तनहुँको भानुमा स्थानीयमा कोरोना संक्रमण पुष्टि, नगरपालिका एक हप्ता बन्द

तनहुँको भानुमा स्थानीयमा कोरोना संक्रमण पुष्टि, नगरपालिका एक हप्ता बन्द

Bhanu Municipality

तनहुँ । तनहुँको भानु नगरपालिका–१ का स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीयमा कोरोना पुष्टि भएसंगै मंगलबारदेखि भानु नगरपालिका एक हप्ताका लागि बन्द गरिएको छ ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा एक हप्ताको लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

नगरवासीलाई कोरोना सङ्क्रमणको जोखिमबाट बचाउन नगरपालिका र सम्पूर्ण वडा कार्यालय आजदेखि आगामी भदौ २ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाका केही क्षेत्रमा प्रतिनिधिमूलक रुपमा गरिएको परीक्षणमा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र कार्यालयहरुमा सेवाग्राहीको भीडभाड बढेकाले सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

नगरपालिकाभित्र रहेका सार्वजनिक सेवा प्रवाह गर्ने सङ्घसंस्था, वित्तीय संस्थाको कार्यालय पनि बन्द हुने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी नगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधन तथा अत्यावश्यक सेवाका वस्तु तथा सेवाहरु बन्द गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

संक्रमितलाई पोखरा रिफर

श्वासप्रश्वासमा समस्या भएपछि कोरोना संक्रमितलाई पोखरा रिफर गरिएको छ । सोमबार भानु नगरपालिका–१ का ३४ वर्षीय स्थानीय कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

कोरोना संक्रमित पुरुषलाई शुक्लागण्डकी नगरपालिका स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखिएको थियो ।

उपचार केन्द्रको आइसोलेसनमा राखिएका ती पुरुषलाई ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिए ।

कन्ट्याक्ट ट्रेसिङमा १ सय २४ जनाकाे स्वाब संकलन

संक्रमित व्यक्ति ठेक्कापट्टा गर्ने स्थानीय भएको हुँदा कन्ट्याक्ट ट्रेसिङ थालिएको छ ।

उनको सम्पर्कमा आएकाको एक सय २४ जनाको मंगलबार स्वाब नमुना संकलन गरिएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

‘उनी आँबुखैरेनी, डुम्रेलगायत क्षेत्रमा पुगेको तर जिल्ला बाहिर भने यात्रा नगरेको भेटिएको छ ।’ भट्टराईले भने ‘कामको सिलसिलामा बेशीशहरसम्म पुगेको हो कि भन्ने अनुमान गरिएको छ, त्यसै अनुरुप कन्ट्याक्ट ट्रेसिङ अगाडि बढाएका छौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds