‘मन्त्रीको कार्यसम्पादनमा डिष्टिङ्कसन नम्बर ल्याउने म, काम गरेन भनेर कुप्रचार गर्ने?’ : लालबाबु पण्डित

‘मन्त्रीको कार्यसम्पादनमा डिष्टिङ्कसन नम्बर ल्याउने म, काम गरेन भनेर कुप्रचार गर्ने?’ : लालबाबु पण्डित

Lalbabu pandit newss

स्वच्छ छविका सादगी नेता हुन् लालबाबु पण्डित । पछिल्लो निर्वाचनमा पार्टीले कोइराला गढ बिराटनगरमा शीर्ष नेता शेखर कोइरालासँग जुध्न टिकट दियो । जनताले पत्याए, जिते, फेरि मन्त्री बने । विदेश बस्ने डिभी, पिआरधारी कर्मचारीको दोहोलो काढेर वाहवाही कमाएका, ट्रेड युनियन खारेज गर्नैपर्छ नत्र देश उभों लाग्दैन भनेर अगाडि बढेका पण्डित दोस्रो कार्यकालमा भने गर्दा गर्दै पनि आलोचित बन्न पुगे । कारण हो, प्रत्येक मन्त्रालयमाथि प्रधानमन्त्री सचिवालयको हस्तक्षेप । फलतः लालबाबुले गत वर्षको क्याबिनेट पुनर्गठनसँगै मन्त्री पदबाट बिदा लिए ।

विजय गच्छदार मन्त्री हुँदैमा किनेको गाडी चढेका पण्डितमाथि दर्जन गाडी चढ्ने भनेर उछितो काढ्यो । साइकल मन्त्रीलाई दोहोरो इन्धन भनेर अलोचना भयो । तर अर्थमन्त्री बाहेक सबै मन्त्रीहरुलाई यसरी इन्धन वापतको रकम गएको कसैले देखेनन्, लालबाबु पण्डितलाई मात्र घोचपेच गरियो । यी दुई कुरामा अतिरञ्जित गरिएपनि अन्यमा उनको विरोध गर्ने ठाउँ पाएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा उत्कृष्ट नम्बर ल्याउनेहरु सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट लगायतलाई हटाए । प्रधानमन्त्रीले भनेका थिए – ‘अब रकेट गतिमा काम गर्ने मन्त्री बनाउँछु ।’ तर केही मन्त्री त लछारपाटो नलगाउने खालका बनाए । लालबाबुलाई रिप्लेस गरेका हृदयश त्रिपाठीले मन्त्रालय सम्हालेपछि के गरेका छन् ? समाचारमा कहिँ कतै खोजेर पनि देखिँदेन । एक हिसाबले भन्ने हो भने मुलुक संघीयतामा गएपछि कार्यान्वयन गर्ने क्रममा सबैभन्दा ठूलो काम कर्मचारी समायोजन नै लगभग लालबाबु पण्डितले पूरा गरे । प्रधानमन्त्रीले अरुबाट यो काम हुन सक्दैन, तपाईं सामान्य प्रशासन मन्त्री नै हुनुपर्छ भनेर बन तथा वातावरण मन्त्री बनाइएका पण्डितलाई १ महिनामै सामान्य प्रशासनको जिम्मा दिइएको थियो । रकेट स्तरमा काम गर्न बनाइएका मन्त्रीहरु एक पछि अर्को भ्रष्टाचार आरोपमा पनि मुछिए । अहिले फेरि हेरफेरको तयारी अन्तिम चरणमा पुगिसकेको छ ।

आफूले कार्यसम्पादनमा उच्च अंक ल्याएर पनि मन्त्रिपरिषद्मा हटाइएकोमा पण्डितले आक्रोश व्यक्त गरेका छन् । मन्त्री पदबाट हटेपछि पण्डितले भन्दै आएका छन् ‘मलाई मन्त्री बनाउनुपर्छ भनेर कहिल्यै भनेको थिइनँ । दुई पटक मन्त्री हुँदा मलाई पूर्व सूचना पनि थिएन, मेरो आग्रह पनि थिएन । दुवै पटक मैले नै गर्दा सपथ समेत ढिलो हुन पुगेको थियो, मलाई यसबारेमा थाहै हुन्थेन । दिएको जिम्मा पूरा गरे । काम गरेँ, अरुले के भने त्यो मेरो अधिनको कुरा भएन । तर प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्दै मन्त्रीहरु हेरफेर गर्न पाउनुहुन्छ, यसमा मलाई कुनै गुनासो छैन तर पछि कार्यसम्पादनमा फेल भनेर कुप्रचार भयो । यसमा मेरो चित्त बुझेको छैन । मैले सबै काम पूरा गरेकै हुँ । प्रधानमन्त्री कसको घेरामा हुनुहुन्छ ? त्यो उहाँले सोच्ने हो । मैले त अझै पनि उहाँको नेतृत्वमा यो बलियो सरकारले जनअपेक्षा अनुसार काम गरुन् भन्ने छ । पार्टी विवादमा रहँदा पनि मैले प्रधानमन्त्रीले किन दिने राजिनामा ? भन्दै आएको हुँ । उहाँलाई सघाउने र सहयोग गर्ने स्वच्छ छविका मन्त्री बनाउन्, गन्हाएकाहरु नजिक राखे आफू गन्हाउँछ भनेकै हुँ । यस्तो अवस्था आउँछ भनेर मैले पहिल्यैदेखि भन्थेँ, जे भनेको त्यो पुष्टि हुँदै पनि आएको छ ।’

जनआस्था साप्ताहिक र एपी न्यूज यात्रासँगको कुराकानीमा पण्डितले भनेका कुराहरु मोटामोटी यस्ता छन्:  

‘प्रधानमन्त्रीज्यूसँग जिन्दगीमा कहिल्यै सोध्नेवाला छैन कि मलाई के कारणले हटाइयो ? प्रधानमन्त्री कार्यालयले नै म हटेको एक हप्तापछि राष्ट्रिय योजना आयोगमा कार्य प्रगति प्रस्तुत गर्दा दोस्रो नम्बरमा मेरो मन्त्रालय थियो । मेरो मन्त्रालयले सयमा ८६ अंक ल्यायो । त्यो रिपोर्टले मलाई असफल भन्छ त ? यो भनेको डिष्टिङ्कसन नम्बर हो । डिष्टिङ्सनलाई फेल भन्दैनन् । यसरी कार्यसम्पादनमा सर्वोत्कृष्ट ल्याउने मन्त्रीलाई हटाउने र फेल हुनेहरुलाई बोक्नेहरुले एकदिन पछुताउने छन् ।

तपाईं हेर्दै जानुस् ! विभिन्न शक्तिकेन्द्रको नामसँग जोडेर सामान्य पास अंकसमेत ल्याउन नसकेकाहरु त्यहीँ रहे । अब के हुन्छ, थाहा छैन यदि मान्यता नदिने भए कार्यसम्पादन मूल्यांकन किन गरेको ? कार्यकुशलता र कार्य जटिलताअनुसार भएको कामलाई राम्ररी विश्लेषण गरिएन । एउटै पार्टीमा भएपछि कोसँग नजिक, कोसँग टाढा ? यस्तो प्रश्न आउँदैन । पार्टीमा गुट–उपगुट मनभित्र कसैलाई होला । मानिसले खोज्ने भनेको परिणाम हो, अनुहार होइन ।

आज राष्ट्रले खोजिरहेको परिणाम हो । परिणाम राम्रो दिनेले नै प्रधानमन्त्री र पार्टीलाई राम्रो बनाउँछ । जनतामा विश्वास बढाउँछ । मुलुकलाई समृद्धिको दिशातिर लिएर जान्छ । कसैको अनुहार वा राम्रो बोल्ने वा लेख्ने मात्र होइन । अहिले प्रधानमन्त्रीज्यूले के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो । आशा गर्ने हो कि, राम्रो मन्त्रिमण्डल बनाउनुस् । परिणाम जनतलाई दिनुस् । ‘संवृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अभियानमा सफलता प्राप्त होस् भनेर शुभकामना दिनुबाहेक हामीसँग अरु के छ र ?

खराब इञ्जिन भएको जहाज उड्न लाग्यो भने के हुन्छ ? कहीँ–कतै ल्याण्डिङ सही तरिकाले हुँदैन । दुर्घटना हुन्छ । त्यही कारण हामी त चाहन्छौं कि पाइलट कुशल, इञ्जिन असल होस्, अनि यात्रुहरु अनुशासित हुन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ