मुख्यमन्त्रीद्वारा स्विकारः ‘मन्त्रालयले कमान्ड गर्न सकेन, स्वास्थ्य निर्देशनालयले पनि नेतृत्व दिन सकेन’

मुख्यमन्त्रीद्वारा स्विकारः ‘मन्त्रालयले कमान्ड गर्न सकेन, स्वास्थ्य निर्देशनालयले पनि नेतृत्व दिन सकेन’

prithvi subba gurung

देशभर प्रदेश २ बाहेक सबै ६ प्रदेशमा नेकपाको नेतृत्व छ । प्रदेशका नेतृत्वकर्ताहरु पार्टीका प्रभावकारी नेता नै हुन् । मूख्यमन्त्रीहरु पार्टी प्रदेशको इञ्चार्जसमेत छन् । पार्टी विवादको भूमरीमा छ । त्यसैकारण प्रदेश हाँक्ने मूख्यमन्त्रीहरु पनि प्रदेशमा आफ्नो कुर्सीको जिम्मेवारी निभाउनु कि ? प्रधानमन्त्री र अध्यक्षको कुर्सी जोगाउन लागि पर्नु ? प्रधानमन्त्री केपी ओली समूहका गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीहरुका ध्यान प्रदेश भन्दा बढी  पार्टी र केपी ओलीप्रति छ ।

नेकपा र नेकपा नेतृत्वको सरकारप्रति जनताको वितृष्णा बढ्दो छ ।गण्डकी प्रदेशमा पनि जनता सरकारसँग दिक्क छन् । कोभिड विरुद्ध सरकारको प्रभावकारी कदम नै छैन । सरकारी अस्पतालको अवस्था नाजुक छ । भनसुन र पहुँच बिना सर्वसाधारणले बेड नपाउने गुनासो छ । निजीले मोटो गाँठ नआउने देखेमा भर्ना नै गरिदिन्न भन्ने दुखेसो छ । कोरोना प्रभाव बढेसँगै उपचार नपाएर बिरामीको ज्यान गएका खबर एकपछि अर्को आएका छन् । सरकारले निजी अस्पतालसँग समन्वय समेत गर्न सकेको छैन । सबै कुरा भेला, बैठक र कागजमा मात्र सीमित छन्, फिल्डमा हेर्दा तयारी शून्य ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोरोना नियन्त्रण र रोकथाममा सरकारले सक्दो प्रयास गरिरहेको बताउँदै आएका छन् । धनमायाको ज्यान निजी हस्पिटल खोज्नतिर लागेर गएको भन्दै तुष पोख्छन्, अन्तर्वार्ता दिन्छन् । तर, सरकारी हस्पिटलले राति भएपछि एक्सरे समेत गरिदिन्न । सर्वसाधारणलाई बेड छैन भन्छ । लेखनाथमा सरुवा रोग हस्पिटलमा चार खुट्टे बेड मात्रै छ भन्छन् नागरिक ।

प्रतिपक्षी केन्द्रमा त कुम्भकर्ण निन्द्रामा छ । प्रदेशमा पनि प्रतिपक्षीको भूमिका कमजोर छ । तर, मूख्यमन्त्रीलाई ध्यानाकर्षण त गराउनुपर्ने भयो भनेर काँग्रेस गण्डकी टोली मूख्यमन्त्री कार्यालयमै पुग्यो । त्यहाँ आफ्ना गुनासो भन्दा मूख्यमन्त्रीले बढी गुनासो गरेको उनीहरुले प्रतिक्रिया दिए ।

मूख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय र मातहतको स्वास्थ्य निर्देशनालयले नेतृत्व दिन नसकेकाले परिणाम नदेखिएको स्वीकार गरे । ‘हुन पनि निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्मा मूख्यमन्त्रीकै कुरा खाँदैनन् । पहुँचका भरमा पोखरामा छन् । काम केही छैन, फोन समेत उठ्दैन, प्रदेश सरकारको निर्णय कार्यान्वयनमा समेत ध्यान छैन । उनलाई माथिबाटै आशिर्वाद मिलेको छ । जागिर यसै पाकेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ मातहत छ, प्रदेशतर्फ जिम्मेवार नै छैन । मूख्यमन्त्रीले चाहेर मात्रै केही हुने छाँट नै छैन ।’ पोखरामा बजार हल्ला यही छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मुख्यमन्त्री गुरुङले भने, ‘हाम्रो सामाजिक विकास मन्त्रालयले कमान्ड गर्न सकेन, स्वास्थ्य निर्देशनालयले पनि नेतृत्व दिन सकेन । समयमै जिल्ला अस्पतालहरुमा आइसियु सञ्चालनमा ल्याउन सकेको भए पोखराका बेड भरिँदा त्यति पठाउन सकिन्थ्यो । पहिलो त खरिद नै ढिलो भयो । अहिले फेरि सामान छुट भएको भन्दै जडान प्रक्रिया अड्किएको छ ।’

काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले गुनासो बोकेर गएको कांग्रेस संसदीय दलको टोली उल्टै मुख्यमन्त्रीको गुनासो सुनेर फर्केकोे बताए । ‘कोरोना नियन्त्रणमा सरकारको ध्यान नपुगेको गुनासो गर्न आएका थियौं, मुख्यमन्त्रीज्यू आफैले हामीले भन्दा बढी गुनासो पो पोख्नुभयो ।’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ