बनेको गोरखाको नौलीखोला बग्‍न थाल्यो

Nauli khola Gorkha

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ मा रहेको पहिराले थुनिएको नौलीखोलामा पानी बग्न थालेको छ । पहिरोले नौलीखोला थुनिएपछि ठूलो ताल बनेको थियो ।

शुक्रबार राति पहिरो खसेर ताल बनेको बुढीगण्डकी नदीको सहायक नदीको रुपमा रहेको नौलीखोलामा शनिबार दिउँसोदेखि पानी बग्न थालेको प्रहरीले जनाएको छ ।

थुनिएर ताल बनेको नौलीखोलामा जमेको पानी बिस्तारै बग्न थालेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

एसपी गुरुङले भने, ‘पानी बग्न थालेपछि जोखिम घटेको छ । अहिले माटो खोतल्दै खोला बग्न थालेको छ ।’ अनुमानित ५० मिटर लम्बाई र २४ मिटर चौडाईको ताल बनेको एसपी गुरुङको भनाइ थियो ।

नौलीखोला थुनिएपछि लापुस्थित आसपासका स्थानीय त्रसित बनेका थिए । लापुस्थित मापुडाँडामा आएको पहिरोसँगै बगेको ठूला ढुंगाले नौलीखोला थुनिएको थियो ।

नदी थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका जोखिम क्षेत्रमा पर्ने न्याउली बस्तीका १५ घरका मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो ।

त्यहाँको अवस्था बुझ्न माछिखोला प्रहरी चौकीबाट शनिबार बिहान सईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो । खोला थुनिएपछि स्थानीयलाई सजग रहन स्थानीय प्रशासनले आग्रह समेत गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ