रोमान्सका लागि फेक आइडी ! पोखरा सँगै जाम् भनेर अपहरणको नाटक

रोमान्सका लागि फेक आइडी ! पोखरा सँगै जाम् भनेर अपहरणको नाटक

asik kumari

सानु दहितको नाममा फेसबुक आइडी, प्रोफाइलमा सुन्दर युवतीको तस्विर । फेसबुकमा जोडिए नवलपरासीका युवा । च्याटमा गफ शुरु भयो । यो क्रम निरन्तर चलिनै रह्यो । फेसबुक हुदै मोबाईल फोनमा पनि निरन्तर कुरा हुन थाल्यो । केटीप्रति केटाको लगाव बढ्दै गयो । केटाले भिडियो कल गरौं भन्दा केटीले आनाकानी गर्दै टारिरहिन् ।

दुई सन्तानकी आमा ।  उमेरले ३३ लागेकी । उनी फेसबुकको प्रोफाइलमा रहेको फोटोजस्तो सुन्दर थिइनन् । फोनमा भेट्ने कुरा भयो । केटीले पोखरामा पनि आफ्नो घर रहेको बताइन् । नेपालगन्जमा व्यापार व्यवसाय गरेको फूर्ती लगाइरहिन् । केटा अझ आकर्षित हुँदै गए । भेट्ने कर गर्न थाले । केटी पनि राजी भइन् र भनिन्, ‘म आफ्नै गाडीमा पोखराको घरमा जाने तयारीमा छु । त्यही बेलामा बाटोमा भेटौला र पोखरासँगै जाम्ला ।’

फेसबुके प्रेमीसँग रोमान्स गर्ने सपना देखेका केटाले छिटो आउन कर गरिरहे । यो या त्यो बहानामा महिलाले टारिरहिन् । यही क्रम चलिरहेको थियो । केटाको धैर्यताको बाँध टुटिसकेको थियो । उनले नेपालगन्ज भएपनि भेट्न आउने बताएपछि एक दिन केटी नेपालगन्जबाट हिडेको बताइन् । उनले चन्द्रौटामा पुगेपछि पैसा, गहना, मोबाइल चोरी भएको र आफू अपहरणमा परेको नवलपरासीका केटालाई बताइन् । प्रहरीलाई फोन गरिन्, ‘म शौचालयमा छु । चार जनाले मलाई अपहरण गरेका छन् । अर्को ठाउँमा लैजाने कुरा गर्दैछन् । मलाई उद्दार गर्नु पर्यो ।’

घटना यही भदौ २६ गतेको हो । युवती अपहरणमा परेको बाँके प्रहरी, प्रदेशका डीआइजी हुँदै कुरा हेडक्वाटरसम्म पुग्यो । जिल्ला र प्रदेशमात्रै होइन, पुरै हेडक्वाटर नै परिचालन भयो । फोनको लोकेसन ट्राकिङ गर्दा नेपालगञ्ज नै देखाइरहेको थियो । यसले प्रहरीलाई अझ तनाब बढ्यो । प्रहरीले भोलिपल्ट २७ गते नेपालगन्जको फूल्टेक्रामा उनलाई आफ्नै डेरामा भेटायो ।

बर्दियाबाट नेपालगञ्ज आएर फुल्टेक्रा स्थित शान्ति चौधरीको घरमा डेरमा बसेकी ३३ वर्षकी आशिक कुमारी चौधरीले रचेको नाटक हो यो । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मैनवा बस्ने उनको शिक्षा साधरण लेखपढ हो । उनको यो नाटकले बाँके प्रहरी, प्रदेश डिआइजी हुँदै प्रहरी हेडक्वार्टरसम्मले सास्ती भोग्नु पर्यो ।

बाँके प्रहरीले फेला पारेको आशिकलाई केरकार गर्दा उनले केटाले भेट्न कर गरेपछि आफूले नाटक रचेको बताइन । आशिकले अरुकै तस्विर राखेर फेसबुक आइडी बनाएको र त्यही फेसबुकको प्रोफाईलमा रहेको युवतीप्रति आकर्षित भएका नवलपरासीका युवाबाट बच्न यस्तो नाटक गरेको तथ्य खुल्यो । उनले यस्तो नाटक रच्नुको पछाडि फेसबुकको प्रोफाईलमा रहेको युवती र उनी फरक थिइन् । श्रीमानसँगै बस्दै आएकी आशिकको यो नाटकबारे उनका श्रीमान् बेखबर थिए । जब प्रहरीले आशिकलाई नियन्त्रणमा लिएर गयो बल्ल उनले थाहा पाए ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आईतबार पत्रकार सम्मेलन गरेर यो घटना बाहिर ल्याएका हुन् । उनीमाथि प्रहरीले झुठो मुद्दा र गलत सूचना प्रवाह गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रमुख एसपी रानाले ‘अनुसन्धानका क्रममा ती महिलाले फेसबुकमा साथी बनाई रोमान्स गर्नका लागि नाटक गरेको भनि स्वीकार गरेको र ती युवाले भेटघाट गर्नु पर्ने बाध्यता पारेपछि आफू अपहरणमा परेको नाटक गरेको आशिक कुमारी चौधरीले खुलाएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ