अनैतिक सम्बन्धपछि गर्भ रहेको आशंकामा लमजुङमा काकीको हत्या, भतिज र भाञ्जा पक्राउ (घटनाको पूर्ण विवरण)

अनैतिक सम्बन्धपछि गर्भ रहेको आशंकामा लमजुङमा काकीको हत्या, भतिज र भाञ्जा पक्राउ (घटनाको पूर्ण विवरण)

hatya-aaropi-sarbajanik

तस्वीर सौजन्यः नवीनराज कुइँकेल

लमजुङको सुन्दरवजार–४, दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेल (मगर) को आफ्नै भतिज र भान्जाले हत्या गरेको खुलासा भएको छ । चारघरे गाउँका ध्रुव भुजेलकी श्रीमती धनमायाको बुधबार बिहान हत्या भएको अवस्थामा शब भेटिएको थियो ।

हत्या आरोपी सोही नगरपालिका वडा नं ३ स्वाँराका मृतक भुजेलका भतिज २० वर्षीय सागर भुजेल र १९ वर्षीय भाञ्जा पर्ने विकास भुजेललाई लमजुङ प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो। अभियुक्त सागरलाई पोखरा र विकासलाई नजिकै रहेको उनको घरबाटै पक्राउ गरिएको हो। सागर सशस्त्र प्रहरीमा भर्ना हुनका लागि परीक्षा दिन भन्दै पोखरा पुगेको बताइएको छ ।

मृतक महिला र हत्यामा संलग्न सागरबीच अनैतिक यौन सम्बन्ध रहेको रहस्य खुलेको प्रहरीले जनाएको छ। सागरको नाताले काकी पर्ने धनमायासँग केही महिनादेखि अनैतिक सम्बन्ध रहँदै आएको र गाउँका बासिन्दाले धनमाया गर्भवती रहेको हल्ला गरेपछि उक्त घटना लुकाउन तथा आफैँले व्यहोर्नुपर्छ भन्ने ठानेर हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक डीएसपी गंगाबहादुर थापाले बताए ।

उक्त घटना लुकाउनका लागि साथी विकाससँग सल्लाह गरेको र गत मङ्सिर ३० गते बेलुका सागरको घरमा दुवै जनासँगै सुतेर पुस १ गते बिहान साढे ५ बजे गएर धनमाया सुतिरहेको कोठामै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । उनका श्रीमान् ध्रुब नजिकैको गाई फार्ममा काम गर्छन् ।

स्थानीय सुन्दरजार नगरपालिका– ३ को दुराडाँडा स्वाँरा स्थित सुरवी गाई फार्ममा साँझ बिहान सरसफाईको काम गर्ने ध्रुव त्यसदिन पनि कामका लागि हिँडे । ध्रुवकै भनाई अनुसार उनी काममा जाँदा श्रीमती सुतिरहेकी थिइन् ।

ध्रुब घरमा भए नभएको स्वयम् धनमायालाई फोन गरि निश्चित गरेर अभियुक्त घरमा पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सागरले धनमायाबाहेक गाई फार्ममा काम गर्ने अर्को व्यक्तिलाई पनि फोन गरेको र धनमाया एक्लै भएको निश्चित भएपछि अभियुक्तहरु गएर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

गाई फार्मको काम सकेपछि ध्रुव छिमेकको धारापानी गाउँको एक घरमा दाइँ हाल्ने काममा गएका थिए । ध्रुवका कान्छा भाइ राजकुमार र जेठा छोरा दाइँ हाल्नका लागि गोरु लिन ध्रुवको घर गएका थिए । घरको ढोका खुल्लै थियो । पिंढीदेखि आँगनसम्म रगतका टाटा देखे । भाउजु भाउजु भन्दै बोलाए । कोही नबोलेपछि वरपर खोजे र भाउजुलाई नदेखेपछि छिमेकीलाई खबर गरेर दाजुलाई लिन गएको राजकुमारले बताएका छन् ।

दुराडाँडा प्रहरी चौकीबाट प्रहरी टोली घट्नास्थल पुग्यो मृतक महिलाको शव आँगनको डिलमा रहेको पुरानो गोवरग्याँसको ट्याँकिमा लुकाएको अवस्थामा फेला पर्यो । महिलाको घाँटीमा उनले ओड्ने गरेको पछ्यौरा कसिएको अवस्थामा थियो भने एउटा आँखा फुटेको थियो । घटनाको अनुसन्धानमा डीएसपी थापाको टोली र पोखराबाट प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुरको समेत सहायता लिइएको थियो।

चितवन माइती रहेकी धनमाया ६ वर्षअघि ध्रुव भुजेलसँग विवाह गरेर दुराडाँडा आएकी थिइन्। ध्रुवका श्रीमान् श्रीमती ४ वर्षदेखि चारघरेका उदय अधिकारीको घरको रेखदेख गर्ने काम गरी बस्दै आएको छिमेकीको भनाई छ । ध्रुव वैदेशिक रोजगारीमा रहेको बेलामा तीन छोराछोरीको हेरचाह गरी बसेकी उनकी श्रीमतीले दोस्रो विवाह गरिन् । ध्रुवले पनि बैदेशिक रोजगारीबाट फर्केपछि विवाह गरे ।

ध्रुवका जेठी श्रीमतीबाट जन्मेका छोराछोरी हजुरबा आमासँग बस्दै आएका छन् । कान्छी श्रीमतीतर्फ उनीहरुको सन्तान नभएको छिमेकीहरुको भनाई छ । उनीहरुविच झगडा परेको थाहा नभएको छिमेकीको भनाई छ ।

दुवै अभियुक्तलाई शुक्रबार नै जिल्ला अदालत लगेर १५ दिनको म्याद थप गरिएको र कर्तव्य ज्यान मुद्दासम्बन्धी कसुरमा थप अनुसन्धान गर्ने प्रहरी नायब उपरीक्षक थापाले बताए । उनले भने, “मृतक युवतीको बिहीबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको र रिपोर्ट आइनसकेकाले गर्भवती भए नभएको खुलिसकेको छैन, युवतीका श्रीमान् धुव्र भुजेलले शुक्रबार नै किटानी जाहेरी दिनुभएको छ ।”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds